सहिद मैदानमा बल्ने भो फ्लडलाइट

विनोद भण्डारी

विराटनगर — दुई वर्षदेखि चर्चामा रहेको सहिद मैदानमा फ्लडलाइट जडान गर्ने र विराटनगरमा पनि रात्रिकालीन खेलकुद प्रतियोगिताको आयोजना गर्ने खेलकुदकर्मीको सपनाले बल्ल मूर्त रूप लिएको छ । प्रदेश १ सरकारको ४ करोड २९ लाख रुपैयाँको लागतमा स्थायी फ्लडलाइट जडान कार्य सुरु भएको हो ।

सहिद मैदानमा बल्ने भो फ्लडलाइट

सहिद मैदानको चार कुनामा चार एङकल नटबल्ट उठाएर त्यसमाथि ३० मिटर अग्लो माक्स जडान गरेर हजार वाटका १०८ वटा बत्ती जडान गरिने छ । त्यसका लागि निर्माण ठेक्का पाएको लामा–कार्कीबन्धु अमर जेभी कन्स्ट्रक्सनले जमिनमा पायल फाउन्डेसन गरेर जमिनमुनि १० मिटर गहिराइवाट चारवटा एङकर नटबल्ट उठाइसकेको छ ।

अब ती चारवटा एङकर नटबल्टमा समान ३० मिटर अग्लो माक्स जडान गरेर हजार वाटका १०८ वटा बत्ती जडान गर्नमात्र बाँकी छ । निर्माण कम्पनीका प्रमुख गणेश कार्कीले भने कात्तिकसम्म फ्लडलाइट जडान कार्य सकेर प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तयारी छ । एङकर नटबल्टमा जडान गरिने माक्स कोलकाताबाट चाँडै आयात गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

तीन वर्षअघि विराट गोल्डकप आयोजक समितिले सहिद मैदानमा अस्थायी फ्लडलाइटको व्यवस्था गरेर रात्रिकालीन विराट गोल्डकप आयोजना गरेपछि विराटनगरका खेलकर्मीले सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरेर हरेक वर्ष रात्रिकालीन खेलकुद प्रतियोगिता गर्ने सपना देखेका थिए ।

विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष वानियाँले भने, ‘यसपालिदेखि बल्ल हाम्रो सपना पुरा हुने भयो ।’ त्यही सपनाका कारण विराट गोल्डकपका दुई संस्करण आयोजना गर्न नपाइएको उनले बताए । अब विराट गोल्डकपका हरेक संस्करण रात्रिकालीन हुने अध्यक्ष बानियाँले सुनाए ।

प्रदेश सरकारको लगानीमा सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गर्ने चर्चा दुई वर्षअघिदेखि चलेको हो । त्यसैअनुसार सरकारले साढे ४ करोड रुपैयाँ पनि विनियोजन गर्‍यो । त्यसमा ४ करोड २९ लाख लामा–कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तर निर्माण कम्पनीले टेण्डर भर्दा पेस गरेको ओपन फाउन्डेसन स्ट्रक्चरलाई प्राविधिक पक्षले स्वीकृति नदिँदा निर्माण कार्य ढिलाइ भएको सम्बद्ध पक्षको भनाइ छ ।

निर्माण कम्पनीले पहिला ओपन फाउण्डर स्ट्रक्चर पेस गरेर टेण्डर भर्दा त्यसलाई स्वीकृति दिएर ठेक्का पाएको थियो । तर पछि त्यसअनुरुप फ्लडलाइट जडान गर्दा भइरहेको भौतिक पूर्वाधारको निकै क्षति हुने प्राविधिक पक्षले निष्कर्ष निकाल्यो । त्यसपछि प्राविधिक पक्षले निर्माण भइसकेको पूर्वाधारको क्षति कम गर्न पायल फाउन्डेसनमा जाने निचोड निकाल्यो ।

निर्माण कम्पनीले फेरि पायल फाउन्डेसनअनुसार स्ट्रक्चर सामाजिक विकास मन्त्रालयमा पेस गरेको थियो । त्यसलाई स्ट्रक्चर, मेकानिकल र इलेक्ट्रिक इन्जिनियरले अन्तिम रूप दिन ढिलाइ गर्दा समय धकेलिएको हो ।

सामाजिक विकास मन्त्रालयका एक अधिकारीका अनुसार ठेकदार कम्पनीले पछिल्लो पटक पेस गरेको स्ट्रक्चरलाई स्ट्रक्चर, मेकानिकल र इलेक्ट्रिक इन्जिनियरले फाइनल गरेपछि निर्माण कार्यले गति लिएको हो । पायल फाउन्डेसनका आधारमा पनि सहिद मैदानमा फ्लडलाइट जडान गर्दा पनि मैदानको चार कुनामा प्यारापिट तोडफोड भएको छ ।

निर्माण कम्पनीका कार्कीले भने, ‘माक्स र बत्ती जडान सकिएपछि क्षतिग्रस्त प्यारापिटको मर्मत गरिने छ ।’ यसअघि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको डेढ करोड खर्चमा मैदानको मर्मतसहित खेलाडी चेन्जिङ रूम निर्माण गरेर अघिल्लो वर्ष पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गरेको थियो ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?