सेरेनाको संघर्ष

एजेन्सी

पेरिस — प्रतियोगिताकी छैटौं वरीयताकी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले चिसो मौसमसँग संघर्ष गर्दै आफ्नै देशकी क्रिस्टी आहनलाई ७–६, ६–० ले पराजित गरी फ्रेन्च ओपन २०२० दोस्रो चरणको यात्रा तय गरेकी छन् ।

सेरेनाको संघर्ष

यूएस ओपनमा पनि सेरेनाले पहिलो चरणमै आहनलाई हराएकी थिइन् । यसपल्ल्ट भने सेरेनाले पहिलो सेट जित्न संघर्ष गर्नुपरेको थियो ।

त्यस सेटमा उनी दुईपल्ट पछाडि परेर टाइब्रेकमा जित्न सफल रहेकी हुन् । सेरेनाले अहिलेसम्म जितेका २३ ग्रान्ड स्लाममध्ये तीन उपाधि फ्रेन्च ओपन छ । टाइब्रेक जितपछि भने सेरेनाले दोस्रो सेटमा लगातार गेम जितिन् र १ सय २ औं स्थानकी खेलाडीलाई कुनै मौका दिइनन् । अब उनले स्भेत्लाना पिरोन्कोभाको सामना गर्नेछिन् । पिरोन्कोभाले यसअघि आन्द्रे पेटोभिचलाई ६–३, ६–३ ले हराएकी थिइन् ।

पुरुषतर्फ यूएस ओपन विजेता डोमिनिक थिएमले दोस्रो चरणको यात्रा तय गर्न क्रोएसियाका पूर्व विश्व नम्बर तीन मारिन सिलिचलाई ६–४, ६–३, ६–३ ले हराए । अस्ट्रियाका २७ वर्षीय खेलाडीविरुद्ध अनुभवी सिलिचले लगातार एकपछि अर्को भूल गरे र खेल गुमाए ।

थिएम फ्रेन्च ओपनका दुईपल्टका उपविजेता हुन् र यसपल्ट पनि फाइनल प्रवेशका लागि बलियो प्रत्याशी छन् । उनी पछिल्ला संस्करणका दुवै फाइनलमा पराजित रहेका थिए । यूएस ओपनको उनको पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

अब उनले दोस्रो चरणमा अमेरिकी क्वालिफायर खेलाडी ज्याक सकको सामना गर्नेछन् । दुई साताअगाडि मात्र न्युयोर्कमा हार्ड कोर्टमा खेलिरहेका थिएमले चिसो मौसममा क्ले कोर्टमा खेल्न आफूलाई सहज बनाएको देखिएको थियो ।

प्रकाशित : आश्विन १३, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?