२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दसैं कप खुकुरी क्लबलाई

नारायण खड्का

अस्ट्रेलिया — दसैंको अवसर पारेर दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको दसैं कपको उपाधि एडिलेड खुकुरी फूटबल क्लब (एकेएफसी) ले हात पारेको छ ।

दसैं कप खुकुरी क्लबलाई

क्लबले प्रतिद्वन्द्वी भारतीय टोली सहिद भगतसिंह फूटबल क्लब (एसबीएस) लाई २–१ गोलको अन्तरले हराएको हो ।

यहाँस्थित भिक्टोरिया स्क्वायरमा दुई दिनसम्म आयोजना गरिएको प्रतियोगितामा नेपालका साथै भारतीय, अफगानी र नेपालीभाषी भुटानी फुटबल क्लबले सहभागिता जनाएका थिए । लिग चरण अन्तर्गत खेलाइएको प्रतियोगितामा तीन प्रतिद्वन्द्वी टिमलाई पराजित गर्दै दुबै टोली फाइनल प्रवेश गरेका थिए । विजेता खुकुरीले १ हजार ५ सय डलर नगद, ट्रफी लगायतका पुरस्कार जितेको छ । एकेएफसीका तर्फबाट पूर्व राष्ट्रिय खेलाडी जगजित श्रेष्ठले एक गोल गरेका थिए । मानस वज्राचार्यले अर्को गोल गरे । श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दक्षिण अस्ट्रेलियास्थित तेस्रो डिभिजन खेल्दै आएको टिमलाई भारतीय टोलीले कडा चुनौती दिएको थियो ।

विभिन्न उमेर समूहका १९ वटा क्लब सहभागी प्रतियोगितामा बालबालिका, महिलाका साथै ३५ वर्षमाथिका खेलाडीहरूले समेत प्रतिस्पर्धा गरेका थिए । बालबालिकाको खेलमा नेपाली पाठशालाले नेपाली विद्यालयमाथि ३ गोलले जित हासिल गरेको थियो भने महिलातर्फ अफगानी टोलीले ड्रागन क्लबलाई ३ गोल अन्तरले पराजित गरेको थियो । यसैगरी लिग चरणअन्तर्गत नै भएको ३५ वर्षमाथिका खेलाडीको प्रतियोगिता ब्रदर्स युनाइटेड फूटबल क्लब (बीयूएफसी) ले खुकुरी क्लबलाई १ गोलले हराउँदै उपाधि हात पारेको थियो ।

बीयूएफसीले ५ सय डलर नगद, ट्रफी हात पारेको थियो । विगत ७ वर्षदेखि हरेक वर्ष दसैंको अवसरमा आयोजना गरिने यो प्रतियोगिता यहाँस्थित नेपालीले आयोजना गर्ने सबैभन्दा ठूलो खेल प्रतियोगिता हो । एडिलेड खुकुरी फुटबल क्लबले आयोजना गर्दै आएको प्रतियोगिता यस प्रतियोगितामार्फत यहाँ रहेका नेपाल प्रतिभालाई उजागर गर्ने र थप अवसर प्रदान गर्ने मुख्य उद्देश्य रहेको क्लबका महासचिव राजन लामिछानेले बताए । उनले पछिल्लो समयमा नेपाली क्लबको संख्या बढ्दै गएका कारण प्रतियोगिता दुई दिनसम्म आयोजना गरिएको बताए ।

प्रकाशित : आश्विन २०, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?