२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

साख्तरसँग रियल स्तब्ध

रोयटर्स

लन्डन — रियल म्याड्रिडलाई स्तब्ध पार्दै साख्तर डोनेस्कले युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को सुरुआती लिग चरणको खेलमा बुधबार  ३–२ को जित निकालेको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्ना १० खेलाडी गुमाएको स्थितिमा पनि साख्तर बर्नाबाउमा प्रभावशाली टोली रियललाई हराउन सफल भएको हो । 

साख्तरसँग रियल स्तब्ध

पहिलो हाफमै साख्तर अविश्वसनीय रूपमा ३–० ले अगाडि रहेको थियो । त्यसमा टेटे र मनोर सोलोमनले गोल गरे भने एक गोल राफेल भारानेको नाममा आत्मघाती रह्यो । जिनेदिन जिदानको टिमका लागि लुका मोडरिचले पहिलो गोल गरेयता सब्स्टिच्युट भिनिसिय जुनियरले अर्को गोल फर्काए ।

दिनका अन्य खेलमा भने ठूला टिम विजयी रहे । विन्गर किंग्सली कोमनले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो । समूह ‘ए’ मा प्राप्त यो सफलतासँगै बायर्नले प्रतियोगितामा लगातार १२ औं जित निकाल्यो ।

बायर्नका लागि लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोले पनि गोल गरे । लिभरपुलले भने आयाक्सको घरमा १–० को जित निकाल्यो । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुल डच भूमिमा भाग्यमानी साबित भयो । उसका लागि समूह ‘डी’ को खेलमा निकोलस टागलिफिकोले आत्मघाती गोल गरे ।

म्यानचेस्टर सिटीले भने एक गोलले पछाडि रहेको स्थितिबाट एफसी पोर्टोलाई ३–१ ले पन्छायो । समूह ‘सी’ को इतिहाडमा भएको खेलमा पोर्टोले लुइस डियाजको गोलमा अग्रता लिएको थियो । तर त्यसयता सिटीका तर्फबाट सर्जियो एगुरोले बराबरीका लागि पेनाल्टीबाट पहिलो गोल गरे । यो च्याम्पियन्स लिगमा उनको ४०औं गोल रह्यो ।

त्यसपछि पेप ग्वार्डिओलाको सिटीका लागि इकाय गुन्डोगन र फेरान टोरेसले गोल थपे । अन्य खेलमा ओलम्पियाकोजले मार्सेलाई १–० र एटलान्टाले मिडटिजल्यान्डलाई ४–० ले हरायो । यस्तै साल्जबर्ग र लोकोमोटिभ मस्को तथा इन्टर मिलान र मुन्छेनग्लाडबाखले समान २–२ को बराबरी खेले ।

प्रकाशित : कार्तिक ६, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?