नयाँ विकल्पमा काभानी

बीबीसी

लन्डन — एडिसन काभानीले जुनतिर नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको अनुबन्ध लम्ब्याएनन् । यससँगै फ्रान्सेली राजधानीसँगको उनको दोहोरो प्रेम सम्बन्धमा पूर्णविराम लाग्यो । धेरैको अनुमान थियो, यस्तो स्थिति ढिलोचाँडो आउँदै छ भनेर । 

नयाँ विकल्पमा काभानी

त्यो सिजन उनी कि त बढी समय घाइते रहे, होइन भने बेन्च तताउनै व्यस्त भए । बरू कमैले अनुमान गरेका थिए, यी उरुग्वेली खेलाडी बेली डान्सतिर पनि लाग्ने छन् भनेर । उनी भन्ने गर्थे, ‘फुटबल होस् या नृत्य, दुवैमा धेरै समानता छ । दुवैमा आफ्नो प्रदर्शन उच्च राख्न धेरैभन्दा धेरै एकाग्रता चाहिन्छ ।’

आफ्नो देशमा बच्चाबच्चीका लागि बेली डान्सको प्रचारप्रचारका लागि उनी आफै नर्तक बनेका थिए । यिनै काभानीले खेलाडी सरुवाको अन्तिम दिन म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध गरे ।

इतिहास पल्टाउने हो भने उनी बेजोड स्ट्राइकर हुन्, यसमा दुविधा हुने छैन् । त्यसैले त उनले आफ्नो देश र क्लबका लागि ३ सयभन्दा बढी गोल गरिसकेका छन् ।

सन् २००७ मा पालेर्मोबाट ‘डेब्यू’ गरेयता युरोपको शीर्ष पाँच लिगमा उनले भन्दा बढी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले मात्र बढी गोल गरेका छन् । मेसीले ४ सय ५० लिग खेलमा ४ सय ३२, रोनाल्डोले ४ सय ३३ खेलमा ४ सय १६ र काभानीले ४ सय १३ खेलमा २ सय ५० गोल गरेका छन् ।

पछिल्लो सिजन भने उनलाई पटक्कै राम्रो रहेन, कम्तीमा उनी जत्तिको खेलाडीका लागि । सन् २०१९ को अगस्टमा कम्मरको चोटका कारण दुई महिना मैदानबाहिर रहे । जनवरीमा फेरि दोहोरिएर घाइते भए । च्याम्पियन्स लिग उपविजेताका लागि उनले धेरै खेल नै खेलेनन् । फ्रान्सेली लिग वानमा त्यो सिजन चार गोल र एक गोलमा सहयोगी भूमिकाले नै देखाउँछ, उनको खराब लय ।

२०१६–१७ को सिजनले भने उनी वास्तवमै कस्ता खेलाडी हुन्, त्यो देखाउँछ, ३५ गोल र चार ‘एसिस्ट’ । त्यसपछिको सिजनमा पनि उनले १८ गोल गरे, ५ गोलका लागि अवसर बनाइदिए । चोट र खराब लयका कारण उनी केलियन एमबाप्पेसामु धेरै पछाडि रहे, उनले टिममा मौका नै पाएनन् । अगस्टसम्म आइपुग्दा त काभानीले पीएसजी छाड्ने निर्णय नै गरे ।

तिनै काभानीसँग अहिले म्यानचेस्टरले अनुबन्ध गरेको छ । जसले ३० सातादेखि कुनै खेल खेलेका छैनन् । सन् २०२० भर पनि उनले जम्माजम्मी ५ सय ३२ मिनेट मैदानमा बिताएका छन् । अबको महत्त्वपूर्ण प्रश्न, व्यवस्थापक ओले गनर सोल्सायरले उनलाई म्यानचेस्टरमा कसरी व्यवस्थापन गर्नेछन् त ? यो सिजन म्यानचेस्टर मैदानमा खुबै व्यस्त रहने छ । मध्य अक्टोबरदेखि क्रिसमससम्म म्यानचेस्टरको लगातार खेल छ ।

लिग र कप दुवैमा म्यानचेस्टर खेलेको खेल्यै हुनेछ । काभानीले यस्तोमा क्लबलाई एउटा राम्रो विकल्प भने दिनेछ । उनी जर्सी नम्बर ९ का राम्रा खेलाडी हुन् । प्राकृतिक रूपमै उनी यो नम्बरका खेलाडी हुन् । म्यानचेस्टरसँग यो भूमिका खेल्ने खेलाडी नै छैन भन्दा हुन्छ, भएका मेसन ग्रिनउड भर्खर १९ वर्षका मात्र भए । सोझो अर्थमा भन्दा काभानीले उपस्थितिमा एन्थोनी मार्सियल र मार्कस रसफोर्डलाई फाइदा हुनेछ ।

म्यानचेस्टरका कोही ठूलो नाम चोटग्रस्त भए पनि काभानीले बढी भूमिका पाउन सक्छन् । फेरि उनी खेलमा आफ्नो प्रभाव छाड्न सक्ने खालका खेलाडी हुन् । त्यसो भनेको पूरा खेल अवधिमा उनी कुनै न कुनै रूपमा टिमलाई फाइदा पुर्‍याइरहेका हुन्छन् । पछिल्लो ६ वर्षमा म्यानचेस्टरले जसरी नयाँ खेलाडीमा खराब लगानी गरेको छ, त्यो अर्थमा काभानी ठूलो जोखिमको निर्णय नहुन पनि सक्छन् ।

जस्तो राडामेल फाल्काओ, एलेक्स सान्चेज, एन्जेल डी मारिया र बास्टिन स्वान्सटाइरलाई ठूलो महत्त्व दिएर अनुबन्ध त गरियो, तर तिनले आफ्नो नामअनुसार केही गर्न सकेनन् । यसबीच ३३ वर्षीय काभानीले के कस्तो गर्न सक्ने छ त ? यसको उत्तर त भविष्यमै छ, तर सबै परिस्थिति नियाल्दा उनीमाथि म्यानचेस्टरले जे जस्तो जोखिम उठाएको छ, त्यो ठीकै देखिन्छ । सम्भवतः यो जोखिमको प्रतिफल आउन सक्छ ।

प्रकाशित : आश्विन २३, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?