३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राहुलको शतकमा पन्जाबको सान

एजेन्सी

दुबई —  कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनको विशाल स्कोरले माथ दिएको छ ।

राहुलको शतकमा पन्जाबको सान

टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो । जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

आईपीएलमा राहुलको यो दोस्रो शतक हो । १७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए । त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो । यी दुईले अन्तिम दुई ओभरमा मात्रै ४९ रन जोडेका थिए । कोहलीले ८५ र ८९ रनमा हुँदा राहुलको क्याच छाडेका थिए ।

राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार गरे । शिवम दुबेले फालेको इनिङ्सको अन्तिम ओभरको पहिलो तीन बलमा नैरले ७ रन जोडे भने अन्तिम तीन बलमा राहुलले क्रमशः चौका र लगातार दुई छक्का प्रहार गरे । राहुलले आफूले सामना गरेको अन्तिम ९ बलमा ४२ रन जोडे, त्यसमा ५ छक्का र तीन चौका थियो ।

२०१३ मा राहुलले बेंग्लोरबाट विकेटकिपरको रूपमा आईपीएलमा आफ्नो पहिलो खेल खेलेका थिए । ट्वान्टी–२० मा उनले आफ्नो १ सय १२ रनको उच्च स्कोर उछिनेका हुन् । राहुलको यो स्कोर भारतीय खेलाडीले आईपीएलमा बनाएको उच्च स्कोर पनि हो । तत्कालिन दिल्ली डेरडेभिल्सका रिसब पन्तले दुई वर्षअगाडि १ सय २८ रन बनाएका थिए । कप्तानको रूपमा राहुलको यो स्कोर आईपीएलकै ठूलो थियो ।

राहुलले ६९ बलको इनिङ्समा १४ चौका र ७ छक्का प्रहार गरे । उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए । अग्रवालले २० बल खेली ४ चौकासहित २६ रन बनाए । निकोलस पूरन १७ र ग्लेन म्याक्सवेल ५ रनमा आउट भएपछि राहुल र नैरको जोडी आक्रामक बनेको थियो । बेंग्लोरका दुबेले दुई र स्टेयनले १ विकेट लिए ।

रवि विष्णोइ र मुरुगान अश्विनले समान ३ विकेट लिएपछि बेंग्लोर धराशायी हुन पुग्यो । सेल्डोन कोटरेलले सुरुआतमा देवदत्त पाडिक्कल र कोहलीलाई समान १ रनमा आउट गरे । मोहम्मद सामीले जोस फिलिप्सलाई शून्यमा एलबीडब्लू आउट गरेपछि बेंग्लोर ३ ओभरमा ३ विकेट गुमाई ५ रनको अवस्थामा थियो । बेंग्लोरबाट ओपनर आरोन फिन्च २०, एबी डी भिलियर्सले २८, वासिङ्टन सुन्दरले ३२ र दुबेले १२ रन बनाए ।

पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?