१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अमेरिकी मैदान, सपना नेपालको

तीन वर्षयता अमेरिकी फुटबलको चौथो डिभिजन लिग खेलिरहेका निर्देश कार्कीको सानैदेखिको सपना नेपाली राष्ट्रिय टिमबाट खेल्ने हो । भन्छन्, ‘मौका पाएँ भने नेपालको लिग खेल्न आउनेछु, जहाँबाट अघि बढ्नेछु । त्यही मौका पर्खिरहेको छु ।’
राजु घिसिङ

काठमाडौँ — पुर्ख्यौली घर जाजरकोट । हुर्किए राजधानी काठमाडौंमा । त्रियोग हाइस्कुलमा १२ कक्षा सकेपछि लागे अमेरिका । सेन्ट क्लाउड स्टेट युनिभर्सिटी, मिनेसोटामा चार वर्षे इन्फर्मेसन सिस्टममा स्नातक पूरा गर्न लागेका निर्देश कार्की फुटबलमा पनि उत्तिकै व्यस्त छन् । उनी तीन वर्षयता अमेरिकी फुटबलको चौथो डिभिजन लिग खेलिरहेका छन् ।

अमेरिकी मैदान, सपना नेपालको

डेविड बेकह्यामको टिम इन्टर मियामीले खेल्ने मेजर लिग सकर (एमएलएस) अमेरिकाको सबैभन्दा माथिल्लो श्रेणीको लिग हो । त्यसपछि यूसीएल च्याम्पियनसिप । तेस्रो डिभिजनमा पर्छ यूसीएल लिग वान र एनआईएसए । यूएसएल लिग टू, यूपीएल र एनपीएसएल अमेरिकी फुटबल सिस्टममा चौथो डिभिजनमा पर्छन् । युनाइटेड प्रिमियर सकर लिग (यूपीएसएल) को ग्रेनाइट सिटी फुटबल क्लबबाट खेलिरहेका छन्, निर्देश ।

उनी एट्याकिङ मिडफिल्डर हुन् । उनको टिम ग्रेनाइट सिटी मिनेसोटाको मिडवेस्ट कन्फ्रेन्समा गत सिजन पाँचौं भएको थियो । ‘होम एन्ड अवेका आधारमा १० खेल खेलेका थियौं,’ निर्देशले कान्तिपुरसँग भने, ‘नतिजा नराम्रो आयो । त्यसैले त्यो टिममा व्यापक परिवर्तन गरी यो सिजनको टिम बनाइयो ।’ गत सिजनको टिमबाट दुई खेलाडीले मात्रै निरन्तरता पाउँदा निर्देश ग्रेनाइट सिटीको पहिलो रोजाइमा रहे । गत सिजनपछि तेस्रो डिभिजनको क्लब मिनेसोटा टुइन स्टार्स बिघटन भएको थियो । त्यसैका कप्तान करिम पिटरसन दरबाकीलाई प्रशिक्षक बनाएर ग्रेनाइट सिटीले १८ खेलाडी भित्र्यायो । त्यसले ग्रेनाइटलाई बलियो बनाइदियो ।

‘कन्फ्रेन्स जित्ने हाम्रो चान्स धेरै थियो । सबैले हामीले नै उपाधि जित्छ भन्थे । तर, कोभिड–१९ ले सिजन प्रभावित भएपछि लिगको सट्टा अर्कै प्रतियोगिता खेल्नुपर्‍यो,’ लिगकम नकआउटका आधारमा सञ्चालित मिनेसोटा गोल्डकपमा आफ्नो टिमको प्रदर्शनबारे निर्देशले भने, ‘लिगमा एउटै खेल हारेको थिएन । हामीले लिगमा भ्लोरा एफसीलाई २–१ ले हराएका थियौं । त्यही टिमसँग सेमिफाइनललाई हामी भाग्यमानी रहेनौं र ४–३ ले चुक्यौं ।’ फाइनल मेपल ग्रोभले जित्यो, जसलाई निर्देशको टिमले लिगमा ५–० ले पराजित गरेको थियो ।

सेन्ट्रल, इस्ट र वेस्टबाट छनोट भएका टिमहरूले कन्फ्रेन्समा प्रतिस्पर्धा गर्छन् । कन्फ्रेन्सको विजेता टिमले रिजनल च्याम्पियनसिप खेल्छ । रिजनलका विजेताहरूले नेसनल च्याम्पियनसिप खेल्छन् । ‘तर, यहाँ कुनै डिभिजनको विजेता क्लब सिधै माथिल्लो डिभिजनमा उक्लिने व्यवस्था छैन । फुटबल संघले तोकेको मापदण्ड पूरा गरेपछि मात्रै क्लबहरूले व्यावसायिक लिग खेल्ने अवसर पाउँछन्,’ २३ वर्षीय उनले भने । उनी खेल्ने लिग (यूपीएसएल) लाई अर्धव्यावसायिक मानिन्छ । अमेरिकी फुटबलमा तेस्रो डिभिजनसम्मको लिगलाई व्यावसायिक मानिन्छ ।

‘यूपीएसएलमा कुनै टिम धेरै राम्रा छन् तर सबै क्लब त्यस्तो होइन । यूपीएसएल नेपालकै ‘ए’ डिभिजन स्तरको हो जस्तो लाग्छ,’ ग्रेनाइट सिटीमा यो सिजन ९ खेलमा २ गोल र ४ एसिस्ट गरेका निर्देशले सुनाए, ‘एनपीएसएल (चौथो डिभिजनकै अर्को लिग) भने धेरै कडा छ । व्यावसायिक लिग यूपीएसएल (च्याम्पियनसिप र लिग वान) खेलेका खेलाडीहरू पनि छन् ।’ सामान्यतः यूपीएसएलको सिजन मे महिनामा सुरु गर्नेछ । यसपालि भने पूरा सिजनलाई कोभिड–१९ ले बिथोल्यो ।

क्रिकेटबाट फुटबल

बुबा दिनेश कार्कीका अनुसार निर्देश सानोमा क्रिकेट खेल्थे । त्रियोग स्कुलको क्रिकेटमा उत्कृष्ट खेलाडी नै भएका थिए । विस्तारै फुटबलमा लागे । त्रियोगले २५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरस्कुल फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड जिते । पिसकोर नेपालका उपमहानिर्देशक रहेका बुबा दिनेशले छोराको चाहनाबारे भने, ‘छोराको सानैदेखिको सपना हो फुटबल खेल्ने । त्यसैले एन्फा एकेडेमीको छनोटमा नाम दर्ता पनि गरेका थियौं । तर, ज्वरो आएपछि छनोटमा सहभागी हुन पाएनन् । उमेरअनुसार बेलैमा मौका पाएको भए स्वदेशमै राम्रो खेलाडी हुनसक्थे ।’ दिनेश र निर्जलाका दुई छोरामध्ये जेठो हुन् निर्देश ।

नेपालमै खेल्ने चाहना

राष्ट्रिय टिमबाट समेत खेल्दाखेल्दै अमेरिका पुगेका नेपाली फुटबलर धेरै छन् । तर, त्यहाँ खेलभन्दा पढाइ र काममै केन्द्रित हुन्छन् । नेपाली समुदायको टिमबीच बेलाबेला फुटबल प्रतियोगिता हुने गर्छ र त्यसमा निर्देशले आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । अमेरिकाको औपचारिक लिग खेल्ने नेपालीबारे उनले भने, ‘दुई जनाले एनसीएएको पहिलो डिभिजन र तीन जनाले दोस्रो डिभिजन खेलेको थियो भन्ने थाह पाएँ । उनीहरू अमेरिकामै जन्मे–हुर्केका नेपाली हुन् । अहिले दोस्रो डिभिजन खेल्ने म एक्लो नेपाली भएको छु ।’

अमेरिकामा प्रायः फुटबल खेलाडी स्नातक पूरा गरेपछि एमएलएसले टिमले लिने गर्छ, ड्राफ्टमा राख्छ । कलेज लागिरहेका बेला भने अरू टिमबाट खेल्न पाउँदैनन् । ‘समरमा तीन महिना कलेज बिदा हुन्छ, त्यै बेला एनपीएसएल र यूपीएस खेल्न पाइन्छ,’ निर्देशले भने, ‘एक–दुई वर्षभित्र एनपीएसएल खेल्ने लक्ष्य छ । त्यो खेलेपछि अर्को लक्ष्य तय गर्नुपर्छ । तर, मुख्यतः नेपालकै लिग र टिमबाट खेल्न चाहन्छु, जुन मेरो बच्चैदेखिको सपना हो ।’ अध्ययनका लागि अमेरिका पुगेर पनि फुटबललाई अगाडि बढाउन पाएकामा उनी गर्व गर्छन् । उनले नेपालमै खेल्ने प्रयास नगरेका भने होइनन् तर अवसर पाएनन् । हिमालयन शेर्पा क्लबमा करिब तीन महिना ट्रेनिङ गरे, जतिबेला उनी कक्षा ९ मा पढ्थे । २०७० सालपछि ५ वर्ष रोकिएको ए डिभिजन लिगतर्फ संकेत गर्दै उनले भने, ‘त्यो लिगमा मछिन्द्रले राम्रो गरेको थियो । त्यसपछि लिग नै भएन र यता (अमेरिका) आइपुगें ।’

उनी गत वर्ष डिसेम्बरमा एक महिनाका लागि स्वदेश फर्केका थिए । ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्समा ट्रेनिङ गर्न पुगे । फ्रेन्ड्सले ब्राजिली प्रशिक्षक मार्कुस फिलिप र तीन खेलाडी ल्याएको थियो । कुपन्डोलमा झन्डै दुई साता ट्रेनिङको अनुभव निर्देशले सुनाए, ‘टिममा मौका पाउनेमा कन्फिडेन्ट थिएँ । किनभने मैले ट्रेनिङमा जे जस्तो गर्थें, त्यस्तो टच, पास अरुमा देखिनँ । एक जना ब्राजिलियन भने राम्रो थियो । ट्रेनिङपछि २० मिनेटको खेलमा भने मलाई कोचले १–२ मिनेटमात्रै खेलाउँथे । त्यो १–२ टच आफ्नो क्षमता देखाउन पर्याप्त थिएन । अत्ति भयो र जानै छाडें । बोलाएपछि सबैलाई समान व्यवहार गर्नुपर्छ, जुन कोचले गरेनन् । नत्र बिदा थपेर लिग खेल्ने योजना थियो । निरास भएर फर्किनुपर्‍यो ।’ १४ क्लब सहभागी ‘ए’ डिभिजन लिग २०७६ मा फ्रेन्ड्स ११ औं स्थानमा रहेको थियो ।

स्वदेशमा छँदा फुटसलमै व्यस्त रहने निर्देश बाहिरै भए पनि नेपालको लिगलाई एकदमै नियालेको बताउँछन् । ‘लिगको खेल हेर्न रंगशाला धेरैपल्ट गएको छु । पछिल्लोपल्ट पनि हेरेको थिएँ । आर्मीले राम्रो खेलेको थियो,’ उनले भने, ‘मलाई नेपालको लिग एकदमै खेल्न मन लागेको हो तर समय मिलेन ।’ उनले थपे, ‘राष्ट्रिय टिमबाट खेल्ने सानैदेखिको सपना हो । मौका पायो भने नेपालको लिग खेल्न आउनेछु, जहाँबाट अघि बढ्नेछु । त्यही मौका पर्खिरहेको छु ।’

फुटबलकै लागि छात्रवृत्ति

यूपीएसएलमा तीन सय टिम छन् । यसमा सहभागी मिनेसोटा राज्यका टिमहरूलाई लिएर लिगको स्थानमा यसपालि मिनेसोटो गोल्डकपपछि अर्को प्रतियोगिता मिनेसोटो फल कप पनि भइरहेको छ । यसमा ग्रेनाइट सिटीले सेमिफाइनल यात्रा पक्का गरिसकेको छ । अन्तिम चारको प्रतिस्पर्धामा निर्देश भने हुने छैनन् । किनभने उनले पूर्ण छात्रवृत्तिमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा आबद्ध भइसकेका छन् । त्यो पनि पूर्णतः फुटबलकै लागि ।

नेसनल कलेजियस एथलेटिक एसोसिएसन (एनसीएए) उत्तर अमेरिकमा रहेका विश्वविद्यालयसहित १,२६८ शैक्षिक संस्थाको खेलकुदको सर्वोच्च संस्था हो, जसले जीएलआईएसी कन्फ्रेन्स (ग्रेट लिग इन्टर कलेजियस एथलेटिक कन्फ्रेन्स) आयोजना गर्छ । यसमा फुटबलसहित २१ खेलको प्रतिस्पर्धा हुन्छ । एनसीएएमा तीन डिभिजन र त्यसमुनि पनि प्रतियोगिता हुन्छ । यसको दोस्रो डिभिजनमा छ सेन्ट क्लाउड स्टेट युनिभर्सिटी ।

एनसीएएका कन्फ्रेन्स (प्रतियोगिता) अगस्टदेखि नोभेम्बरसम्म हुन्छ । तर, यसपालि कोरोनाका कारण एनसीएएले डिसेसम्बरसम्म प्रतियोगिता नहुने जनाइसकेको छ । अमेरिकामा व्यावसायिक लिगपछि ‘कलेज सकर’ पनि महत्त्वपूर्ण मानिन्छ र त्यही एनसीएए कन्फ्रेन्समा प्रतिस्पर्धा गर्ने अवसरको खोजीमा फुटबल खेललाई दिइने छात्रवृत्तिका लागि गत मार्चमा ट्रायल दिएका थिए । गत जुलाईमा हुनुपर्ने छात्रवृत्तिको निर्णय कोरोना भाइरसको महामारीको कारण अघिल्लो विहीबारमात्रै आएको हो । ट्रायलमा सहभागी अस्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका र एसियाका ३१ जनामध्ये एक्लो विजेता निस्किएका हुन् निर्देश ।

उनको स्नातक आउने डिसेम्बरमा पूरा हुँदै छ । तर, उनले छात्रवृत्तिमा फुटबल खेल्नकै लागि डिप्लोमा तहमा मार्केटिङको पढाइ पनि थालेका छन् । त्यहाँको विश्वविद्यालयको टिममा भर्खरै हाइस्कुल सकेका विद्यार्थीको ट्रायलबाट खेलाडी छनोट गरिन्छ । त्यसैले टिममा हाइस्कुलका खेल शिक्षकले सिफारिस गरेका खेलाडीको बाहुल्य हुने गर्छ । निर्देश भने यूपीएसएल खेलेका आधारमा ट्रायल दिन पुगेका थिए । उनले भने, ‘मार्चको ट्रायलपछि ‘स्प्रिङ ब्रेक’ भयो अनि महामारी आयो । त्यसयता कलेज खुलेको छैन । अनलाइन कक्षा भइरहेको छ । अगस्ट २२ देखि केही कलेज खुल्न पनि थाल्यो । मैले छात्रवृत्ति पाएको खबर औपचारिक रूपमा अघिल्लो बिहीबार आयो र सेप्टेम्बर ९ देखि टिमसँग ट्रेनिङ गर्न थालें ।’ महामारीबीच सरकारले स्वीकृति दिएपछि सेन्ट क्लाउडका पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक सिन होल्मसले सातामा ५ दिन ट्रेनिङ गराइरहेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?