कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा रंगशाला निर्माण धमाधम

वीरेन्द्र केसी

गुल्मी — इस्मा गाउँपालिका–६ रामडलचौरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशालाको मैदान निर्माण सम्पन्न भएको छ । दुबो रोपेर मैदानलाई हरियाली बनाइएको छ । नेपालका प्रथम सहिद लखन थापाका नाममा १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाइको रंगशाला निर्माणको काम धमाधम भएको हो ।

गुल्मीमा रंगशाला निर्माण धमाधम

पहिलो चरणको काम मैदान निर्माण गरी दुबो रोपेर हरियाली भएपछि अब प्यारापिट निर्माण सुरु गर्न लागिएको छ । फिल्ड निर्माण गर्न ५ करोड खर्च भएको छ । सदरमुकाम तम्घासबाट २० किमि टाढा उक्त रंगशालामा ७ हजार दर्शन अट्ने बनाइँदै छ । फिल्डमा वाल उठाउने काम पनि सकिएको छ । दसैंपछि दोस्रो चरणमा प्यारापिट निर्माणको काम सुरु गरिने निर्माण व्यवसायी मिलन आचार्यले बताए । गाउँमै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने भएपछि स्थानीयवासी दंग छन् ।

दसैंलगत्तै प्यारापिट निर्माणको काम सुरु गर्ने र तीव्र गतिमा अघि बढाइने आचार्यले बताए । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुँदा गुल्मीका खेलाडी पनि खुसी भएका छन् । रंगशाला निर्माणले दुर्गम गाउँको विकाससँगै यस क्षेत्रको आर्थिक गतिविधिमा परिवर्तन हुने इस्मा गाउँपालिका–६ का वडाध्यक्ष हीराबहादुर जीसीले बताए । खेलकुद प्रतियोगिता सञ्चालनमा आएपछि खेलाडीसँगै दर्शक पनि भित्रिने भएकाले उनीहरूका लागि खानाबस्न होमस्टे निर्माण गर्न लागिएको उनले बताए । ठूला खेल प्रतियोगिता सहरमा मात्रै नभएर गाउँमा समेत गर्ने उद्देश्यले परीक्षणका लागि रंगशाला निर्माण गर्न लागिएको हो । गाउँमा सुन्दर हरियाली र प्राकृतिक मनोरम दृश्यसँगै खेल गतिविधि सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।

साथै रंगशाला निर्माण गरेर खेलाडी उत्पादनसँगै खेल पर्यटक भित्र्याउने र गाउँलाई पर्यटकीय स्थलमा विकास गरिने लक्ष्य रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘ठूला खेल प्रतियोगितामा भाग लिन गाउँका खेलाडीलाई अवसर मिल्दैनथ्यो, अब गाउँमै खेलाडी उत्पादन हुनेछन्,’ उनले भने । बहुवर्षीय योजना भएकाले प्यारापिट, बहुउद्देश्यीय कभर्डहल र पौडी पोखरी निर्माण गरेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचना हुने यो पहाडी जिल्लाको पहिलो रंगशाला हुने राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक माधव देवकोटाले बताए । रंगशाला निर्माणको काम अभियान निर्माण सेवा कालीकोटे कम्पनीले गरिरहेको छ ।

पहाडी जिल्लाको ग्रामीण भेगमा पहिलोपल्ट रंगशाला बन्दैछ । अन्तर्राष्ट्रिय स्तरको रंगशाला भएकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन हुने उनले बताए । अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु गुल्मी जिल्लाकै लागि गौरवको कुरा भएको देवकोटाले बताए । रंगशालाअगाडि ठूलो दह छ । गाउँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्नु खुसीको कुरा भएको बताउँदै रंगशाला नजिकै ठूलो दहलगायतका पर्यटकीय संरचना निर्माण हुने इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले बताए । संघीय सरकारले रंगशाला निर्माण गरेपछि गाउँपालिकाले ठूलो ताल निर्माण गर्ने योजना उनले सुनाए । रंगशाला निर्माणपछि इस्मालाई पर्यटक र उत्पादनबाट आत्मनिर्भर बनाइने उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?