३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आईपीएल : दिल्ली बलियो स्थितिमा

एजेन्सी

शारजहाँ — शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ । गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि दिल्लीले ९ खेलमा १४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

आईपीएल : दिल्ली बलियो स्थितिमा

टस जितेर ब्याटिङ गरेको चेन्नईले शारजहाँ क्रिकेट मैदानमा १७९–४ को स्कोर बनाएको थियो । लक्ष्य पछ्याउनेक्रममा दिल्लीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो बलमा वाइडमा एक रन आउनुका अलावा धवनले १ रनमात्र बनाए । त्यसपछिको दुई बलमा लगातार छक्का र चौथो बलमा २ रन जोड्दै अक्षर पटेलले स्कोर बराबरी बनाए ।

पटेलले रवीन्द्र जडेजाको पाँचौं बलमा पनि छक्का प्रहार गर्दै दिल्लीलाई नाटकीय विजय दिलाए । पटेल ५ बलमा २१ रन बनाई अविजित रहे । म्यान अफ द म्याच धवनले ५८ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐर २३ र मार्कस स्टोइनिस २४ रनमा आउट भएका थिए । यसअघि चेन्नईबाट फाफ डु प्लेसिसले ५८, शेन वाटसनले ३६ रन बनाएका थिए । अम्बाती रायडु २५ बलमा १ चौका र ४ छक्कासहित ४५ र जडेजा १३ बलमा ४ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

बेंग्लोरको जितमा डी भिलियर्स चम्किए

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले फेरि एकपल्ट आक्रामक ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई राजस्थान रोयल्समाथि ७ विकेटको जित दिलाएका छन् । शनिबार पाएको यो जित बेंग्लोरको छैटौं हो । टोली १२ अंकसहित तेस्रो स्थानमा रह्यो ।

डी भिलियर्सले २२ बल सामना गरेर एक चौका र ६ छक्का प्रहार गरे । त्यसको मदतमा बेंग्लोरले १९.४ ओभरमा ३ विकेट गुमाएर १ सय ७९ रन बनायो । जितपछि कप्तान विराट कोहलीको बेंग्लोरको प्लेअफका लागि छनोट हुने सम्भावना बलियो भएको छ । कप्तान कोहली आफैं पनि ३२ बलमा ४३ रनको योगदान दिन सफल रहे । राजस्थानले भने टस जितेर पहिले ब्याटिङ गरेको थियो । यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे ।

प्रारम्भिक ब्याट्सम्यानको भूमिका ओर्लेका अनुभवी रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । बेंग्लोरका क्रिस मोरिस सर्वाधिक सफल बलर रहे । उनले २६ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चाहलले २ विकेट लिए । राजस्थानको योछैटौं हार हो । टोली तीन जितबाट ६ अंक बनाउँदै अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?