कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिलोपल्ट महिला क्रिकेटर वर्गीकरणमा

भरतपुर गार्डेन रिसोर्टमा बसेको बोर्ड बैठकले मंगलबार अनुमोदन गरे पनि खेलाडीले जनवरीदेखिको नै तलब पाउने छन् । क्यानका कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा रहेको आर्थिक समितिले साउन ९ गते कार्यसमितिमा प्रस्तुत गरेको खेलाडी वर्गीकरणको खाकालाई बोर्ड बैठकबाट पारित गरिएको हो ।
विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले इतिहासमै पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई वर्गीकरणमा राखेको छ । क्यानको चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय खेलाडीमा पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो ।

पहिलोपल्ट महिला क्रिकेटर वर्गीकरणमा

पुरुष राष्ट्रिय क्रिकेटर यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा रहेर मासिक तलब बुझ्दै आए पनि महिला खेलाडी वर्गीकरणमा परेको थिएन ।

क्यानले गरेको वर्गीकरणमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेसहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी ग्रेड ‘ए’ मा परेका छन् । ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ग्रेड ‘बी’ मा तथा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले ग्रेड ‘सी’ मा छन् ।

ग्रेड ‘ए’ मा परेकाले १५ हजार, ग्रेड ‘बी’ मा परेकाले १२ हजार र ग्रेड ‘सी’ मा परेकाले १० हजार मासिक तलब पाउने बोर्ड बैठकले निर्णय गरेको छ ।

मंगलबार भरतपुर गार्डेन रिसोर्टमा बसेको बोर्ड बैठकले अनुमोदन गरे पनि खेलाडीले जनवरीदेखिको नै तलब पाउने छन् । क्यानका कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा रहेको आर्थिक समितिले साउन ९ गते कार्यसमितिमा खेलाडी वर्गीकरणको प्रस्तुत खाकालाई बोर्ड बैठकबाट पारित गरिएको हो ।

पुरुषतर्फको वर्गीकरणमा भेट्रान वसन्त रेग्मीलाई ग्रेड ‘ए’ मा ल्याइएको छ । क्यानले तीन साताअघि २०१९ भरको तलब प्रदान गर्दा नेपालका लागि सर्वाधिक विकेट लिने वसन्तलाई ग्रेड ‘बी’ मा राखेको थियो । वसन्तसहित राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, शरद भेषावकर, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी गरी ८ खेलाडी ग्रेड ‘ए’ मा छन् ।

ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ तथा ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रशिद खान, अविनाश बोहरा र कमलसिंह ऐरी छन् । पुरुषतर्फ ग्रेड ‘ए’, ग्रेड ‘बी’ र ग्रेड ‘सी’ का खेलाडीले क्रमशः ५०, ४० र ३० हजार मासिक तलब पाउने छन् । क्यानले यसै महिना पुरुष खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गरेको थियो ।

प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको तलब पाउने भएका छन् । सन् २०१६ देखि दुई वर्ष टमाटा नेपालका प्रमुख प्रशिक्षक थिए । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई निलम्बन गर्दा खेलाडीलाई आईसीसीमार्फत नै तलब दिँदै आएको थियो । त्यसमा प्रशिक्षक टमाटालाई खेलाडीको ग्रेड ‘सी’ अनुसार तलब तोकिएको थियो । टमाटाले त्यो अस्विकार्य भएको भन्दै तलब बुझेका थिएनन् । क्यानले टमाटालाई तत्कालीन अवस्थामा ग्रेड ‘ए’ का खेलाडीको बराबर तलब दिने निर्णय गरेको छ । जसअनुसार टमाटाले ३५ हजारका दरले दुई वर्षको तलब पाउने छन् ।

बोर्ड बैठकमा नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका बारेमा बृहत छलफलका क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक टमाटाले आफ्नो भनाइ राखेको एक क्यान पदाधिकारीले बताए । योजना बनाएर जानुपर्ने बताउँदै ज्ञानेन्द्रले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रक्षा गर्न आफूले बनाएको प्रतिबेदन क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍याललाई बुझाएका थिए । प्रशिक्षक टमाटाले एकदिवसीय मान्यता जोगाउन अहिलेदेखि नै गृहकार्य गर्नुपर्ने र त्यसका लागि १८ महिनामात्र भएको स्मरण गराएका थिए ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । चार वर्षको त्यो मान्यता २०२२ मा सकिनेछ । बोर्ड बैठकले क्यानको साधारणसभा असोज २८ र २९ गते सामान्य तरिकाले गर्ने निर्णय गरेको छ । स्थिति अनुकूल नभएमा भर्चुअलबाटै सभा गरिनेछ ।

कोभिड–१९ महामारीका कारण यसअघि नै हुने भनिएको क्यान साधारणसभा स्थगित भइसकेको छ । बैठकले २०७१/७२ देखि २०७५/७६ सम्मको वार्षिक लेखा परीक्षण पास गरेको छ ।

कोषाध्यक्ष रोशन सिंह संयोजक तथा सदस्यद्वय दुर्गाराज पाठक र छुम्बी लामालाई सदस्यमा तोक्दै क्यानले बिमा व्यवस्थापन समिति बनाएको छ । पुरुष र महिला राष्ट्रिय खेलाडी, क्यान कार्यालय कर्मचारी र मैदान कर्मचारीलाई बिमामा समेटिने कोषाध्यक्ष सिंहले बताए । साथै सडक दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको परिवारसँग सल्लाह गरी सहयोगबारेमा निर्णय गरिने उनले जनाए ।

कोरोनाका कारण अहिले सरकारले प्रशिक्षणका लागि अनुमति नदिएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्सँग सल्लाह गरेर प्रशिक्षण चाँडोभन्दा चाँडो सुरु गरिने भएको छ । राखेपसँग समन्वय गरी मंसिरमा प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

आईसीसीसँग समन्वय गरी डिसेम्बरमा एउटा त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखला गर्ने क्यानले जनाएको छ । क्यानले कर्णाली प्रदेश प्रमुखमा पदम खड्कालाई चयन गरेको छ ।

अध्यक्ष चन्दबाहेक क्यान पदाधिकारीले मंगलबार भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निरीक्षणका क्रममा सम्बन्धित व्यक्तित्व सीताराम कट्टेल र कुञ्जना घिमिरेसँग सुझाव लिएका थिए ।

‘हराइरहेको’ टोयोटा कार

नेपालले सन् २०१४ मा बंगलादेशमा विश्व ट्वान्टी–२० मा प्रतिस्पर्धा गरेको थियो । यो नेपालले खेलेको पहिलो विश्वकप पनि थियो । त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई वैद्य अर्गनाइजेसनका प्रमुख सुरज वैद्यले एउटा टोयोटा कार दिने घोषणा गरेका थिए ।

पहिलो पटक विश्वकप खेल्नेक्रममै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गर्‍यो । बंगलादेशसँग पराजित भएको नेपालले पहिलो चरण पार गर्न नसके पनि प्रदर्शनीबाट वाहवाही लुटेको थियो । सोही ट्वान्टी–२० मा विश्वकपमा गरेको प्रदर्शनका आधारमा नेपालको तर्फबाट सबैभन्दा उत्कृष्ट खेलाडी भनि वैद्य अर्गनाइजेसनले पारस खड्कालाई मनोनीत गरे पनि ८ वर्ष बितिसक्दा पारसले अझै टोयोटा कार पाएका छैनन् ।

क्यानको बोर्ड बैठकले त्यो टोयोटा कारको खोजी गर्ने निर्णय गरेको छ । ‘२०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेवापत पारस खड्कालाई दिने भनिएको टोयोटा कार अझै पाइएको छैन । क्यानले त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भएको छ,’ क्यानका एक पदाधिकारीले भने ।

प्रकाशित : आश्विन ७, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?