कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एभरटनको हनिमुन कायमै

प्रिमियर लिगमा एभरटनले १९६९–७० यता पहिलो पटक सुरूको चार खेल नै जितेको हो । पछिल्लोपल्ट सुरूको चार खेल जित्दा एभरटनले लिग उपाधि नै जितेको थियो । टोलीले सबै प्रतियोगितामा गरी यस सिजन सबै ७ खेल जितेको छ ।
एपी

लन्डन — एभरटन लगातार चौथो खेल जित्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । एभरटनले शनिबार ब्राइटनलाई ४–२ ले पराजित गर्‍यो । मर्सीसाइड टोलीले १९६९–७० यता पहिलो पटक सुरुको चार खेल नै जितेको हो । पछिल्लोपल्ट सुरुको चार खेल जित्दा एभरटनले लिग उपाधि नै जितेको थियो ।

एभरटनको हनिमुन कायमै

एभरटनले सबै प्रतियोगितामा गरी यस सिजनको सबै ७ खेल जितेको छ । त्यसमा डोमिनिक कल्भर्ट लेविनले दुई ह्याट्रिकसहित ९ गोल गरिसकेका छन् । उनै लेविनले गुडिसन पार्कमा गिल्फी सिगुरसनको क्रसमा हेडबाट १६ औं मिनेटमा खाता खोलेका थिए । इंग्लिस राष्ट्रिय टोलीका गोलरक्षक जोर्डन पिकफोर्डको ठूलो गल्तीको फाइदा उठाउँदै निल मउपेले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याएका थिए ।

कोलम्बियन रक्षक येरी मिनाले मध्यान्तर हुनु ठीकअगाडि गोल गर्दै एभरटनलाई पुनः अग्रता दिलाए । अर्का कोलम्बियन खेलाडी हामेस रोड्रिग्वेजले ५२ र ७० औं मिनेटमा गोल गरी एभरटनको जित निश्चित गरेका थिए । इन्जुरी टाइममा यभेस बिसौमाले सानदार गोल गरे, जुन ब्राइटनका लागि सान्त्वनामात्र रह्यो ।

चेल्सीको सजिलो जित

लन्डन– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराएको छ । त्यसमा बेन चिलवेलले सम्झनलायक डेब्यू गरेका छन् । उनले एक गोल गरेसँगै अर्को गोलको अवसर सिर्जना गरे । त्यसमा कुर्ट जुमाको एक गोल रह्यो भने जर्जिन्होले पेनाल्टीबाट दुई गोल गरे । प्यालेसले चेल्सीलाई उसको घरमा पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो थियो, तर दोस्रो हाफमा उसको डिफेन्स कमजोर साबित भयो ।

चिलवेलले प्यालेसको कमजोर डिफेन्सको फाइदा उठाएर ५०औं मिनेटमा गोल गरे । उनकै पासमा ६६औं मिनेटमा जुमाले दोस्रो गोल थपे । जोर्जिन्होले पाँच मिनेट अन्तरमा पेनाल्टीबाट दुई गोल गरेका थिए । खर्चालु चेल्सीका लागि यो जितले व्यवस्थापक फ्रान्क लाम्पार्डका लागि ठूलो राहत दिएको हुनुपर्नेछ । चेल्सीको यो जितपछि ४ खेलबाट ७ अंक भएको छ । यसअघिको खेलमा चेल्सीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन ।

फ्रान्स

पेरिस– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार फ्रान्सेली लिग वानमा एन्गर्सलाई ६–१ ले हरायो । यो जितपछि पीएसजी लिग तालिकाको शीर्षस्थानमा रहेको रेनेससँग एक अंकको दूरीमा पुगेको छ । ब्राजिली फरवार्ड नेयमरले त्यसमा दुई गोल गरे । लिगमा अप्रत्याशित रूपमा सुरुआती दुई खेल गुमाएपछि पीएसजी विजयी रहेको यो लगातार चौथो जित हो । मार्सेविरुद्ध झगडा भएको प्रतिस्पर्धामा नेयमरलाई दुई खेलको प्रतिबन्ध लागेपछि उनी पहिलोपल्ट मैदानमा उत्रेका हुन् । शीर्षस्थानमा रहेको रेनेस ५ खेलमा अपराजित छ ।

स्पेन

म्याड्रिड– स्पेनी ला लिगामा एइबरले शनिबारको खेलमा रियल भालाडोलिडलाई २–१ ले हरायो । एइबरले स्टेबन बुर्गोसको गोल मदतले २९ औं मिनेटमा अग्रता लिएको थियो । तर यो लामो समय टिकेन र घरेलु टिमले ३७औं मिनेटमा टोनी भिल्लाको तर्फबाट बराबरी गोल फर्कायो । खेलको अन्तिम मिनेटमा एइबरका लागि केभिन रोड्रिग्वेजले निर्णायक गोल गरे । एइबरको यो सिजनको पहिलो जित हो । टोलीको ५ खेलबाट ४ अंक भएको छ ।

इटाली

मिलान– साम्पडोरियाले इटालीको सिरी ‘ए’ मा शनिबार फिओरेन्टिनामाथि २–१ को जित निकालेको छ । खेल सकिन सात मिनेट अगाडि भालेरियो भेरेले निर्णायक गोल गरे । साम्पडोरियाको यो पहिलो जित हो । टोलीको तीन खेलबाट ३ अंक भएको छ । फिओरेन्टिना तीन खेलमा ३ अंकमै सीमित रह्यो ।

प्रकाशित : आश्विन १८, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?