‘खेलाडीको पीडा बुझाउन हरदम प्रयास गर्छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि पूर्व खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएकामा मंगलबार बधाई तथा शुभकामना कार्यक्रम गरेको थियो ।

‘खेलाडीको पीडा बुझाउन हरदम प्रयास गर्छु’

कार्यक्रममा स्वागत ग्रहण गर्दै सदस्य खड्काले आफू विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएकाले खेलाडीको पीडाबारे पूर्ण जानकार रहेको बताउँदै खेलाडीको पीडालाई सही ठाउँमा राख्न प्रयासरत रहने बताए । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्काले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पूर्व फुटबल कप्तान खड्काको नियुक्तिले सिंगो खेलाडीजगतले गर्वको अनुभूति गरेको बताउँदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई बोर्ड सदस्यमा मनोनीत गर्नुले आमखेलाडीमा सकारात्मक सन्देश गएको बताए । संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्काको नियुक्तले खेलाडी संघमात्र नभई सम्पूर्ण नेपाली खेलाडीलाई खुसी तुल्याएको बताए ।

खड्कालाई असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्यमा नियुक्त गरेको थियो । उनी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोल गर्नेमध्येका एक हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन् । समान गोल नीराजन रायमाझीको नाममा पनि छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?