२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आईपीएल : हैदराबादको आशा कायमै

एजेन्सी

दुबई — उत्कृष्ट ओपनिङ साझेदारीमा सनराइजर्स हैदराबादले बिहीबार किंग्स इलेभेन पन्जाबलाई ६९ रनले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावना पुनः ब्युँत्याएको छ ।

आईपीएल : हैदराबादको आशा कायमै

हैदराबाद छैटौं खेलमा तेस्रो जित हात पारी तेस्रो स्थानमा उक्लिएको छ । आठमध्ये शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स ८–८ अंकसहित पहिलो दुई स्थानमा छन् । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरको ६–६ नै अंक भए पनि राम्रो रनरेटमा हैदराबादभन्दा तालिकामा तल छन् । पन्जाब ६ खेलमा एक विजयसाथ पुछारमा छ ।

वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले ३७ बलमा ७७ रन बनाए पनि २ सय २ रनको लक्ष्य लिएर आएको पन्जाब १६.५ ओभरमै १ सय ३२ रनमा अलआउट भयो । अब्दुल समादको एक ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका पूरनले कुल ५ चौका र ७ छक्का प्रहार गरे । रशिद खानले मेडन ओभर फाल्नेक्रममा १५ औं ओभरमा पूरन र मोहम्मद सामीलाई आउट गरे ।

पूरनबाहेक दोहोरो स्कोर बनाउनेमा कप्तान केएल राहुल र सिमरन सिंह मात्र थिए । दुबैले समान ११ रन बनाए । ग्लेन म्याक्सवेल ७ रनमा आउट भए । रशिदले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । खलिद अहमद र टी नटराजनले २–२ तथा अभिषेक शर्माले १ विकेट लिए ।

यसअघि कप्तान डेविड वार्नर र जोनी बेरिस्टोले बलियो साझदोरी गरी दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले ६ विकेट गुमाई २ सय १ रन बनाएर विजय आधार तयार पारेको थियो 

वार्नर र वेरिस्टोले १५ ओभरमा १ सय ६० रन जोडेर हैदराबादलाई सानदार सुरुआत दिलाएका थिए । युवा स्पिनर रवि विष्णोइले १६ औं ओभरमा दुवैलाई आउट गरे । ओभरको पहिलो बलमै वार्नरले म्याक्सवेललाई क्याच दिन पुगे । उनले ४० बलमा ५ चौका र १ छक्कासहित ५२ रन बनाए ।

विष्णोइले बेरिस्टोलाई ९७ रनमा एलबीडब्लु आउट गरे । म्यान अफ द म्याच इंग्लिस ब्याट्सम्यान बेरिस्टोले ५५ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे । बेरिस्टोले नै विष्णोइलाई एकै ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए । केन विलियम्सन १० बलमा २० रन बनाई अविजित रहे भने अभिषेक शर्माले ६ बलमा १२ रन बनाए । विष्णोइले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अश्रदीप सिंहले २ र सामीले १ विकेट लिए ।

प्रकाशित : आश्विन २३, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?