२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न सरकारको स्वीकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न सरकारको स्वीकृति

एन्फाका प्रवक्ता किरण राईले भने, ‘विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसँग दुई म्याच खेल्न प्रस्ताव गरेको थियो । त्यसका लागि नेपाली टिमलाई खेलाउन परिषदले स्वीकृति दिएको हो ।’ फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासँग प्रस्ताव गरेको हो ।

‘खेलको मिति र आयोजनास्थल निश्चित भइसकेको छैन तर बंगलादेशले उतै खेल्न प्रस्ताव गरेको हो र दुवै खेल उतै हुनसक्छ,’ प्रवक्ता राईले भने । उक्त खेल सम्भव भएमा नेपाली टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी फैलिएयताकै पहिलो हुनेछ । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ताका अनुसार नेपाली टिमसँग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । ‘तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन,’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो । कोरोना संक्रमण तीव्र भएपछि फुटबल गतिविधि ठप्प भएको हो । युरोप, दक्षिण अमेरिका, छिमेकी भारतमै पनि फुटबल पुनः सुचारु भए पनि नेपालमा ठप्प नै छ । चैत ११ मा लकडाउन घोषणा गर्नुअघि रोकिएको सहिद स्मारक बी डिभिजन लिग अझै सुचारु गर्नेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।

‘होम एन्ड अवे’का आधारमा भइरहेको विश्वकप छनोटमा नेपालले ५ खेल खेलेको छ । त्यसमा ४ हार र १ जितको (चाइनिज ताइपेईविरुद्ध २–०) नतिजा निकालेको छ । अब नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध ‘होम ग्राउन्ड’मा खेल्न बाँकी छ । नेपालका लागि विश्वकप छनोटमा तेस्रो चरण प्रवेशको सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा यी तीन खेल महादेशीय च्याम्पियनसिपको छनोटलाई भने महत्वपूर्ण छ ।

प्रकाशित : कार्तिक १, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?