३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लेवान्डोस्कीका अनौठा संयोग

सबैको अपेक्षाअनुसार रोबर्ट लेवान्डोस्की नै भए, यसपल्टको युरोपेली फुटबल महासंघको वर्ष खेलाडी । बायर्न म्युनिकका लागि गत सिजन गज्जब रह्यो । क्लबले एकपछि अर्को उपाधि जित्यो । बायर्न एउटा टिमका रुपमा निकै बलियो थियो नै, तर टोलीको सफलतामा कोही एक खेलाडीको बढी योगदान छ भने त्यो रोबर्ट लेवान्डोस्कीकै थियो । बायर्नका लागि उनी ‘गोल मेसिन’ नै हुन् । भन्नेहरु के सम्म भन्छन् भने चर्चा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोकै बढी हुन्छ, तर यी पोलिस खेलाडी पनि उनीहरुको अगाडि कम्तीका छैनन् ।
द गार्डियन, द डेलिमेल

लन्डन — पोल्यान्ड र जर्मनीबीच ‘माया र घृणा’ को समान सम्बन्ध हुने गर्छ । विशेषतः पोल्यान्डका लागि जर्मन नभई नहुने छिमेकी हो, तर पोल्यान्डमा जर्मन भनेपछि नाक खुम्च्याउने पनि उत्तिकै छन् । जेहोस, रोबर्ट लेवान्डोस्की खेलाडी त पोल्यान्डकै हुन्, तर उनले ‘नाम र दाम’, ‘सान र शौकत’ सबै कमाएको जर्मन फुटबलमै हो । अहिले उनी बायर्न म्युनिकका प्रमुख खेलाडी त भएन नै, त्यसभन्दा अगाडि उनी बोरुसिया डर्टमुन्डबाट खेल्थे ।

लेवान्डोस्कीका अनौठा संयोग

अधिकांश पोलिस खेलाडीको पहिलो रोजाइ जर्मन क्लब फुटबल नै हुने गर्छ । लेवान्डोस्की को पनि यस्तै थियो । सन् २०१० मा युरोपमा फैलिएको ज्वालामुखीको अचाक्ली प्रभाव नहुँदो हो त यी खेलाडीको भाग्य बेग्लै मसी र फरक कागजमा लेखिएको हुन्थ्यो । भएको के थियो भन्दा त्यतिबेला इंग्लिस प्रिमियर लिगमा ब्ल्याकबर्नको राम्रै उपस्थिति थियो । क्लबका व्यवस्थापक थिए, साम एलाडायसी । उनी चाहन्थे लेवान्डोस्की ब्ल्याकबर्नमा आओस् ।

एक किसिमले एलाडायसी उनकै पछाडि लागेका थिए । उनले पोल्यान्डमै गएर लेवान्डोस्कीलाई भेटेका थिए । एलाडायसी पनि कम्तीका प्रशिक्षक थिएनन् । लेवान्डोस्कीलाई पनि के लागेछ भने ब्ल्याकबर्न राम्रै विकल्प हो । त्यसैले उनी अनुबन्धसम्बन्धी कुराकानी गर्न ब्ल्याकबर्न जाने भए, त्यसका लागि हवाई टिकट काटे । तर त्यही ज्वालामुखीका कारण त्यो हवाई यात्रा रद्द भयो । लामो समय पूरा युरोपमा हवाई सेवा अवरुद्ध भएको थियो ।

यसबीच कता–कताबाट उनी डर्टमुन्ड लागे । अहिले लेवान्डोस्की भन्ने गर्छन्, ‘म त ब्ल्याकबर्न उड्नै लागेको थिएँ तर, मेरो भाग्यमा बेग्लै कथा लेखिएको रहेछ ।’

उनको खेलजीवनको सुरुआती चरणमा साँच्चै डर्टमुन्ड लेखिएको थियो, ब्ल्याकबर्न थिएन । त्यतिबेला डर्टमुन्डका प्रशिक्षक थिए, योर्गन क्लोप । यिनै जर्मन प्रशिक्षककै रेखदेखमा लेवान्डोस्की विश्वस्तरीय खेलाडी बने, सिधा सिधाभन्दा विपक्षीका लागि घातक फरवार्ड अनि मौका पायो कि गोल गरिहाल्ने खेलाडी ।

त्यसो त उनले विश्व फुटबलका केही अब्बल दर्जाका प्रशिक्षकमुनि खेलेका छन् । जस्तो कि पेप ग्वार्डिओला, कार्लो एन्सेलोट्टी, जुप हेयनकेस । तर लेवान्डोस्कीले आफूलाई साँच्चै प्रमाणित गर्ने काम भने क्लोपकै नेतृत्वमा गरे । लेवान्डोस्की भन्छन्, ‘क्लोप त्यस्ता एकमात्र प्रशिक्षक हुन्, जसले मलाई माथिल्लो डिभिजनमा खेल्न सक्छ भनेर विश्वास दिलाए । मेरो खेलजीवनले जुन आकार लिएको छ, त्यो डर्टमुन्डमा हो र यसको मुख्य कारण क्लोप नै हुन् ।’

लेवान्डोस्कीलाई सक्दो राम्रो खेलाउन क्लोप खुबै उक्साउने काम गर्थे । दुई जनाबीच सानोतिनो बाजी नै चल्थ्यो । उनले राम्रो खेले बाजी उनकै पक्षमा, नत्र क्लोपको पक्षमा । सुरुआती दिनमा क्लोपले नै यो बाजी बढी जिते, तर पछि हुँदाहुँदै यो बाजी सधैंजसो लेवान्डोस्कीको नाममा हुन थाल्यो । बाजी हारेर पनि क्लोप मस्त खुसी हुन्थे ।

पोल्यान्ड र जर्मनीबीच जस्तो अनौठो सम्बन्ध छ, त्यस्तै सम्बन्ध बायर्न र डर्टमन्डुबीच पनि छ ।

केही हदसम्म बायर्नका अगाडि डर्टमुन्ड छायाँमा पर्ने गर्छ । लेवान्डोस्कीलाई पनि डर्टमुन्डको नाकैमुनिबाट बायर्नले टिपिहाल्यो, अझ चोरिहाल्यो भन्दा हुन्छ । उनी बायर्न के लागे, त्यो त अब इतिहास नै भइसक्यो ।

बायर्नका लागि गत सिजन वास्तवमै गज्जब साबित भयो । बुन्डेस लिगा र जर्मन कप जितिहाल्यो ।

यतिमात्र जितेको भए, त्यसको केही अर्थ हुने थिएन । तर, बायर्नले युरोपेली च्याम्पियन्स लिग जित्यो र साबित गर्‍यो, आफू युरोपेली क्लब फुटबलको महाशक्ति हो भनेर ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगमा १५ गोल गरे । यही प्रदर्शनमा टिकेर बायर्नले फाइनलसम्म यात्रा गरेको थियो । बुन्डेसलिगामा त उनले गरेको गोलसंख्या ३४ थियो अनि जर्मन कपमा उनले ५ गोल गरिहाले । यसपल्टको युरोपेली अवार्डमा बायर्नकै प्रभुत्व रह्यो । हान्सी फ्लिक पनि उत्कृष्ट प्रशिक्षक चुनिए । यिनै फ्लिक लेवान्डोस्कीको प्रशंसा गर्दा थाक्दैनन् । भन्छन्, ‘अहिलेको पुस्ताका खेलाडीमध्ये लेवान्डोस्की सर्वाधिक प्रभावशाली खेलाडी हुन् ।’

लेवान्डोस्की लाई लिएर सबैभन्दा ठूलो संयोग के भने उनको परिवारलाई पहिले नै थाहा थियो, छोरा एकदिन फुटबल खेलाडी हुनेछन् र प्रख्यात पनि हुनेछन् । यस्तोमा परिवारले के सोच्यो भने ठेट पोलिस नाम राख्यो भने बाँकी विश्वलाई बोल्न र सम्झन नै गाह्रो हुनसक्छ, त्यसैले सुरुको नाम राखे, रोबर्ट । यो त सबैको जिब्रोका लागि सजिलो नाम भयो । आखिरमा उनको आमाबुबाले जसरी उनलाई लिएर भविष्यवाणी गरे, त्यो पूर्णतः सत्य साबित भयो ।

त्यसो त लेवान्डोस्कीको ‘डीएनए’ मै खेलकुद छ । उनका बुबा क्रिसजस्टोफ पोलिस जुडो च्याम्पियन नै थिए । उनले त्यहाँको दोस्रो डिभिजनसम्मको फुटबल खेले । उनकी आमा इवना पनि व्यावसायिक भलिबल खेलाडी थिइन् । उनी भन्थिन्, ‘हामीलाई लेवान्डोस्की सानो छँदै लागेको थियो, उनी एकदिन नामी फुटबल खेलाडी हुनेछन् । त्यसैले हामीले उनको नाम सबैका लागि सजिलो हुने किसिमले राखेका थियौं, ‘रोबर्ट’ भनेर ।’

उनकी ठूली दिदी मिलेना पनि भलिबलकै खेलाडी थिइन् । दुःख केमा मात्रै रह्यो भने लेवान्डोस्कीका बुबाले आफ्ना छोराले माथिल्लो डिभिजनको फुटबलमा डेब्यू गरेको देख्न पाएनन् । कुरा यत्तिकैमा सकिन्न, लेवान्डोस्कीकी पत्नी अन्ना पनि खेलाडी हुन्, करातेकी । उनी खेलाडी मात्र होइनन्, राम्रै ‘न्युट्रिसियन’ पनि हुन् ।

भनिन्छ, लेवान्डोस्कीको अहिलेसम्मको यात्रामा अन्नाको ठूलो योगदान छ । आखिरमा लेवान्डोस्की त्यसै राम्रा खेलाडी भएका होइनन्, युरोपेली वर्ष खेलाडी घोषित हुन् ।

प्रकाशित : आश्विन १७, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?