२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राजस्थानको कीर्तिमानी जित

एजेन्सी

शारजहाँ — राजस्थान रोयल्सले आइतबार रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सजस्तै राजस्थानले पनि शतप्रतिशत विजय निकालेको हो ।

राजस्थानको कीर्तिमानी जित

राजस्थानले त्यसनिम्ति आईपीएल इतिहासकै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याएको थियो । शारजहाँ क्रिकेट मैदान त्यसको साक्षी बन्यो । मायंक अग्रवालले आईपीएलमा आफ्नो पहिलो शतक बनाएपछि पन्जाबले २ विकेट गुमाई २ सय २३ रन जोड्यो । कप्तान स्टिभ स्मिथ, सन्जु सामसन र राहुल टेवाटियाले अर्धशतक बनाएपछि राजस्थानले तीन बलअगाडि नै लक्ष्य पार गरेको हो ।

पहिलो १९ बलमा ९ रनमात्र बनाउन सकेका टेवाटियाले त्यसपछि आफूले सामना गरेको १२ बलमा ४४ रन थपेका थिए, त्यसमा ७ छक्का समावेश थियो । उनले १८ औं ओभरमा सेल्डन कोट्रेललाई ५ छक्का प्रहार गरेपछि राजस्थान खेलमा फर्किएको थियो । अर्को ओभरमा जोफ्रा आर्चरले मोहम्मद सामीको बलमा लगातार दुई छक्का र टेवाटियाले १ छक्का प्रहार गरेपछि राजस्थानले अस्वाभाविक प्रदर्शन दिँदै जित निकाल्न सक्यो । टेवाटियाले ३१ बलमा ५३ र आर्चरले ३ बलमा अविजित १३ रन बनाए ।

यसअघि जोस बटलर ४ रनमै आउट भए पनि स्मिथले ५० र सामसनले ८५ रन बनाउँदै राजस्थानको आस जीवितै बनाएका थिए । स्मिथले २७ बल खेली ७ चौका र २ छक्का तथा सामसनले लगातार अर्धशतक बनाउनेक्रममा ४२ बलको इनिङ्समा ४ चौका र ७ छक्का प्रहार गरे । टेवाटिया विजयभन्दा २ रनअगाडि आउट भएका हुन् ।

पन्जाबका मायंकले कप्तान केएल राहुलसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय ८३ रनको साझेदारी गरेका थिए । मायंकलाई टम कुरानले आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५० बल खेली १० चौका र ७ छक्का प्रहार गरे । राहुलले ६९ रन बनाउनेक्रममा ५४ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल ९ बलमा १३ र निकोलस पूरन ८ बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रनमा अविजित रहे ।

अघिल्लो खेलमा केएल राहुलले अविजित १ सय ३२ रन बनाउँदा पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको थियो । राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दा २ सय १६ रन खडा गरेको थियो ।

सोमबार मुम्बई इन्डियन्स र बेंग्लोरबीच दुबईमा खेल हुनेछ ।

प्रकाशित : आश्विन १२, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?