१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धोनीको चेन्नई पुछारमा

अब बाँकी सबै चार खेल जितेमा मात्र चेन्नईको प्लेअफमा जाने सम्भावना रहन्छ ।
एजेन्सी

अबुधाबी — जोस बटलरको अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । बटलरले अविजित ७० रन बनाएपछि राजस्थानले १ सय २६ रनको लक्ष्य १५ बलअगाडि पूरा गरेको थियो ।

धोनीको चेन्नई पुछारमा

इंग्ल्यान्डका विकेटकिपर/ब्याट्सम्यानले ४८ बलको इनिङ्समा ७ चौका र २ छक्का प्रहार गरे । बटलरले कप्तान स्टिभ स्मिथसँग चौथो विकेटमा ७८ बलमा अविजित ९८ रनको साझेदारी गर्दै राजस्थानलाई १० खेलमा चौथो जित दिलाए । स्मिथ ३४ बलमा २ चौकासहित २६ रन बनाए । बेन स्टोक्स १९, रोबिन उथप्पा ४ र सन्जु सामसन शून्यमै आउट भएपछि बटलर र स्मिथको जोडी जमेको थियो ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई १० खेलमा सातौं पराजयपछि पुछारमा पुगेको छ । टोलीले बाँकी रहेका सबै चार खेल जितेमा मात्र प्लेअफमा जाने सम्भावना रहन्छ । डबल राउन्ड रोबिन लिगको समाप्तपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । दिल्ली क्यापिटल्स १४, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १२ र कोलकाता नाइट राइडर्स १० अंकसहित पहिलो चार स्थानमा छन् । राजस्थान ८ अंकसहित पाँचौं स्थानमा छ ।

यसअघि चेन्नईले पहिलो ब्याटिङ गर्दा यस सिजनको आईपीएलमा सबैभन्दा न्युन स्कोर बनाएको थियो । अन्तिम १५ ओभरमा ६ वटा बाउन्ड्री प्रहार गर्न सक्नुले नै चेन्नईको ब्याटिङ कथा प्रस्टयाउँथ्यो । धोनी २८ बलमा २८ रन बनाई आउट भए भने रवीन्द्र जडेजाले ३० बलमा अविजित ३५ रन बनाए । धोनीले २ जडेजाले ४ चौका प्रहार गर्दै ५१ रन जोड्न ४६ बल खेल्नुपरेको थियो । ओपनर फाफ डु प्लेसिस ११, शेन वाटसन ८, साम कुरान २२, अम्बाती रायडु १३ रनमा आउट भएका थिए । अर्का अविजित ब्याट्सम्यान केदार जाधबले ७ बलमा ४ रन बनाए । चेन्नईलाई राजस्थानका स्पिनरको दबाबले थिचेको थियो । श्रेयस गोपालले ४ ओभरमा १४ र राहुल टेवाटियाले ४ ओभरमा १८ रनमात्र खर्चेका थिए । दुवैले १–१ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २० र कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १–१ विकेट लिए ।

दिल्लीमा अर्का लेग स्पिनर


दिल्ली क्यापिटल्सले अमित मिश्राको स्थानमा लेग स्पिनर प्रवीण दुबेलाई टोलीमा समावेश गरेको छ । मिश्रा अक्टोबर ३ मा औंलामा चोट बोकेर घाइते भएपछि आईपीएलबाट बाहिरिइसकेका छन् । उनले शल्यक्रिया गर्नुपर्ने भएको छ । उत्तर प्रदेशका दुबेले कर्णाटकबाट भारतको घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी यसअघि पनि आईपीएलमा रहेका थिए ।

रोयल च्यालेन्जर्स बेंग्लोरले उनलाई २०१६ र २०१७ को सत्रमा लिएको थियो । तर उनले एउटै खेल खेल्न पाएनन् । २०१९ को सैयद मुस्ताक अली ट्रफीमा उनले ८ खेलमा ६ विकेट लिँदै कर्णाटकलाई घरेलु ट्वान्टी–२० प्रतियोगिता दिलाएका थिए । २७ वर्षे दुबेले कुल गरेर १४ ट्वान्टी–२० खेलमा १९.१२ को औसत र ६.८७ को इकोनोमीमा १६ विकेट लिएका छन् । दिल्लीमा उनी चौथो स्पिनरका रूपमा रहनेछन् । हाल शीर्षस्थानमा रहेको दिल्लीमा रविचन्द्रन अश्विन, अक्षर पटेल र सन्दीप लामिछाने छन् । त्यसमा लेग स्पिनरमा दुबे र सन्दीप छन् । नेपाली स्टार सन्दीपलाई दिल्लीले अहिलेसम्म खेलेका ९ खेलमा खेलाएको छैन ।

प्रकाशित : कार्तिक ४, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?