साख्तरसँग रियल स्तब्ध- खेलकुद - कान्तिपुर समाचार

साख्तरसँग रियल स्तब्ध

रोयटर्स

लन्डन — रियल म्याड्रिडलाई स्तब्ध पार्दै साख्तर डोनेस्कले युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को सुरुआती लिग चरणको खेलमा बुधबार  ३–२ को जित निकालेको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्ना १० खेलाडी गुमाएको स्थितिमा पनि साख्तर बर्नाबाउमा प्रभावशाली टोली रियललाई हराउन सफल भएको हो । 

पहिलो हाफमै साख्तर अविश्वसनीय रूपमा ३–० ले अगाडि रहेको थियो । त्यसमा टेटे र मनोर सोलोमनले गोल गरे भने एक गोल राफेल भारानेको नाममा आत्मघाती रह्यो । जिनेदिन जिदानको टिमका लागि लुका मोडरिचले पहिलो गोल गरेयता सब्स्टिच्युट भिनिसिय जुनियरले अर्को गोल फर्काए ।

दिनका अन्य खेलमा भने ठूला टिम विजयी रहे । विन्गर किंग्सली कोमनले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो । समूह ‘ए’ मा प्राप्त यो सफलतासँगै बायर्नले प्रतियोगितामा लगातार १२ औं जित निकाल्यो ।

बायर्नका लागि लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोले पनि गोल गरे । लिभरपुलले भने आयाक्सको घरमा १–० को जित निकाल्यो । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुल डच भूमिमा भाग्यमानी साबित भयो । उसका लागि समूह ‘डी’ को खेलमा निकोलस टागलिफिकोले आत्मघाती गोल गरे ।

म्यानचेस्टर सिटीले भने एक गोलले पछाडि रहेको स्थितिबाट एफसी पोर्टोलाई ३–१ ले पन्छायो । समूह ‘सी’ को इतिहाडमा भएको खेलमा पोर्टोले लुइस डियाजको गोलमा अग्रता लिएको थियो । तर त्यसयता सिटीका तर्फबाट सर्जियो एगुरोले बराबरीका लागि पेनाल्टीबाट पहिलो गोल गरे । यो च्याम्पियन्स लिगमा उनको ४०औं गोल रह्यो ।

त्यसपछि पेप ग्वार्डिओलाको सिटीका लागि इकाय गुन्डोगन र फेरान टोरेसले गोल थपे । अन्य खेलमा ओलम्पियाकोजले मार्सेलाई १–० र एटलान्टाले मिडटिजल्यान्डलाई ४–० ले हरायो । यस्तै साल्जबर्ग र लोकोमोटिभ मस्को तथा इन्टर मिलान र मुन्छेनग्लाडबाखले समान २–२ को बराबरी खेले ।

प्रकाशित : कार्तिक ६, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण र मृत्यु संख्या अहिलेसम्मकै उच्च

बुधबार एकै दिन ३१ जनाको मृत्यु, ५ हजार ७ सय ४३ संक्रमित थपिए
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ बाट देशभर हालसम्मकै धेरै संक्रमण दर २८.५४ प्रतिशत र सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । यो बुधबार साँझसम्मको विवरण हो । स्वास्थ्य मन्त्रालयले दिउँसोसम्म २६ जनाको मृत्यु भएको जनाएको थियो । 

एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड कायम भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । मन्त्रालयका अनुसार बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस छ । यसमध्ये काठमाडौंमा १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकामा मात्रै कुल संक्रिय संक्रमित २३ हजार १२९ जना छन् । देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५२ प्रतिशत उपत्यकामा छन् । बुधबार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ अर्थात् ५४.१० प्रतिशत काठमाडौं उपत्यकामा छन् ।

हाल ३५६ जना सघन उपचारमा छन् । यसमध्ये २६९ जना आईसीयू र ८७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १५२ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मुस्ताङ मात्र सक्रिय संक्रमित शून्य रहेको जिल्ला हो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १५ वटा जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली छन् ।

कोरोना संक्रमणबाट बुधबार हालसम्मकै धेरै ३१ जनाको मृत्यु पुष्टि भएको छ । उपत्यकाका मात्रै १३ जना छन् । सुनसरीको गढी–४ की उच्च रक्तचापकी ५५ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । सुनसरीको बराहक्षेत्रका ६८ वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ ।

मधुमेह र उच्च रक्तचापका रोगी उनको होम आइसोलेसनमा मृत्यु भएको हो । धरान–१६ का ९० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी थिए ।

धनगढीमा तीन जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा डोटी केआई सिंह–४ का ५० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले बताए । रगतमा इन्फेक्सन भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनी डोटीबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए । धनगढी–२ का ६५ वर्षका पुरुषको बाटामै मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति सेती अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । मंगलबार राति नै भारतको लखनउमा धनगढीका ६० वर्षीय व्यापारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ का ४७ वर्षीय र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय वृद्धको बुधबार मृत्यु भएको छ । ४७ वर्षका पुरुषमा असोज २४ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । मोतीपुरका वृद्ध असोज २७ गते पोजिटिभ नतिजा आएपछि अस्पताल ल्याइएका थिए । दुवै जना भेन्टिलेटरमा उपचाररत थिए । त्यसैगरी, रुपन्देहीको तिलोत्तमा–५ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उनको मृत्यु भएको तिलोत्तमा आइसोलेसन प्रमुख केशव भट्टराईले बताए । रुपन्देहीकै ४१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा बगनासकाली–७ का ७८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनी दम र सुगरबाट ग्रस्त थिए । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा रत्ननगर–१३ का ४० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनी असोज २३ मा ज्वरो तथा निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर रोगको पनि उपचार गराइरहेका थिए ।

नवलपरासीका ७५ वर्षीया महिला, महोत्तरीकी ६० वर्षीया महिला, धादिङकी ८६ वर्षीया महिला, म्याग्दीका ८५ वर्षीय पुरुष, नुवाकोटकी ७० वर्षीया महिला र कञ्चनपुरका २४ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । भक्तपुरमा ७४ र ७२ वर्षीय पुरुष र ४२ वर्षीया महिला तथा ललितपुरका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ८१, ८६, ७४, ६२, ६७, ६३, र ५१ वर्षीय पुरुष तथा ७६ र ४९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×