१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ला लिगाको दौड खुला

गत सिजन कोभिड–१९ कारण कसैले नचिताएको वर्ष रह्यो । यसै पृष्ठभूमिमा यसपल्ट ठू–ठूला क्लब भनिने टिम सबै राम्रो खेल्न संघर्षरत रहने पक्कापक्की जस्तै देखिन्छ ।
रोयटर्स

म्याड्रिड — स्पेनी च्याम्पियन रियल म्याड्रिड र पारम्परिक प्रतिद्वन्द्वी बार्सिलोनाका लागि यो सिजन सबथोक चाहे जस्तो हुने छैन । जस्तो कि पछिल्लो केही दशक भएको थियो । ला लिगाको यो साता स्पेनी फुटबलका यी दुवै महारथी पराजित रहे ।

ला लिगाको दौड खुला

लिगमा ६ चरणका खेलपछि अंकतालिकामा त्यो टिम शीर्षस्थानमा छ, जसले त्यस्तो गर्नेछ भन्ने अपेक्षा नै थिएन । त्यो भनेको रियल सोसिडाड । त्यसो त रियल र बार्सिलोना दुवैले एक–एक खेल कम खेलेका छन् ।

गत सिजन युरोपमा खेल्नुपरेको हुनाले तिनले यो छुट पाएको हो । तर यसपल्ट उनीहरूलाई के छुट हुने छैन भने दुवै क्लबले ९० को हाराहारीमा अंक जोड्ने बानी कायम राख्न सकोस् । यसैपल्ट मात्र बढुवा भएको काडिजले रियललाई १–० ले हरायो । बार्सिलोना भने सायद केही बलियो विपक्षी टिम मान्न मिल्न गेटाफेसँग १–० ले नै पराजित रह्यो । आफ्नो प्रतिद्वन्द्वीविरुद्ध जसरी यी दुई टिमले संघर्ष गर्नुपर्‍यो । त्यसले देखाउँछ, यसपल्टको लिग उपाधि दौड वास्तवमै खुला छ ।

गत सिजन कोभिड–१९ कारण कसैले नचिताएको वर्ष रह्यो । यसै पृष्ठभूमिमा यसपल्ट ठू–ठूला क्लब भनिने टिम सबै राम्रो खेल्न संघर्षरत रहने पक्कापक्की जस्तै देखिन्छ । रियलले यस सिजनका लागि भनेर कोही नयाँ खेलाडी पनि अनुबन्ध गरेको छैन । बार्सिलोना त आफैं ठूलो समस्याबाट घेरिएको छ । मैदानबाहिर बार्सिलोनाको कार्यकारी बोर्डले अविश्वासको प्रस्ताव सामना गर्दै छ, त्यसमाथि लियोनल मेसी आफ्नो स्वाभाविक लयमा देखिएका छैनन् ।

अहिलेसम्मको खेल हेर्दा लाग्छ, सायद उनले बार्सिलोना छाडेको भए अन्यत्र क्लबमा राम्रो खेल्ने थिए कि ? रियल र बार्सिलोनालाई पछिल्लो समय टक्कर दिन सक्ने एकमात्र टिम एट्लेटिको म्याड्रिड पनि राम्रो स्थितिमा छैन । अहिलेसम्मको खेल हेर्दा लाग्छ, यो क्लबले पनि लय समात्न संघर्ष गर्नेछ । एट्लेटिकोका दुवै प्रमुख खेलाडी लुइस स्वारेज र डिएगो कोस्टा उमेर काटिसकेका खेलाडी हुन्, तिनले पूरा सिजन उत्तिकै समान ढंगले खेल्न सक्ने छैनन् ।

त्यसमाथि चोटको डर छँदै छ । अबको दुई महिना रियल र बार्सिलोना घरेलु लिगमा मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमा पनि व्यस्त रहने छन् । ठीक यही बेला यसै सप्ताहन्त ‘एल क्लासिको’ परेको छ । यसपल्टको यो खेल पहिले जस्तो धेरै महत्त्वको नहुन सक्छ, किनभने यसले लिग उपाधिमा निर्णायक धक्का नदिन सक्छ । दुवै टिम कमजोर देखिएको स्थितिमा यसपल्ट केही आश्चर्यजनक नतिजा र विजेता आउन सक्छ । यो अन्य क्लबका लागि पनि केही गरेर देखाउने उपयुक्त समय हो ।

च्याम्पियन्स र युरोपा लिगको पुरस्कार घट्ने

लन्डन– अर्को पाँच सिजनसम्म च्याम्पियन्स लिग र युरोपा लिग फुटबलको पुरस्कार राशि घट्ने भएको युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए) ले मंगलबार जनाएको छ । यूईएफएका अनुसार कोरोना भाइरस संक्रमणको महामारीका कारण संस्थाको आर्थिक स्थिति कमजोर भएको छ । तयार प्रतिवेदनअनुसार यूईएफएले गत सिजन ६६ करोड ६४ लाख डलर गुमाएको छ ।

टेलिभिजनमा प्रत्यक्ष प्रशारण र प्रायोजकको कमीका कारण यति धेरै रकम घाटा भएको हो । दुवै प्रतियोगिताको नकआउट चरणका खेल काटिएको थियो । दुवै प्रतियोगिता मार्चमा रोकिएको थियो र अगस्टमा मात्र यसको आयोजना सकिएको हो । युरोपमा घरेलु सिजन सकिएपछि मात्र प्रतियोगिताका बाँकी खेल भएका थिए ।

नकआउट चरणका खेल बन्द रंगशाला र तटस्थ भूमिमा आयोजना गरिएको थियो । दुई खेलको ‘टाइ’ लाई घटाएर एकै खेलमा सीमित पारिएको थियो । यसक्रममा घरभित्र र बाहिरको अवधारणा लागू भएन । यूईएफएले तयार पारेको प्रतिवेदनअनुसार युरोपका घरेलु लिगमा पनि क्लबको आम्दानीमा निकै कमी आउने छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?