१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लगानीअनुसार छैन खेलमा प्रतिफल 

खेलकुद विकासका लागि भनेर अनावश्यक प्रतियोगिता गराउन लाखौं धनराशि खर्चिने प्रवृत्तिले स्थानीय तहको खेलकुदमा बेथिति बढेको भोजपुरवासीको गुनासो छ ।
एलिसा श्रेष्ठ

भोजपुर — सदरमुकामस्थित टुँडिखेलमा ०३० सालयता नै सानाठूला खेलकुद हुन्थे । जिल्लास्तरीय फुटबल र विभिन्न विद्यालयस्तरका एथलेटिक्स खेलहरू आयोजना गरिन्थ्यो । ०६९ सालमा गोल्डकप फुटबल पनि आयोजना भयो । उक्त गोल्डकपयता जिल्लामा कुनै ठूला प्रतियोगिता आयोजना भएनन् ।

लगानीअनुसार छैन खेलमा प्रतिफल 

स्तरीय खेलमैदान र बजेट अभावले खेलकुदबाट प्रतिभावान खेलाडी उत्पादन हुन सकेका छैनन् । स्थानीय सरकार बनेपछि सोही टुँडिखेलमा खेलकुद गतिविधि मौलाएको छ । भोजपुर नगरपालिकाले पनि सोही टुँडिखेलमा विभिन्न समयमा खेलकुद आयोजना गर्छ । तर सामान्य प्रतियोगितामै लाखौं बजेट खर्चिए पनि अपेक्षित प्रतिफल पाउन सकेन । खेलाडीको क्षमता अभिवृद्धि गराउने र व्यवस्थित खेलमैदान स्तरोन्नतिमा भने कसैको चासो देखिँदैन ।

गत मंसिरमा भोजपुर नगरपालिकाले मोफसलकै ठूलो धनराशिको फुटबल प्रतियोगिता आयोजना गरायो । त्यसमा नगरपालिकाले ०७६/७७ को आफ्नो नीति तथा कार्यक्रमबाट शीर्षक छुट्याएरै ‘मेयर कप पुरुष फुटबल’ मा १७ लाख र ‘मेयर कप महिला फुटबल’ मा ३ लाख गरी २० लाख बजेट छुट्याएको थियो ।

तर लगानी र प्रतियोगिताबाट कुनै राम्रो प्रतिफल आएन । प्रतियोगितामा सहभागी टिमले धेरैजसो जिल्लाबाहिरका व्यावसायिक खेलाडी खेलाएको तथ्य खुल्यो । उपलब्धिविहीन प्रतियोगिता फजुल खर्चमात्र बनेको सरोकारवाला व्यक्तिहरूको भनाइ छ ।

नगरपालिकाको प्रतियोगिताको नाममा खर्चिएको लाखौं बजेटको दुरुपयोग भएकोमा स्थानीयबासीले टीकाटिप्पणीसमेत गरे । साना खेलकुद प्रतियोगितामै लाखौं खर्चेर बाहिरबाट खेलाडी किन्ने र खेल खेलाउनाले स्थानीयस्तरका खेलाडीमा वितृष्णा जागेको युवा सरोकारवाला बताउँछन् । पहुँचका आधारमा खेलाडी किनेर प्रतियोगिता गराउँदा आफ्नो ठाउँका खेलाडी पछाडि पर्ने गरेको स्थानीय युवा खेलाडी विन्जल रानाले गुनासो गरे । जसकारण युवा खेलाडी पलायन हुने अवस्था बढेर जाने उनको तर्क थियो ।

नगरपालिकाले वर्षभर ३० लाखभन्दा बढी रकम खर्चेर खेलकुद गतिविधि आयोजना गर्छ । यसरी खर्च हुने खेलकुद गतिविधिबाट दीर्घकालीन फाइदा भने देखिँदैन । प्रतियोगिता व्यावसायिकताका लागि नभएर मनोरन्जनका लागि आयोजना हुने गरेका छन् । प्रतियोगिताको सट्टा स्थानीय तहले खेलकुदमा छुट्याउने बजेटले तालिम दिने, प्रशिक्षक राख्ने, २ देखि ४ महिनाको क्याम्प राखेर खेलाडीलाई प्रशिक्षण गराउन सके आफ्नै स्तरमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सकिने फुटबल प्रशिक्षक विनम श्रेष्ठले बताए । भन्छन्, ‘प्रतियोगिताको ठाउँमा स्थानीय तहले प्रशिक्षक राखेर राम्ररी क्याम्पिङ गराउने हो भने जिल्लाबाट राम्रा खेलाडी उत्पादन हुन सक्छन् ।’

स्थानीय तहहरूले खेलकुद प्रवर्द्धन गर्ने भन्दै बर्सेनि विकासे बजेट ल्याउने गरेको छ । लाखौंको बजेटबाट खेलकुद मैदान, कभर्डहल बनाउन होडबाजी नै चलेको छ । पूर्वी पौवादुङ्मा गाउँपालिकाले क्रमागत योजनाअन्तर्गत ५५ लाख र प्रदेश १ सरकारको एक करोड ३५ लाख बजेटमा मीरा राई रंगशाला स्तरोन्नतिको काम बढाएको छ । गाउँपालिकाले रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै गत आर्थिक वर्ष ५६ करोडको डिपिआरसमेत तयार गर्‍यो । दुर्गममै पहिलोपटक ल्याइएको यस्तो महत्त्वाकांक्षी योजनाले जिल्ला नै तरंगित बनायो ।

विभिन्न दिवस र अवसरमा स्थानीय तहले मनोरन्जनात्मक खेल खेलाएर लाखौं बजेट सिध्याउने प्रवृत्ति बढ्दो छ । ठूला धनराशिका खेलकुद गरे पनि अपेक्षाअनुसार खेलाडी उत्पादन नहुँदा बजेटको दुरुपयोग बढेको हो । खेलकुदमा देखिएको अनावश्यक बजेटले उपलब्धिमूलक प्रतिफल नपाएको युवा सरोकारवाला बताउँछन् । खेलकुद विकासका लागि भनेर अनावश्यक प्रतियोगिता गराउन लाखौं धनराशि खर्चिने प्रवृत्तिले स्थानीय तहको खेलकुदमा बेथिति बढेको उनीहरूको गुनासो छ । स्थानीय युवा प्रकाशसिं राईले भने, ‘खेलकुद भन्यो, पैसा छुट्यायो, खेलायो, सक्यायो, उपलब्धि शून्य छ । मनोरन्जन गराउने बजेटमात्र भएको छ ।’

प्रदेश सरकारले पनि खेलकुद पूर्वाधारमा भनेर करोडौं बजेट लगाएको छ । प्रदेशले भोजपुर रंगशाला निर्माणका लागि १४ करोड ५ लाख, षडानन्द नगरपालिकाको दिङ्ला रंगशालालाई क्रमागत योजनाअन्तर्गत ६ करोड, पौवादुङ्मा गाउँपालिकाको मीरा राई रंगशालामा १ करोड ३५ लाख, टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलकुद मैदान निर्माणमा ५० लाख, हतुवागढी गाउँपालिकाको हतुवागढी क्षेत्रीय रंगशाला निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको छ ।

खेलकुद पूर्वाधार निर्माण गर्ने बहानामा बर्सेनि करोडौं लगानी भए पनि युवा खेलाडीलक्षित नीति बनाउन नसक्दा भएका खेलाडी पनि पलायन हुन थालेका छन् । स्थानीय तहले आफ्नो हैसियतअनुरुपको नीति तथा कार्यक्रममा खेलकुद विकासमा लगानी गर्न सके उपलब्धिमूलक हुने स्थानीय नवीन प्रधान बताउँछन् । भन्छन्, ‘खेलकुद आयोजना अन्तर्राष्ट्रियस्तरको, उपलब्धि गाउँले स्तरको, सामान्य खेलकुद प्रतियोगितामै लाखौं सिक्याइन्छ, कसरी हुन्छ खेलाडी उत्पादन ।’ स्थानीय तहले गराउने खेलकुदमा खेल रणनीति राम्रो नहुँदा लगानी गर्ने बजेटअनुरुपको खेलकुदमा टेवा पुग्न नसकेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवाल बताउँछन् । एकेडेमिक रूपको नीति बनाउन नसक्नुले पनि अपेक्षा गरिएअनुसार खेलाडी उत्पादन हुन नसकेको उनले बताए ।

स्थानीय तहले पनि आफ्नै क्षेत्रमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने किसिमका योजनाहरू अघि बढाएको जनाएको छ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले परिवर्तन रातारात नहुने हुँदा प्रतियोगिताहरूमा गरेको लगानीबाट भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न आग्रह गरे । खेलाडीलाई बढावा दिएर लैजाने किसिमको नीति बनाउन बजेट कम हुने गरेको मेयर आले बताउँछन् । राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सोहीअनुसारको आर्थिक नीति, व्यवस्थापकीय नीति र दिगो खेलकुद विकासको नीति बनाएर लाग्नुपर्ने उनको बुझाइ छ ।

खेलकुद शीर्षकमा छुट्याइएको बजेट विभिन्न प्रतियोगितात्मक खेलकुद आयोजना गरेर सक्ने प्रवृत्तिले खेलाडी र दर्शकलाई मनोरन्जन मात्र दिन सकेको छ । खेलाडीको क्षमता अभिवृद्धि र सीप सिकाइमा प्रगति शून्य भएकाले उत्पादनमूलक क्षेत्रमा खेलाडीलाई प्रोत्साहन गर्न नसकिएको अर्का फुटबल प्रशिक्षक राजु श्रेष्ठ बताउँछन् ।

खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुनु सकारात्मक भए पनि यसलाई बृहत् योजना बनाएर सम्भावित खेलको प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण आवश्यक रहेको जानकार बताउँछन् । खेलकुदलाई प्रोत्साहन र व्यावसायीकरण गर्दै खेलाडी उत्पादन गर्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवाल बताउँछन् । नियमित प्रतियोगिताले खेलाडीभित्र भएको प्रतिभा उजागर हुने उनको ठम्याइ छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै स्थानीय तहमा नगर तथा गाउँपरिषद सम्पन्न गरिएका छन् । महामारीका रूपमा फैलिएको कोरोनाका कारण यो पटक तहहरूले कोरोनालाई प्राथमिकतामा राखेर योजना र बजेट शीर्षक बनाइएका छन् । लकडाउनमा पनि तहहरूले विकासे आयोजनाहरू अगाडि सारेका छन् । बजेट आकार घटेर आएकाले धेरै तहहरूले केही योजना कटौती गरेर स्वास्थ्य र राहतमा लगाएका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?