कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नाडाल अनि जितको अर्थ

खासमा भन्ने हो भने विश्व टेनिस एक अनौठो कालखण्डमा आइपुगेको छ । जहाँ नाडाल, फेडेरर र जोकोभिचमात्र होइनन्, सेरेना विलियम्स पनि आफ्नो खेलजीवनको अन्त्यतिर पुगेकी छन् । यी चारैजना खेलाडी विश्व टेनिसले पाएका महान् खेलाडी पक्कै हुन् ।
द गार्डियन

पेरिस — राफेल नाडालले पहिलो पल्ट फ्रेन्च ओपन जितेको हिजै जस्तो लाग्छ, तर १५ वर्ष भइसकेको रहेछ । अनि हिजैमात्र उनले १३ औं पल्ट फ्रेन्च ओपन जिते । यसका लागि उनले नोभाक जोकोभिचलाई निर्मतापूर्वक हराए । उनी ३० वर्षको उमेर काटिसकेर पनि ६ ग्रान्ड स्लाम जित्ने इतिहासकै पहिलो पुरुष खेलाडी भएका छन् । यो सबैले देखाउँछ, उनी कत्तिका खेलाडी हुन् भनेर ।

नाडाल अनि जितको अर्थ

रोलान्ड ग्यारोसमा उनको १००–२ को प्रदर्शन नै काफी छ । नाडाललाई यो क्ले कोर्ट रंगशालाका किन राजा भनिन्छ भनेर । यी सबै उपलब्धिबीच नाडालले त्यो खुड्किलोमा रोजर फेडेररसँग जोडिएका छन्, जहाँ दुवै खेलाडीको नाममा २० ग्रान्ड स्लाम पुगेको छ । फेडेरर स्वयंलाई थाहा छ, यो कम्तीको उपलब्धि होइन भनेर । त्यसैले यता पेरिसमा नाडालले के उपाधि जिते, उता फेडेररले आफ्ना भावना पोखिहाले ।

उनले सामाजिक सन्जालमा लामै लेखेका छन्, आफ्नो मनको भावना । उनी भन्छन्, ‘लामो समयदेखि उनी मेरो सबैभन्दा ठूला प्रतिद्वन्द्वी रहे । मलाई लाग्छ, हामीलाई एकअर्काको खेलले अझ राम्रो खेल्न प्रेरित गरेको छ । त्यसैले उनलाई २०औं ग्रान्ड स्लाम जितेको अवसरमा बधाई दिनु पनि मेरा लागि गर्व हो । मलाई के पनि आस छ भने हाम्रो यात्रा यहीं टुंगिने छैन ।’

सन् २०११ मा फ्रेन्च ओपन जितेपछि नाडाल र रोजर फेडेरर । त्यतिबेला उनले फेडेररलाई हराएर उपाधि जितेका थिए ।

यसपल्टको फ्रेन्च ओपन जितेयता नाडालले भने केही फरक धारणा राखे । उनी भन्थे, ‘रोलान्ड ग्यारोसमा जित्नुको अर्थ नै बेग्लै छ । मैले २०औं ग्रान्ड स्लामबारे धेरै सोचेको छैन, न त फेडेररको नाममा रहेको उपलब्धि बराबरी गर्नेमा नै ध्यान दिएँ । इमान्दारितापूर्वक भन्ने हो भने मेरा लागि यो एक अर्को रोलान्ड ग्यारोस जित हो । यो नै मेरा लागि सबथोक हो । मैले आफ्नो खेलजीवनको अधिकांश राम्रा क्षण यहीं बिताएको छु ।’

यो त उनको मनको कुरा न हो । खासमा भन्ने हो भने विश्व टेनिस एक अनौठो कालखण्डमा आइपुगेको छ । जहाँ नाडाल, फेडेरर र जोकोभिचमात्र होइनन्, सेरेना विलियम्स पनि आफ्नो खेलजीवनको अन्त्यतिर पुगेकी छन् । यी चारैजना खेलाडी विश्व टेनिसले पाएका महान् खेलाडी पक्कै हुन् । लामो समय खेलेपछि कीर्तिमान बन्छ नै, भंग हुन्छ नै, तर कसैले यी चार खेलाडीबिनाको विश्व टेनिसबारे सोचेका छौं र ?

फ्रेन्च टेनिस महासंघका अध्यक्षसँग नाडाल र जोकोभिच तस्बिर : रोयटर्स

यति भन्दाभन्दै पनि नाडालको पछिल्लो सफलतालाई जति प्रशंसा गर्दा पनि पुग्दैन । उनले जसरी विश्व नम्बर एक सर्बियाली जोकोभिचलाई एकपक्षीय ढंगले हराए, त्यो त अकल्पनीय छ । आखिरमा जोकोभिच आफैं आफ्नो खेलजीवनको उत्कृष्ट मोडमा थिए । फाइनलअगाडि उनी सन् २०२० मा खेलेका सबै खेलमा विजयी थिए । खाली यूएस ओपनको एक खेललाई छाडेर, जसमा उनी लाइन–जजलाई बलले प्रहार गरेको आरोपमा खेल्न अयोग्य घोषित भएका थिए ।

यता नाडाल भने पूरा यो वर्ष आफ्नो लय समात्नै सबै व्यस्त रहे । उनलाई थाहा थियो, फाइनलमा जोकोभिचविरुद्ध पटक्कै तलमाथि हुने खेलले पुग्दैन, तर उनले त त्योभन्दा पर धेरै माथिको टेनिस खेले । आउने दिनमा बहस जारी रहनेछ, नाडाल, फेडेरर र जोकोभिचमध्ये सबैभन्दा सर्वकालीन उत्कृष्ट

खेलाडी को त ? फेरि तीन खेलाडी आफ्नो खेलजीवनको अन्त्यतिर पुगेको हुनाले बहस अझ रोमाञ्चक मोडमा छ । यहाँतिर नाडालको अर्को भनाइ पनि उल्लेख गर्नॅ ठीक हुन्छ । उनी भन्थे, ‘म आफ्नो खेलजीवन सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने खेलाडीका रूपमा टुंग्याउन चाहन्छु, यसमा कुनै शंका नै छैन । तर अर्को ढंगले विचार गर्दा फेरि हामी कतै एकअर्काको उपलब्धिले ईर्ष्यालु त भएका छैनौं ? छिमेकीसँग राम्रो घर छ, रातो ढुंगा छ वा राम्रो मोबाइल फोन छ भनेर मात्र हामी कति बेलासम्म दुःखी भएर बस्ने त ?’

अझ उनी प्रश्न गर्छन्, ‘के हाम्रो आफ्नै व्यक्तिगत जीवन छैन र ?’ यता जोकोभिच आफैं भने फाइनलमा आफू जुन प्रकारले पराजित रहे, त्यसको कारण खोज्नमै व्यस्त छन् । उनी के मान्छन् भने नाडालको खेल जस्तो छ, फ्रेन्च ओपनमा तयार हुने वातावरण र स्थिति त्यसलाई सुहाउँदो छ । उनी भन्छन्, ‘फाइनलमा नाडालले जसरी खेले, त्यसमा म साँच्चै आश्चर्यमा मानिरहेको छु ।’ हुन पनि नाडालको यो जितको धेरै अर्थ छ ।

प्रकाशित : आश्विन २७, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?