‘खेलपर्व’ रोकिँदा मैदान सुनसान, आयोजक निराश

सन्जु पौडेल

तिलोत्तमा — दसैं आउनुभन्दा एक महिनाअगावै रूपन्देहीमा आधा दर्जनभन्दा बढी ठूला फुटबल प्रतियोगिताहरू आयोजना हुन्थे । त्यसले जिल्लाभर रौनक छाउँथ्यो ।

‘खेलपर्व’ रोकिँदा मैदान सुनसान, आयोजक निराश

यस अवधिमा विद्यालयस्तरीय र ठूला फुटबल प्रतियोगिता चलिरहेको हुन्थ्यो । एकपछि अर्को प्रतियोगिता आयोजनाले खेलप्रेमीलाई हेर्न जान भ्याइनभ्याइ स्थिति बन्थ्यो । तर यसपालि बिल्कुल त्यो स्थिति छैन ।

कोरोना महामारीका कारण सबै ठूला र ऐतिहासिक प्रतियोगितासमेत स्थगित भएका छन् । खेलाडीको अभ्यास र प्रशिक्षण रोकिएको छ । अर्कोतर्फ खेललाई ‘चाड’ का रूपमा मनाउने आयोजक निराश छन् । पहिलोपल्ट यसरी खेलकुद प्रतियोगिता रोक्नुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ ।

जिल्लामै लामो इतिहास बोकेको झरना स्पोर्ट्स क्लबले सञ्चालन गर्ने झरना रनिङ सिल्डको ३४औं संस्करण कोरोनाकै कारण रोकिएको छ । दसैंको मुखमा वार्षिक चाडकै रूपमा तिलोत्तमा–६, कुन्जालापुरका स्थानीयले महत्त्व दिएर आयोजना गर्ने यो प्रतियोगितामा १६ टिम सहभागी हुन्थे । घटस्थापनाको दिन सुरु हुने प्रतियोगिताका लागि एक महिनाअघिबाटै मैदान सरसफाइ, सजावट, सहयोग संकलन र प्रशिक्षणको काम हुने क्लबका अध्यक्ष लोक पुनले स्मरण गराए । ‘हामीमात्र नभई विदेशमा रहेका शुभचिन्तकले प्रतीक्षा गर्ने, टाढा–टाढाबाट दर्शक आउने प्रतियोगिता हो झरना रनिङ सिल्ड,’ उनले सुनाए, ‘तर यो वर्ष मैदान रित्तै रहने भयो ।’

क्लबका खेलाडीले आन्तरिक प्रशिक्षण गर्ने गरे पनि अघिल्ला वर्षको रौनक सम्झनामै सीमित रहेको पुनले बताए । हरेक वर्ष केही न केही नयाँ प्रविधि प्रयोग गरी झरना रनिङ सिल्ड आयोजना हुन्थ्यो । छिमेकी मुलुक भारतबाट समेत प्रतियोगितामा भाग लिन टोली आउने गर्थ्यो । देशभित्रका अब्बल खेलाडीको सहभागिता रहने रनिङ सिल्डको पुरस्कार राशिसमेत क्रमैसँग वृद्धि हुँदै गएको थियो । गत वर्ष विजेताल ३ लाख १० हजार रुपैयाँ पुरस्कार पाएको थियो ।

कोटिहवास्थित लिस्नु क्लबले गर्ने लिस्नु कपको २० औं संस्करण पनि कोरोनाकै कारण स्थगित भयो । गत वर्ष ३ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता हेर्न झन्डै १० हजार दर्शक आएको क्लबका खेलकुद संयोजक अशोक थापाले बताए । ‘क्लबको अन्य आयस्रोत छैन, यही प्रतियोगिताबाट केही जोगाएर वर्षभर अन्य कार्यक्रम गर्थ्यौं,’ उनले दुखेसो पोखे, ‘अहिलेलाई सबै रोकियो ।’ कोरोना त्रासले खेलकुद रोकेको सरकारले अन्यत्रबाट कति संक्रमण फैलिएको छ भन्ने आँकलन गरी ती क्षेत्र पनि नियन्त्रण गर्नॅपर्ने उनले सुझाए । बुटवल–१३ बेलबासमा रहेको भूपू सैनिक जबई स्पोर्टिङ क्लब पनि चौथो संस्करणको फुटबल प्रतियोगिता रोक्न बाध्य भयो । ‘जंगलको छेउछाउमा रहेको मैदानमा अनगिन्ती दर्शकको भीड हुन्थ्यो,’ क्लबका अध्यक्ष गोपीराम पुनले भने, ‘यो वर्ष त्यत्तिकै बस्नुपर्‍यो ।’ २ लाख २५ हजार रुपैयाँ पुरस्कारको भूपू सैनिक कपमा १२ टिमले खेल्दै आएका थिए ।

प्रतियोगिताअघि तिलोत्तमा गोल्ड कपका लागि आयोजकले मैदान मर्मतलगायत पर्चा, पम्पलेट र होर्डिङ बोर्डमा ५ लाख रुपैयाँ खर्च गरिसकेको थियो । प्रतियोगिता संरक्षक बुटवल उपमहानगरपालिकाले कोरोना कहरका कारण देखाउँदै आयाजना नगर्न पत्र काटेपछि स्थागित भएको रूपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले बताए । छिमेकी भारतबाट समेत दर्शक आउने तिलोत्तमा गोल्डकप गरिहालेमा पनि दर्शकको कमी हुने भएकाले प्रतियोगिता गर्न जोड नगरेको उनको तर्क छ । ०६८ सालबाट हरेक वर्ष तिलोत्तमा–४, डिंगरनगरस्थित जनज्योति क्लबले आयोजना गर्ने गरेको जनज्योति फुटबल कप यो वर्ष स्थगित भयो । तयारी थाल्दै गर्दा कोरोना त्रास भित्रियो । पहिले त स्थानीय सरकारले भीडभाड गरी प्रतियोगिता तथा कुनै कार्यक्रम नगर्न सूचना जारी गरेको थियो । पछि लकडाउन नै भएपछि यो वर्ष खेल गर्न नसकिएको क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले जनाए । खुल्नासाथ खेल गराउने भनी तयारी गरिरहेको र मैदानको मर्मत सम्भारमा ६० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए । ६ महिनाअघिबाटै मैदान हेरचाह र स्याहारका लागि कर्मचारी राखेर मासिक ८ हजार रुपैयाँ दिइएको अध्यक्ष न्यौपानेले सुनाए । तर प्रतियोगिता आयोजना गर्ने सम्भावना यो वर्ष टरेकोमा न्यौपानेको गुनासो रह्यो । १ लाख ७५ हजार पुरस्कारको प्रतियोगितामा रूपन्देहीबाहेक नवलपरासी, चितवन, दाङ र पाल्पाका १४ टिम सहभागी हुन्थे ।

ओमसतिया गाउँपालिका–१ मा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार क्लबले आयोजना गर्ने १०औं नवकप कोरोना संक्रमणका कारण स्थगित गर्नुपरेपछि आयोजक चिन्तामा छ । २ लाख ११ हजार राशिको प्रतियोगिता नवलपरासी र कपिलवस्तुका टिम भाग लिन आउँथे । क्लब चलाउनै धौधौ भएको परिवारका अध्यक्ष अमित थापाले बताए ।

जिल्लाकै देवदह नगरपालिकाले पनि यो वर्ष कुनै खेल प्रतियोगिता गर्न सकेन । नगरको खेलकुद विकास समितिले एक महिनाभित्र मेयरकप फुटबल, उपमेयर कप भलिबल, कराते, क्रिकेट सबै प्रतियोगिता रोकिएको संयोजक दीपक चापागाईंले बताए । उनका अनुसार यो वर्ष २६ लाख रुपैयाँ बजेटबाट नगरले खेलकुदलाई अघि बढाउन विभिन्न खेलका प्रतियोगिता एक महिनाभित्र सञ्चालन गर्ने गरी बैठक बसेर पत्राचार समेत गरेको थियो तर सम्भव भएन । बताए । ‘यो वर्षका लागि छुट्याएको बजेट अन्य काममा खर्च गरियो,’ उनले भने । दर्शक नै नभए पनि खेलाडीबीच स्वास्थ्य मापदण्ड पुर्‍याएर प्रतियोगिता गराउन पाए प्रशिक्षण कायम रहने बुद्धि गुरुङले बुझाइ छ । ‘खेलाडीको अभ्यासमा ठूलो क्षति पुग्यो,’ उनले भने, ‘खेलप्रमीको निराशा त अर्को पाटो हो ।’ राष्ट्रिय टिममा पर्न मिहिनेत गरेका खेलाडीको उत्साहमा कमी आएको उनको तर्क छ ।

सम्बन्धित निकायसँग प्रशिक्षणात्मक खेलका लागि मापदण्ड बनाई खुला गर्नुपर्ने माग राखिरहे पनि कुनै जवाफ नआएकाले पर्खनुको विकल्प नरहेको नेपाल ओलम्पिक संघका सदस्य रहेका कुमार केसी बताउँछन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि खेलका प्रशिक्षण भइरहेकाले सरकारको गाइडलाइनअनुसार सिकाइ गराउन पाए, खेल सुचारु हुनेबित्तिकै खेलाडी तयार हुन्थे,’ केसीले भने, ‘प्रतियोगिता सम्पन्न गर्नुभन्दा प्रशिक्षण सुचारु गर्नु महत्त्वपूर्ण छ ।’ कोरोनाकै कारण रोकिएको खेलकुद प्रशिक्षणले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट नेपाली खेलाडी वञ्चित हुनसक्ने उनको बुझाइ छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?