कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिला क्रिकेटमा नयाँ अध्याय : कप्तान रुबिना

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाल क्रिकेट संघ (क्यान) ले पाँच दिनअघि राष्ट्रिय महिला क्रिकेटरलाई ग्रेडिङ गर्दै मासिक तलब दिने निर्णयपछि महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलबासेले नयाँ अध्याय सुरु भएको टिप्पणी गरेकी छन् । क्यानले ९ महिनाअघि नै तलब उपलब्ध गर्ने प्रतिबद्धता गरेको थियो ।

महिला क्रिकेटमा नयाँ अध्याय : कप्तान रुबिना

सोहीअनुसार मंगलबार चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई तलब दिने निर्णय गरेको थियो । कोरोना महामारीका बाबजुत क्यानले जुन निर्णय लियो यो सम्मानजनक रहेको कप्तान रुबिनाले बताइन् । ‘यो निर्णयले हामी थप उत्साही भएका छौं,’ उनले कान्तिपुरसँग भनिन्, ‘क्यानले जुन सिस्टम सुरु गरेको छ, यसले हामीलाई अब सुरक्षित बनाएको छ ।’

यसअघि क्यानले पुरुष राष्ट्रिय टोलीलाई ग्रेडिङ गरी तलब दिँदै आएको थियो । महिला क्रिकेटरलाई पनि तीन ग्रेडमा विभाजन गरेर तलब दिने प्रकृया सुरु भएको छ । ‘ए’ ग्रेडमा कप्तान रुबिनासहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन् । ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ‘बी’ ग्रेडमा परेका छन् । भने ‘सी’ ग्रेडमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले छन् । क्यानमा ‘ए’ ग्रेडका खेलाडीलाई मासिक १५, ‘बी’ ग्रेडलाई मासिक १२ र ‘सी’ ग्रेडमा परेका खेलाडीलाई मासिक १० हजार तलब उपलव्ध गराउने जनाएको छ ।

पुरुष क्रिकेटरले धेरै पाए महिलालाई किन कम? रुबिना भन्छिन्, ‘पुरुष खेलाडीको योगदान र जिम्मेवारी हाम्रोभन्दा अलि वढी छ । उनीहरू ओडीआई मान्यताप्राप्त खेलाडी पनि हुन् । तलब अलि कम भयो भन्ने हो, १५ को ठाउँमा २० मात्रै भएको भए हुन्थ्यो भन्ने मेरो निजी विचार हो।’

कप्तान रुबिनाले क्यानले राम्रो संस्कारको सुरुआत गरेको र भविष्यप्रति आशावादी र सुरक्षित बन्न सकिने बताइन् । क्षत्रीले १५ हजार तलवका भरमा खेलाडीलाई बाँच्न चाहिँ गाह्रो हुने धारणा राखिन् । क्यानले यसअघि १९ खेलाडीको कोरोना बिमासमेत गरिदिएको थियो । भविष्यमा जीवन बिमाको योजना क्यानको रहेको बताइएको छ ।

स्थानीय सरकारको उपेक्षा

कप्तान रुबिनासहित काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई, संगीता राई र रोमा थापा एउटै वटाका राष्ट्रिय महिला क्रिकेटर हुन् । उनीहरू मेचीनगर–६ का बासिन्दा हुन् । यू–१९ की ललिता राजवंशी, निग्मा तामाङ र ज्योति दनुवार पनि यही नगरका क्रिकेटर हुन् ।

१३ औं सागका पदक विजेता क्रिकेटरलाई सरकारले र प्रदेश सरकार अभिनन्दन गर्यो । तर, आफ्नै नगर सरकारबाट भने उनीहरू उपेक्षाको सिकार भइरहे । ‘क्रिकेटबाट नगरको नाम उच्च पार्न हाम्रो पनि धेरथोर भूमिका त रह्यो होला नि ?,’ कप्तान रुबिनाको दुखेसो थियो, ‘तर, नगरले हामीलाई कहिल्यै आफ्नो ठानेन, सधैं पराई मान्यो । नगरले त उपेक्षा गर्यो ।’

वडा ६ ले पनि सधैं बेवास्ता मात्रै गरेको रुविना बताउँछिन् । कोरोना कहरका कारण ६ महिनादेखि खेलाडीहरू सबै घरमै छन् । ‘तिमेरको अवस्था के छ, के भनेर हाल खबरसम्म सोध्ने फुर्सद जनप्रतिनिधिलाई भएन,’ रुबिनाको आक्रोश थियो, ‘ढुंगागिटी, बालुवा थुपारेर मात्रै नगर समृद्ध बन्दैन, समृद्ध बनाउन खेलाडीको भूमिका पनि कम हुन्न भन्ने हेक्का कसैलाई भएन ।’

प्रकाशित : आश्विन १२, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?