लिभरपुलले आर्सनललाई ३–१ ले हरायो
लिभरपुल — लिभरपुलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर सोमबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ ले हरायो । लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको लिभरपुलले यससँगै सुरुआती तीन खेलमै सफलता हात पारेको छ ।
सुरुआती दुई खेल जितेको आर्सनलले पनि एनफिल्डमा भएको खेलमा एलेक्जान्डर लेकाजेटको गोलमा अग्रता लिएको थियो । तर खेलमा फर्कने क्रममा लिभरपुलका लागि साडियो माने, एन्ड्रयु रोबटर्सन र डिएगो जोटोले गोल गरे ।
खेल सकिन १० मिनेट अगाडि व्यवस्थापक योर्गन क्लोपले पोर्चुगाली खेलाडी जोटालाई घरमा डेब्यु गराए । उनले ८८ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे । यो खेलपछि लिभरपुलको तीन खेलबाट ९ अंक भएको छ ।
लिभरपुलका मुख्य प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र आर्सनलले सबैले सुरुआती तीन सातामा हार बेहोरिसकेका छन् । लिभरपुलसँगै लेस्टर र एभरटनले सबै तीन खेल जितेका छन् ।
प्रकाशित : आश्विन १३, २०७७ ०७:४३