२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चौथो डीपीएल कात्तिकमा नहुने

कान्तिपुर संवाददाता

धनगढी — धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण कोरोना महामारीका कारण पूर्वनिर्धारित मितिमा आयोजना नहुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले प्रतियोगिता यस वर्ष अक्टोबर २४ देखि नोभेम्बर ७ सम्म (कात्तिक ८ देखि २२ सम्म) आयोजना गर्ने मिति तय गरेको थियो ।

चौथो डीपीएल कात्तिकमा नहुने

आयोजक डीसीएले आइतबार विज्ञप्तिमार्फत विश्वव्यापी फैलिएको कोरोना महामारीको जोखिम र सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण प्रतियोगिता पूर्व निर्धारित मितिमा गर्न असम्भव नभएकाले अर्को मिति नतोकिएसम्म स्थगित गरेको जनाएको छ ।

‘प्रतियोगिताको नयाँ मिति यथाशीघ्र घोषणा गर्ने जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ । धनगढी क्रिकेट एकेडेमीले देशमै पहिलो पटक विभिन्न सहरका टिमसहितको फ्रेन्चाइज क्रिकेटको अवधारणाअनुरुप डीपीएलका तीन संस्करण धनगढीमा आयोजना गरिसकेको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीले आयोजना गर्दै आएको एसपीए कप र धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा हुॅदै आएको धनगढी क्रिकेट लिग (डीसीएल) लाई संयोजन गर्दै सन् २०१७ देखि धनगढी प्रिमियर लिग (डीपीएल) गरिँदै आएको हो ।

विभिन्न सहरको नाममा फ्रेन्चाइज टोली र टिमले बोलकबोल मार्फत खेलाडी लिने व्यावसायिक परम्परा डीपीएलले सुरु गरेको हो । पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रूपन्देही, विराटनगर र काठमाडौंका गरी ६ टोलीले डीपीएलमा सहभागिता जनाउॅदै आएको आयोजक एकेडेमीका अध्यक्ष सुवास शाहीले जनाए । अघिल्लो वर्ष डीपीएलको तेस्रो संस्करण धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो ।

प्रकाशित : आश्विन १९, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?