आईपीएल : हैदराबादको आशा कायमै- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : हैदराबादको आशा कायमै

एजेन्सी

दुबई — उत्कृष्ट ओपनिङ साझेदारीमा सनराइजर्स हैदराबादले बिहीबार किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावना पुनः ब्युँत्याएको छ ।

हैदराबाद छैटौं खेलमा तेस्रो जित हात पारी तेस्रो स्थानमा उक्लिएको छ । आठमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स ८–८ अंकसहित पहिलो दुई स्थानमा छन् । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरको ६–६ नै अंक भए पनि राम्रो रनरेटमा हैदराबादभन्दा तालिकामा तल छन् । पन्जाब ६ खेलमा एक विजयसाथ पुछारमा छ ।

वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले ३७ बलमा ७७ रन बनाए पनि २ सय २ रनको लक्ष्य लिएर आएको पन्जाब १६.५ ओभरमै १ सय ३२ रनमा अलआउट भयो । अब्दुल समादको एक ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका पूरनले कुल ५ चौका र ७ छक्का प्रहार गरे । रशिद खानले मेडन ओभर फाल्नेक्रममा १५ औं ओभरमा पूरन र मोहम्मद सामीलाई आउट गरे ।

पूरनबाहेक दोहोरो स्कोर बनाउनेमा कप्तान केएल राहुल र सिमरन सिंह मात्र थिए । दुबैले समान ११ रन बनाए । ग्लेन म्याक्सवेल ७ रनमा आउट भए । रशिदले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । खलिद अहमद र टी नटराजनले २–२ तथा अभिषेक शर्माले १ विकेट लिए ।

यसअघि कप्तान डेविड वार्नर र जोनी बेरिस्टोले बलियो साझदोरी गरी दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले ६ विकेट गुमाई २ सय १ रन बनाएर विजय आधार तयार पारेको थियो 

वार्नर र वेरिस्टोले १५ ओभरमा १ सय ६० रन जोडेर हैदराबादलाई सानदार सुरुआत दिलाएका थिए । युवा स्पिनर रवि विष्णोइले १६ औं ओभरमा दुवैलाई आउट गरे । ओभरको पहिलो बलमै वार्नरले म्याक्सवेललाई क्याच दिन पुगे । उनले ४० बलमा ५ चौका र १ छक्कासहित ५२ रन बनाए ।

विष्णोइले बेरिस्टोलाई ९७ रनमा एलबीडब्लु आउट गरे । म्यान अफ द म्याच इंग्लिस ब्याट्सम्यान बेरिस्टोले ५५ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे । बेरिस्टोले नै विष्णोइलाई एकै ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए । केन विलियम्सन १० बलमा २० रन बनाई अविजित रहे भने अभिषेक शर्माले ६ बलमा १२ रन बनाए । विष्णोइले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अश्रदीप सिंहले २ र सामीले १ विकेट लिए ।

प्रकाशित : आश्विन २३, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

सुरज कुँवर

काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले असार १५ गते निगमको संचालक समितिको बोर्डमा सदस्य नियुक्त भएका पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

निगमका लागि दुइटा वाइडबडी जहाज खरिद गर्ने सुगतरत्न कशांकार ०७६ जेठमा चार वर्षे कार्यकाल सकेर गएपछि निगमको महाप्रबन्धक पद रिक्त थियो । त्यसपछि निगमको नेतृत्व कार्यकारी अध्यक्ष मदन खरेलले सम्हालेका थिए । उनीपछि हाल पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्ष थिए ।

‘चार वर्षका लागि महाप्रबन्धको जिम्मेवारी दिइएको थाह पाएँ,’ बिहीबार राति पौडेलले कान्तिपुरसँग भने । हाल नेकपाको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य रहेका पौडल २०५३ मा तत्कालीन एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष थिए ।

बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी दिव्या हर्वासिटिकलका अध्यक्षसमेत हुन् । पर्यटनमन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा उनी सदस्य थिए ।

त्यसैगरी पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज् प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइचरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ । पौडेलले असोज १ गतेबाट उक्त कम्पनीमा राजीनामा दिइसकेको बताए ।

गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदलमा पौडेल ५ जनामध्येका एक थिए । पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले असोजमा पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री केपी ओलीले कशांकार महाप्रबन्धक छँदै झापाका मदन खरेललाई ०७५ भदौमा ४ वर्षका लागि कार्यकारी अध्यक्ष पद दिएका थिए । तर, खरेलले ०७६ माघमा राजीनामा दिएपछि मन्त्री भट्टराईले यसै कार्यदलको नेतृत्व गरेका पूर्वसचिव घिमिरेलाई वैशाख २ गते कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए ।

अब निगमका कार्यकारी अध्यक्ष घिमिरे संचालक समितिका अध्यक्ष मात्र रहने छन् । उनलाई वैशाखमा नियुक्ति दिँदा कार्यकाल तोकिएको थिएन ।

प्रकाशित : आश्विन २२, २०७७ २२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×