३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीप्यानको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले चितवनमा बसेको क्यान बोर्ड बैठकबाट गरिएका केही निर्णयमा ध्यानाकर्षण जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को अघिल्लो साता बोर्ड बैठक बसेको थियो ।

सीप्यानको ध्यानाकर्षण

सीप्यानले आइतबार राष्ट्रिय खेलकुद परिषद्मा ध्यानाकर्षण पत्र बुझाएको छ । असोज ६ गते भरतपुरमा सम्पन्न क्यान बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको ग्रेडिङ गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिइएको थियो ।

त्यसअनुसार ग्रेड ‘ए’ मा परेका ५ महिला खेलाडीलाई १५, ग्रेड ‘बी’ मा परेका ८ खेलाडीलाई १२ र ग्रेड ‘सी’ मा परेका ६ खेलाडीलाई १० हजार मासिक तलब दिने निर्णय पारित गरेको थियो । पुरुषतर्फ ग्रेड ‘ए’ का ८ खेलाडीलाई ५० हजार, ग्रेड ‘बी’ मा परेकालाई ४० र ग्रेड ‘सी’ मा परेका खेलाडीलाई ३० हजार मासिक तलब प्रदान गर्ने भएको थियो । क्यानले पुरुष खेलाडीको मासिक तलबमा १० हजारसमेत वृद्धि गरेको थियो ।

लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेट व्यवस्थापनसँग सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यसाथ गरिएका केही निर्णयले सुधारात्मक र सकारात्मक सन्देश दिएको सीप्यानले जनाएको छ । तर खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने केही निर्णयबारे क्रिकेट खेलाडीबाट प्राप्त अनुरोधका आधारमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस भएकाले त्यसलाई सम्बोधन गरिदिन सीप्यानले परिषदसँग अनुरोध गरेको छ ।

सीप्यानका अध्यक्ष मनीषराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुरुष र महिला खेलाडीको वर्गीकरणबारे थप प्रस्टता आवश्यक देखिएको, वर्गीकरणजस्तो महत्त्वपूर्ण विषयवस्तु पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्नुपर्ने, तर्कसम्म र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउनुपर्ने तथा खेलाडीको मनोबल उच्च राख्न न्यायसंगत ढंगले समयसापेक्ष कुनै विभेद अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्ने जनाइएको छ । क्यानले गर्ने भनिएको पुरुष तथा महिला क्रिकेट खेलाडीको जीवन बिमा/दुर्घटना बिमाका लागि समावेश गरिने खेलाडीको दायरालाई फराकिलो बनाउनु पर्ने सीप्यानले विज्ञप्तीमा जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?