आईपीएल : दिल्ली बलियो स्थितिमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : दिल्ली बलियो स्थितिमा

एजेन्सी

शारजहाँ — शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ । गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि दिल्लीले ९ खेलमा १४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

टस जितेर ब्याटिङ गरेको चेन्नईले शारजहाँ क्रिकेट मैदानमा १७९–४ को स्कोर बनाएको थियो । लक्ष्य पछ्याउनेक्रममा दिल्लीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो बलमा वाइडमा एक रन आउनुका अलावा धवनले १ रनमात्र बनाए । त्यसपछिको दुई बलमा लगातार छक्का र चौथो बलमा २ रन जोड्दै अक्षर पटेलले स्कोर बराबरी बनाए ।

पटेलले रवीन्द्र जडेजाको पाँचौं बलमा पनि छक्का प्रहार गर्दै दिल्लीलाई नाटकीय विजय दिलाए । पटेल ५ बलमा २१ रन बनाई अविजित रहे । म्यान अफ द म्याच धवनले ५८ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐर २३ र मार्कस स्टोइनिस २४ रनमा आउट भएका थिए । यसअघि चेन्नईबाट फाफ डु प्लेसिसले ५८, शेन वाटसनले ३६ रन बनाएका थिए । अम्बाती रायडु २५ बलमा १ चौका र ४ छक्कासहित ४५ र जडेजा १३ बलमा ४ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

बेंग्लोरको जितमा डी भिलियर्स चम्किए

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले फेरि एकपल्ट आक्रामक ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई राजस्थान रोयल्समाथि ७ विकेटको जित दिलाएका छन् । शनिबार पाएको यो जित बेंग्लोरको छैटौं हो । टोली १२ अंकसहित तेस्रो स्थानमा रह्यो ।

डी भिलियर्सले २२ बल सामना गरेर एक चौका र ६ छक्का प्रहार गरे । त्यसको मदतमा बेंग्लोरले १९.४ ओभरमा ३ विकेट गुमाएर १ सय ७९ रन बनायो । जितपछि कप्तान विराट कोहलीको बेंग्लोरको प्लेअफका लागि छनोट हुने सम्भावना बलियो भएको छ । कप्तान कोहली आफैं पनि ३२ बलमा ४३ रनको योगदान दिन सफल रहे । राजस्थानले भने टस जितेर पहिले ब्याटिङ गरेको थियो । यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे ।

प्रारम्भिक ब्याट्सम्यानको भूमिका ओर्लेका अनुभवी रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । बेंग्लोरका क्रिस मोरिस सर्वाधिक सफल बलर रहे । उनले २६ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चाहलले २ विकेट लिए । राजस्थानको योछैटौं हार हो । टोली तीन जितबाट ६ अंक बनाउँदै अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

न्युजिल्यान्डमा आर्डर्नको ऐतिहासिक जित

विपक्षी दल नेसनलकी नेत्री जुडिथ कोलिन्सले हार स्वीकार गर्दै प्रधानमन्त्री तथा लेबर नेत्री जसिन्डा आर्डर्नलाई बधाई दिएकी छन् ।
नारायण खड्का

अस्ट्रेलिया — न्युजिल्यान्डमा शनिबार भएको संसदीय चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरेकी छन् । प्रारम्भिक नतिजाअनुसार आर्डर्नको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिशत, नेसनलले २८ प्रतिशत मत पाएका छन् भने अन्य मत ग्रिन, न्युजिल्यान्ड फस्टलगायत साना दलले बाँडेका छन् ।

करिब ९८ प्रतिशत मतगणना भइसकेको भए पनि केही मतदान हुलाकमार्फत गरिएकाले वास्तविक परिणाम आउन केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि सेप्टेम्बर १९ का लागि तोकिएको मतदान कोभिड–१९ को संक्रमणका कारण चार सातापछि सारिएको हो । न्युजिल्यान्डमा १ सय २० सदस्यीय संसद्का लागि हरेक तीन वर्षमा निर्वाचन हुने गर्छ ।

बहुमतको सरकार निर्माणका लागि तल्लो सदनमा कम्तीमा ६१ सिटको आवश्यकता पर्दछ । पछिल्लो परिणामअनुसार लेबर पार्टीले कम्तीमा ६४ सिट जित्ने निश्चित भइसकेको जनाइएको छ । न्युजिल्यान्डमा २४ वर्षयता कुनै पनि एक दलले बहुमत ल्याउन सकेको छैन ।

चुनावी परिणामअनुसार आर्डर्न पुनः प्रधानमन्त्री बन्ने भएकी छन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

नतिजासँगै न्युजिल्यान्डमा दशकौंपछि पहिलो पटक बहुमतको सरकार बन्ने भएको छ । ऐतिहासिक जितपछि समर्थकहरूलाई सम्बोधन गर्दै आर्डर्नले आफू देशका लागि अझै खट्ने बताएकी छन् । आफूले पाएको जनादेश अत्यन्तै विश्वासिलो भएको उनको भनाइ छ ।

‘आज न्युजिल्यान्डले ५० वर्षको लेबर पार्टीको इतिहासमा अहिलेसम्मकै उच्च समर्थन र विश्वास देखाएका छन्,’ उनले भनिन् । सयौं समर्थक तथा शुभचिन्तकसमक्ष बोल्दै उनले न्युजिल्यान्डवासीले दिएको विश्वासलाई पुनः व्यवहारमा परिणत गर्ने विश्वास दिलाइन् ।

निर्वाचनपछि जारी मतगणनाकै क्रममा विपक्षी दल नेसनलकी नेतृ जुडिथ कोलिन्सले हार स्वीकार गर्दै वर्तमान प्रधानमन्त्री तथा लेबर नेतृ आर्डर्नलाई बधाई दिएकी छन् । उनले आगामी चुनावमा जनमत आफ्नो पक्षमा पार्नका लागि आफू अहिल्यैदेखि क्रियाशील हुने बताइन् । ‘तीन वर्ष आँखा झिम्क्याउँदै बित्छ । हामी फेरि उठ्नेछौं,’ कोलिन्सले भनिन् ।

हरेक तीन वर्षमा हुने संसदीय निर्वाचनमा यस पटक १७ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । जसमा आर्डर्नको पार्टी लेबर सबैभन्दा सशक्त देखिएको हो ।

कोभिड–१९ को संक्रमणलाई सहज रूपमा समाधान गर्न र क्राइस्टचर्चमा भएको आतंकवादी आक्रमणको घटनालाई समाधान गर्न उनले खेलेको भूमिकाका कारण उनी पुनः निर्वाचित हुने अनुमान गरिएको थियो । पूर्वानुमानलाई सत्य सावित गर्दै आर्डर्नले पुनः नेतृत्व पाउन सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट न्युजिल्यान्डमा संक्रमित हुनेको संख्या २ हजारभन्दा पनि कम छ । भाइरसका कारण २५ जनाले मात्र ज्यान गुमाएका छन् ।

चुनावमा मृत्युवरणको अधिकार र गाँजा प्रयोगलाई मान्यता दिने विषयमा जनमतसंग्रहसमेत गरिएको छ । दुवै विषयमा गरिएको जनमतसंग्रहको नतिजा भने अक्टोबर ३० मा सार्वजनिक गरिने जनाइएको छ । ५० प्रतिशत जनताले अनुमोदन गरे पनि गाँजा प्रयोगका विषयमा भने सरकारले छुट्ट कानुन ल्याउने छ ।

करिब ४० लाख मतदाता रहेको न्युजिल्यान्डको आमनिर्वाचनमा करिब १० लाखले प्रारम्भिक मतदानमा मत जाहेर गरिसकेका थिए । प्रधानमन्त्री आर्डर्नलाई उनले पाएको सफलतामा अस्ट्रेलियाका लेबर पार्टीका नेता एन्थोनी अल्बानिज, उपनेता तान्या पिल्बरसेक लगायतले समेत बधाई दिएका छन् ।

प्रकाशित : कार्तिक २, २०७७ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×