नडाललाई स्वर्णिम अवसर

स्पेनिस टेनिस स्टार राफेल नडाललाई फ्रेन्च ओपन मनपर्ने प्रतियोगिता हो । आजदेखि पेरिसमा हुने स्पर्धा यसपालि जित्न सके उनले पुराना प्रतिद्वन्द्वी रोजर फेडेररको ग्रान्ड स्लाम जितसँग बराबरी गर्नेछन् । 
एजेन्सी

पेरिस — राफेल नडाल विश्व टेनिसमा नयाँ इतिहास कोर्नका लागि ढोकामा पुगेका छन् । उनलाई सबैभन्दा मनपर्ने प्रतियोगिता हो, फ्रेन्च ओपन । अबको दुई साता उनी यसमै व्यस्त हुनेछन् । उनका सामु चुनौती हुनेछ, १३औं पल्ट यो उपाधि जित्ने ।

नडाललाई स्वर्णिम अवसर

यसपल्ट पनि उनले फ्रेन्च ओपन जित्न सके भने उनले जितेको ग्रान्ड स्लाम संख्या २० पुग्नेछ । उनले यससँगै आफ्ना पुराना प्रतिद्वन्द्वी रोजर फेडेररको नाममा रहेको ग्रान्ड स्लाम जितको बराबरी गर्न सक्नेछन् ।

त्यसो भनेको पुरुष खेलाडीले जितेको सबैभन्दा बढी संख्यामा ग्रान्ड स्लाम जित । फ्रेन्च ओपनमा नडालको प्रदर्शन आफैंमा गज्जब छ, उनको प्रदर्शनको आँकडा हो, ९३–२ । उनका दुई हारमध्ये पहिलो सन् २००९ मा रोबिन सोडरलिङविरुद्ध चौथो चरणमा हो । यस्तै सन् २०१५ को फाइनलमा उनी नोभाक जोकोभिचविरुद्ध पराजित रहे । रोलान्ड ग्यारोसका पछिल्ला २१ खेलमा उनी लगातार विजयी छन्, त्यसको अर्थ उनले तीन उपाधि लगातार जितेका छन् ।

नडाल भने फेडेररको बराबरी गर्ने र कुनै मोडमा आएर उनलाई उछिन्ने आफ्नो लक्ष्य नभएको मान्छन् । भर्खरै उनी रोममा भएको इटालियन ओपनको क्वाटरफाइनलमा पराजित भए । उनी डिएगो स्वार्टजमनसँग हारेका थिए । त्यतिबेला उनी भन्थे, ‘मलाई थाहा छ, सबै जनाको ध्यान यसमै छ, मैले कहिले फेडेररको बराबरी गर्ने छन् र कहिले उनीभन्दा अगाडि बढ्ने छन् भनेर ।’ तर रमाइलो के भने नडाल आफ्नो खेलजीवनको अन्त्य हुँदा २५ ग्रान्ड स्लाम उपाधि जित्न चाहन्छन् ।

उनी भन्ने गर्छन्, ‘तर मलाई के पनि थाहा छ भने मैले २५ ग्रान्ड स्लाम जित्ने सपना पूरा गर्न सक्दिनँ, मेरो काम भने त्यस्तो सफलताका लागि लगातार प्रयास गर्ने मात्र हो । जतिबेला मेरो खेलजीवनमा पूर्णविराम लाग्नेछ, त्यतिबेला म कहाँ हुनेछु, त्यो मेरो लागि पनि उत्सुकताको विषय हुनेछ । अहिले तत्काल म टेनिस खेल्ने कामलाई निरन्तरता दिन चाहन्छु, किनभने मलाई टेनिस खेल्न मनपर्छ । जतिबेला म राम्रो खेल्ने गर्छु, मेरो जित्ने सम्भावना फेरि बढी नै हुन्छ ।’

नडालले जितेका १२ फ्रेन्च ओपनमध्ये प्रत्येक अवसरमा उनले तयारीका रूपमा कुनै न कुनै अर्को क्लेकोर्ट प्रतियोगिता जितेका छन् । यसपल्ट भने यस्तो भएन । कोरोना भाइरस संक्रमणको महामारीले गर्दा खासै प्रतियोगिता नै भएन, खेलेको एकमात्र प्रतियोगितामा पनि उनी पराजित रहे । संयोग कस्तो भने त्यो प्रतियोगिताको उपाधि नोभाक जोकोभिचको नाममा रह्यो । यी सर्बियाली खेलाडीले अहिलेसम्म १७ ग्रान्ड स्लाम उपाधि जितेका छन् ।

यसपल्ट नडालका लागि फ्रेन्च ओपनमा अन्य केही ठूला चुनौती हुनेछन् र ती खेलाडीका रूपमा हुने छैनन् । यसपल्ट फ्रेन्च ओपनले विल्सन बल प्रयोग गर्दै छ । यसअघि प्रतियोगितामा लामो समयदेखि बाबोलाट बल प्रयोग हुँदै आएको थियो । नडाल मान्छन्, विल्सन बल केही बढी नै गह्रौं छ र खेलाडीलाई यसमा खेल्न अभ्यासको अभावमा गाह्रो हुनेछ । यस्तै यो बलले तय गर्ने यात्रा केही सुस्त छ । त्यसैले खेलाडीलाई सजिलो हुने छैन ।

त्यसमाथि यसपल्ट केही जाडो मौसममा फ्रेन्च ओपन हुन लागेको छ, त्यसैले मौसमले तयार पार्ने स्थिति बेग्लै हुनेछ, विल्सन बल आफै सुस्तमात्र होइन, थप गह्रौं पनि हुन सक्नेछ । स्पेनी ३४ वर्षीय स्टारका लागि भने गर्मी मौसम र गतिशील बल र मैदान बढी सुहाउने गर्छ । अरू बेला भए, फ्रेन्च ओपन मे र जुन महिनामा हुने गर्थ्यो, यसपल्ट सेप्टेम्बर र अक्टोबरमा हुँदै छ । त्यसको अर्थ यसपल्टको फ्रेन्च ओपन धेरै अर्थमा यसअघिका संस्करणभन्दा फरक हुनेछ ।

नडालले विल्सन बललाई लिएर मार्लोकामा केही अभ्यास पनि गरे । उनले त्यसको अनुभव पनि सुनाएका छन्, ‘बल निकै सुस्त छ, यो क्लेकोर्टका लागि सुहाउँदैन, यो मेरो व्यक्तिगत धारणा हो । तर खेलाडी भएपछि सबैखाले चुनौतीको बहादुरीपूर्वक सामना गर्नुपर्छ, त्यसैले यही समस्यामा मात्र केन्द्रित भएर बस्नु पनि ठीक हुन्न ।’ बल गह्रौं हुनु र मैदान सुस्त हुनुको अर्थ खेलाडी बढी थाक्ने हुनेछ र घाइते हुने सम्भावना धेरै रहन सक्छ ।

जस्तै परिस्थिति भएपनि दुई पल्टका फ्रेन्च ओपन विजेता जिम कुरियर मान्छन्, यसपल्टको उपाधिका लागि भने सबैभन्दा बलियो दाबेदार नडाल नै हुन्, खाली फरक के भने जाकोभिच पनि बलिया प्रत्याशी हुन्, अनि भर्खर यूएस ओपन जितेका डोमिनिक थिएमलाई पनि बिर्सन हुन्न । यही यसपल्ट नडालले साँच्चै फ्रेन्च ओपन जित्ने हो भने यसक्रममा जोकोभिच र थिएम दुवैलाई हराउनुपर्नेछ, सम्भवतः सेमिफाइनलमा थिएम, फाइनलमा जोकोभिच ।

के गाह्रो छैन र यो काम ? यूएस ओपनबाट निष्कासनमा परेका जोकोभिच भन्छन्, ‘यसपल्ट फ्रेन्च ओपन वर्षकै अन्तिम ठूलो प्रतियोगिताका रूपमा हुन लागेको छ । त्यसैले सबैको उद्देश्य यसमा राम्रो खेल्नु नै हुनेछ । सबैलाई राम्रोसँग के थाहा छ भने फ्रेन्चओपनमा जहिले पनि एक खेलाडीले जित्ने सम्भावना बढी हुन्छ र ती नडाल नै हुन् । पूरा खेल जीवनमा नडालले फ्रेन्च ओपनमा जम्माजम्मी दुई खेलमात्र गुमाएका छन्, यो त आफैंमा अद्वितीय प्रदर्शन हो ।’

प्रकाशित : आश्विन ११, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?