कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईपीएल : आरसीबीसामु कोलकाताको आत्मसमर्पण

एजेन्सी

अबुधाबी — मोहम्मद सिराजले सानदार ओपनिङ स्पेलको बलिङ गरेपछि रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सजिलै पराजित गरेको छ ।

आईपीएल : आरसीबीसामु कोलकाताको आत्मसमर्पण

दाहिने हाते तीव्र गतिका बलर सिराजले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर तीन विकेटको प्रर्दशन गरेपछि टस जितेर ब्याटिङमा आएको कोलकाताले ८ विकेट गुमाई ८४ रनमात्र बनाउन सक्यो । पूरा २० ओभर खेलेर अलआउट नभई बनाएको आईपीएल इतिहासमै यो सबैभन्दा कम स्कोर हो । किंग्स इलेभेन पन्जाबले सन् २००९ मा डरबानमा चेन्नई सुपर किंग्सविरुद्ध पूरा ओभर खेली ८ विकेट गुमाई बनाएको ९२ रन यसअघिको न्युन स्कोर थियो ।

खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरमै सिराजले राहुल त्रिपाठीलाई १ रनमै विकेटकिपर एबी डी भिलियर्सको हातबाट क्याच गराए । त्यसको अर्को बलमा उनले नितिश रानालाई शून्यमा बोल्ड गरे । टम बान्टोनले उनको ह्याट्रिक विकेटलाई रोके पनि यी इंग्लिस खेलाडी सिराजको तेस्रो सिकार भए । बान्टोनलाई पनि म्यान अफ द म्याच सिराजले विकेट पछाडि नै क्याच गराए ।

यसअघि नै नवदीप सैनीले शुभमन गिललाई १ रनमै आउट गराएका थिए । दिनेश कार्तिक र प्याट कमिन्स पनि समान ४ रनमै आउट भए । कप्तान इयोन मोर्गनले सर्बाधिक ३० रन बनाए । उनले ३४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । कुलदीप यादव १२ रनमा रनआउट भए । अन्तिम ब्याट्सम्यान रोकी फर्गुसनले १६ बलमा १ चौकासहित १९ रन बनाए । सिराजबाहेक बेंग्लोरका युजभेन्द्र चाहलले ४ ओभरमा १५ रन खर्चेर २ तथा सैनी र वासिङ्टन सुन्दरले १–१ विकेट लिए ।

बेंग्लोरले १३.३ ओभरमै लक्ष्य पूरा गर्‍यो । आरोन फिन्च १६ रन बनाई फर्गुसनको बलमा आउट भए । देवदत्त पाडिक्कलले १७ बलमा ३ चौकासहित २५ रन बनाए । गुरकिराँत सिंह २१ र कप्तान विराट कोहली १८ रन बनाई अविजित रहे ।

१० खेलमा सातौं जित हात पारेपछि बेंग्लोरको १४ अंक पुगेको छ । तर कमजोर रनरेटका कारण टोली शीर्षस्थानको दिल्ली क्यापिटल्सभन्दा पछाडि छ । मोर्गनलाई नयाँ कप्तान बनाएयता कोलकाताको तीन खेलमा दोस्रो हार हो । टोली १० अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?