कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन

रोयटर्स

पेरिस — स्पेनका राफेल नडालले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा ६–०, ६–२, ७–५ ले हराएर आइतबार फ्रेन्च ओपन जितेका छन् ।

नडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन

योसँगै उनले २० औं ग्रान्ड स्लाम उपाधि हात पारेर सर्वाधिक जितको कीर्तिमानसँग बराबरी गरेका छन् । नडालले रोलान्ड ग्यारोसमा १३ औं पल्ट च्याम्पियन बनेर आफ्नै कीर्तिमानमा पनि सुधार गरे ।

विश्व नम्बर दुई स्पेनी खेलाडी नडालले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितको कीर्तिमान स्विट्जरल्यान्डका रोजेर फेडेररसँग बराबरी गरेका हुन् । सुरुदेखि आक्रामक देखिएका नडालले सर्बियाली जोकोभिचलाई निर्ममतापूर्वक हराए । त्यस क्रममा खाली दुई ‘अनावश्यक गल्ती’ मात्र गरे । रोलान्ड ग्यारोसको छाना छाइएको कोर्टमा नडालले दोस्रो सेट पनि सजिलै हात पारे ।

आफ्नो १८ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा रहेका जोकोभिचले तेस्रो सेटमा भने कडा चुनौती पेस गरे र त्यसमा ३–३ मा सर्भिस ब्रेक गरे । तर ११ औं गेम ‘डबल फल्ट’ मा गुमाए । त्यसयता तेस्रो सेट आफ्नो नाममा लेखाएर नडालले रोलान्ड ग्यारोसमा आफ्नो सयौं जित पनि आत्मसात् गरे । नडालले जोकोभिचविरुद्ध फ्रेन्च ओपनको तीन फाइनलमा खेलेका छन् । उनी सबैमा विजयी रहे ।

फाइनलपछि नडालले भने, ‘जोकोभिचका लागि यसपल्टको फ्रेन्च ओपन पनि राम्रो रह्यो, तर आजको खेल भने मेरो पक्षमा रह्यो । यसका लागि म उनीसँग माफी माग्न चाहन्छु । सन् २०१९ को अस्ट्रेलियन ओपनको फाइनलमा उनले मलाई आजको जस्तै नराम्रोसँग हराएका थिए । हामीले एकापसमा धेरैपल्ट खेलेका छौं, कहिलेकाहीं उनी जित्छन्, कहिलकाहीं म जित्छु ।’

सन् २०१६ मा अस्ट्रेलियन ओपन फाइनलमा स्टान वावरिन्काविरुद्ध पराजित रहेयता जोकोभिचले लगातार ग्रान्ड स्लाम उपाधि जितेका थिए, तर अहिलेको फ्रेन्च ओपन फाइनल हारपछि यसमा पूर्णविराम लागेको छ । ‘क्ले कोर्ट’ का राजा मानिने नडालले कोभिड–१९ भाइरस संक्रमणको महामारीबीच भएको फ्रेन्च ओपन पनि दोहोर्‍याएर जिते । यसपल्ट स्टेडियमको नयाँ रूप र छानाले पनि उनको खेल प्रभावित रहेन ।

फाइनल खेल्ने क्रममा ३४ वर्षीय नडालले आफ्नो मनमा फेडेररको नाममा रहेको कीर्तिमान बराबरी गर्ने उद्देश्य भने नरहेको बताए । उनले भने, ‘मेरो लागि फ्रेन्च ओपन जित्नु नै सबथोक हो । मैले २० औं ग्रान्ड स्लाम उपाधि जितेर फेडेररको कीर्तिमान बराबरी गर्नेबारे सोचिनँ । मेरा लागि त यो एक अर्को फ्रेन्च ओपन उपाधिको जित हो र यो नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण हो ।’ उनले थपे, ‘म यो पेरिस सहरलाई खुबै मन पराउँछु । मेरो लागि यो कोर्ट कहिले बिर्सन नसकिने स्थान हो ।’ यो हारले जोकोभिच भने १७ ग्रान्ड स्लाम उपाधिमै सीमित रहे । उनले खेलपछि भने, ‘सबैभन्दा पहिलो त नडाल, उनको टिम र परिवारलाई हृदयदेखि बधाई दिन चाहन्छु । नडालले आजको खेलबाट फेरि प्रमाणित गरेका छन्, किन उनी क्ले कोर्टका राजा हुन् भनेर ।’

‘मैले क्ले कोर्टमा नडाल कति धेरै राम्रो खेल्छन् भनेर अनुभव गरिसकेको छु । आजको खेल जसरी अगाडि बढ्यो, त्यसमा म पक्कै पनि खुसी छैन । आजको दिन एक उत्कृष्ट खेलाडीले मलाई नराम्रोसँग हराएको क्षण हो । पूरा प्रतियोगिता भने मेरा लागि मात्र होइन, सबैका लागि सुखद रह्यो, किनभने अहिलेको स्थितिमा खेल्न पाउनु नै ठूलो हो, सबैका लागि अहिलेका दिनहरू सजिलो रहेको छैन ।’

प्रकाशित : आश्विन २५, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?