साइकलमा सरर...- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकलमा सरर...

कोरोना महामारीयता अक्टोबर १ देखि लिग वान पुनः सुरु हुँदैछ र त्यसका लागि फुटबलर रोहित चन्द मंगलबार जकार्ता जाँदै छन् । नेपालमा रहँदा उनको पाइडल मोह एकदमै रह्यो । त्यसको मुख्य कारण फिटनेसमा ध्यान दिनु थियो । त्यसो त उनी चार वर्षअघि घुँडाको शल्यक्रिया गरेयता साइकल क्रेजी भइसकेका थिए ।
राजु घिसिङ

काठमाडौँ — इन्डोनेसियाको माथिल्लो डिभिजनको फुटबल लिग वान भर्खरै सुरु भएको थियो । ठीक त्यसैबेला कोरोना भाइरस फैलिन थाल्यो, महामारी नै बन्यो । त्यसैले तेस्रो चरणको खेल सम्पन्न नहुँदै लिग स्थगित भयो र फेरि कहिले सुरु हुने पत्तो थिएन ।

पर्सिजा जकार्ताबाट खेलिरहेका नेपाली मिडफिल्डर रोहित चन्द बडो अप्ठ्यारोमा परे । उता कोरोना संक्रमण बढेको बढ्यै भए पनि सहर खुलै थियो । यता नेपालमा सरकारले लकडाउन घोषणा गरिसकेको थियो । तीन महिना उतै थन्किए । बिना खेल, बिना ट्रेनिङ अपार्टमेन्टमा बिताए । बल्ल नेपालमा लकडाउन खुलेपछि अनेक तिकडम लगाएर स्वदेश आइपुगे असार १२ मा ।

रोहितले स्वदेश ओर्लंदै राहतको श्वास फेर्न थालिसकेका थिए । उनी बूढानीलकण्ठको घरमा त्यत्तिकै बसेनन् । शारीरिक रूपमा फिट हुनका लागि कहिले के, कहिले के गरिरहे । अनि साथीको साइकल लिएर निस्किरहे राजधानी चक्कर लगाउन । यो क्रम एक दिन होइन, दुई दिन होइन, दैन्दिनजसो नै चल्यो । कहीं साथीभाइ भेट्नुपर्यो भने पनि साइकलमै हुइँकिन थाले । उनको पाइडल मोहको मुख्य कारण फिटनेसमा दिइएको ध्यान नै हो । त्यसो त उनी चार वर्षअघि घुँडाको शल्यक्रिया गरेयता साइकल क्रेजी भइसकेका थिए ।

रोहितले बाक्लै मास्क लगाएर साइकलमा सहरका गल्लीगल्ली चक्कर लगाएको स्टोरिज इन्स्टामा आउन थाल्यो । कहिले तारेभीर, कहिले नगरकोट, कहिले साँगा त कहिले जगडोलको झन्डा चोक पुगिरहे । कंक्रिटले ढाकिएको सहरभित्रका गल्लीहरूको चक्कर लगाइरहे । सहरभित्रको चक्करमा उनले औसत दैनिक २५–३० किमि साइकल हाँकिरहे । उनले ७०–८० किमि पनि कुदाउन थाले । उनलाई साथ दिइरहेका हुन्थे अरु फुटबलरहरू विशाल श्रेष्ठ, सरोज दाहाल, सुवास गुरुङ, सुजल श्रेष्ठ र कपिल ढकाल । सुरुमा एक्लै कुदाइरहेका उनको साथीहरूले पनि साइकल जुटाएपछिको ध्यान लामो दूरीतर्फ मोडियो ।

एक दिन रोहितलाई यस्तो जोस चल्यो कि साइकलमै दोलालघाट पुगेर घर फर्कने । सरकारले निषेधाज्ञा लागू गर्नुभन्दा ठीक अघिल्लो दिनको योजना काभ्रेमा गरिएको लकडाउनले सफल हुन दिएन । तर, उनी सरोजलाई लिएर बूढानीलकण्ठबाट साँगातिर हुइँकिए । त्यसपछि फुल्चोकी जान खोजेका थिए तर साढे २ किमि चढ्दा रात पर्न थालेपछि फर्किए । फर्केर सहरभित्र पनि निक्कर चक्कर लगाए । करिब सात घण्टा पाइडल चलाइएको त्यो दिन उनको साइकल कुदाइको दूरी बन्यो १०३ किमि ।

साइकलमा यस्तो मरिहत्ते किन त ? स्वदेश फर्केपछि दुई साता ‘होम क्वारेन्टाइन’ बसेर निस्कन थालेका रोहितले भने, ‘फिटनेस मेन्टेन हुन्छ कि भनेर साइक्लिङ गरेको । कतै जानपरे पनि साइकलमै जान्छु ।’

पाइडलको गतिले मात्रै फुटबल खेलाडीका लागि चाहिने फिटनेस पुग्छ त ? ‘सामान्य फिटनेसलाई कायम राख्न हुन्छ कि भनेर साइक्लिङ गरेको हुँ तर यसले म्याच (फुटबल खेल) लाई चाहिने फिटनेस चाहिँ पुग्दैन । खुट्टा बलियो भएको महसुस भने हुन्छ,’ उनले भने, ‘हामीले मैदानमा जस्तो गर्छौं त्यस्तो साइक्लिङमा हुँदैन । साइक्लिङ शरीरको तल्लो भागमा केन्द्रित हुन्छ, यसले फुटबल खेलाडीलाई पुग्दैन ।’

एउटा व्यावसायिक फुटबल खेलाडीले फिटनेसलाई चाहिने के गरिरहेको छ त ? जवाफ दिए, ‘अरु त्यस्तो खासै केही गरेको छैन । मैदानमा खेल्न सरकारले दिएको छैन । कहिलेकाहीं फुटसल खेलिरहेको छु । क्रिकेट पनि । फुटबल ठूलो मैदानमा हुन्छ, फुटसल सानो मैदानमा । तर, सानो मैदानमै भए पनि फुटसलले फुटबलमा हुने मुभमेन्टका लागि फिटनेसलाई सहयोग गर्छ ।’ घरमै शारीरिक अभ्यासलाई निरन्तरता दिइरहें । थेरापीमा गर्ने व्यायाम र हल्का जिमका लागि डम्बेल पनि उचालिरहे । ‘सामान्य हो, त्यस्तो चर्को होइन,’ उनले हाँस्दै भने, ‘फिटनेसलाई धेरथोर पुग्ने ।’

महामारीका बेला स्वदेश फर्कन नपाएपछि तीन महिनाको जकार्ता बसाइको अनुभव सुनाए, ‘लकडाउन थिएन, बेलुका–बेलुका हल्का दौड्नथें । हल्का ड्रिल गर्थें । छोटो दूरीमा छिटोछिटो दौडिएँ पनि । आफैं व्यायाम गर्थें ।’ महामारीको बेला जकार्ता र काठमाडौंको बसाइमा के फरक रह्यो ? ‘शरीरको तौल पहिला नापेको थिएन, अहिले पनि छैन तर बढेको छैन,’ उनले भने, ‘जकार्ताको अपार्टमेन्टमा तीन महिना बस्दा दैनिकी नै फेरिएको थियो । न खेल्न न त ट्रेनिङ । केही गर्न पाएको थिएन । खाने, सुत्ने, ढिला उठ्ने बानी भयो । बिहानको आफैं कचरपचर खान्थें, बेलुका आफैंले खाना पकाएर खान्थें । आफैं खाना बनाउन लायक भएँ । यहाँ (काठमाडौं) आएपछि परिवारसँग धेरै सजिलो भएको छ । इन्ज्युरी भएका बेला (सन् २०१६) ९–१० महिना बसेको थिएँ, त्यसयता सबैभन्दा धेरै समय घर बसेको यसैपालि हो ।’

नेपाली फुटबलमा मिहिनेती खेलाडीको पहिचान बनाएका रोहितले कहिलेदेखि सधैं फिट हुने तयारी गरे त ? भन्छन्, ‘पहिलेदेखि हो, एकेडेमीमा हुँदा नै जब फुटबलमा लाग्नुपर्छ भन्ने भयो तब फिट हुनुपर्छ भनेर मिहिनत गर्न थालेको । म्याचका लागि आफू सधैं फिट हुनुपर्छ जस्तो लाग्छ । मैले जति सकिन्छ प्रयास गर्दै गरिरहेको छु । पहिलादेखि नै एक्स्ट्रा इफोर्टको प्रयास गरिरहें ।’

एक दशकअघि मछिन्द्र क्लबबाट करिअर सुरु गरेपछि भारत र इन्डोनेसियाको लिगमै व्यस्त रहेका उनले फिटनेसलाई लिएर अहिलेका नेपाली फुटबलरमा पनि सोच परिवर्तन भएको पाएँ, ‘धेरै नेपाली खेलाडीले अहिले घरमै आफैं ट्रेनिङ गरिरहेको मैले पाएँ । त्यसैले अहिले हाम्रा खेलाडीको सोच परिवर्तन भएछ । कतिखेर के हुन्छ थाह हुँदैन, आफूलाई मेन्टेन (फिटनेस) गर्नुपर्छ भन्ने अहिलेका धेरै खेलाडीमा पाएँ ।’

उनी चार वर्षयता स्वदेश फर्कंदा साइकलमै रमाइरहेका भेटिन्छन् । ‘प्रायः साइकल नै कुदाउँछु,’ २८ वर्षीय रोहितले भने, ‘सानै छँदादेखि नै साइकल चलाउन थालेको हो । इन्ज्युरीपछि धेरै चलाउन थालें । साथी (सुविन भण्डारी) को प्रयोग नभइरहेको साइकल हाँकिरहेको छु ।’

खेलाडीमा निरासा

कोभिड–१९ कै कारण विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्ध नेपालको खेल स्थगित भयो । यसबारे रोहितले भने, ‘फुटबल ठप्प हुँदा सबैले खेलाडीलाई गाह्रो भएको छ । ए डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडीलाई समस्या परेको छ । विश्वकप छनोटको खेल भइदिएको भए फुटबलको माहोल कायमै हुन्थ्यो होला । अहिले ट्रेनिङ पनि छैन, सरकारले खेल्न दिएको छैन । त्यसैले सबै खेलाडी निरास अवस्थामा छन् ।

छैन लिगको रौनक

रोहितको क्लब पर्सिजाले यो सिजन दुई खेलमात्र खेलेको छ, ३२ खेल बाँकी छ । कोरोना महामारीयता अक्टोबर १ देखि लिग वान पुनः सुचारु हुँदै छ र त्यसका लागि रोहित मंगलबार जकार्ता जाँदै छन् । लिग वान होम एन्ड अवेका आधारमा हुन्छ । तर, कोभिड–१९ को कारण बाँकी खेल एउटै क्षेत्रमा खेलाउने इन्डोनेसियन फुटबल महासंघले निर्णय गरेको छ । पर्सिजा लिग वान २०१८ को च्याम्पियन हो र त्यो सिजन लिगकै सर्वोत्कृष्ट खेलाडी भएका थिए रोहित । त्यो सिजन पर्सिजाले एसियाली खेलकुदको मुख्य आयोजनास्थल बुङकार्नो रंगशाला भएकाले अधिकांश घरेलु खेल बान्तुलमा खेलेको थियो, यसपालि पनि बाँकी खेल त्यही खेल्दै छ ।

अबका खेलहरू जाभा आइल्यान्डका चार रंगशालामा हुनेछन् । जाभा बाहिरका टिमले यन्कारामा खेल्नेछन् । पर्सिजा जाभाकै टिम हो तर उसले जकार्तास्थित झन्डै ७७ हजार दर्शक अटाउने गेलोरा बुङकार्नो (घरेलु मैदान) मा खेल्न पाउने छैन । खेल दर्शकबिना हुनेछ । ‘अहिलेसम्म बिनादर्शक खेलेको छैन तर कम दर्शकमा खेलेको छु,’ रोहितले भने, ‘अब खाली रंगशालामा खेल्दै छौं । हजारौं दर्शकसामु खेलिरहेको हामीलाई बिनादर्शक खेल्दा अलि गाह्रो त हुन्छ होला । दर्शक मिस त पक्कै हुनेछ ।’

‘केही क्लबले त ट्रेनिङ सुरु गरेको पनि छैन । कोभिड–१९ को प्रभावले लिगको त्यति रौनक पनि छैन,’ चोट लागेको एक सिजनबाहेक आठ वर्षयता निरन्तर इन्डोनेसियन लिग खेलिरहेका रोहितले सुनाए, ‘हामीलाई तलब पनि अहिले २५ प्रतिशतमात्रै दिइरहेको छ । गेम भयो भने ५० प्रतिशत दिने भनेको छ । त्यहाँको फुटबल महासंघले खेलाडीको ५० प्रतिशत तलब कटौती गर्ने भनेपछि १०–११ जना विदेशी खेलाडीले लिग नै छाडेर विकल्प हेरिरहेका छन् ।’

कोभिड–१९को प्रभावअघि अक्टोरबरमा सकिने तोकिएको लिगमा तीन टिम रेलिगेसनमा पर्ने नियम थियो । तर, अब लिग फेरि सुचारु हुँदा रेलिगेसनको व्यवस्था हटाइएको छ, कुनै पनि टिम लिग टुमा झर्ने छैन । हरेक क्लबले यू–१९ का तीन खेलाडी टिममा राख्नुपर्ने नियम लागू गरिएको छ । इन्डोनेसियाले यू–२० विश्वकप २०२१ आयोजना गर्दै छ र त्यसैको तयारीमा उसले युवा खलाडीको लागि नयाँ नियम ल्याएको हो ।

फेरि च्याम्पियनको आस

एघारपल्टको लिग च्याम्पियन पर्सिजा इन्डोनेसियाकै सबैभन्दा सफल क्लब हो । डिफेन्डिङ च्याम्पियन भए पनि २०१९ को सिजन अनपेक्षित रूपमा दसौं स्थानमा रहेको पर्सिजाले इटालियन महारथी युभेन्ट्स र एएस रोमाका पूर्वडिफेन्डर मार्को मोटालाई भिर्‍याएर फेरि च्याम्पियन बन्ने योजना बनाएको थियो २०२० मा । फेब्रुअरी अन्त्यमा सुरु भएको यो सिजन पर्सिजाले एक जित र एक बराबरी खेल्दै कोभिड–१९ ले रोकिदियो ।

पाँचौंपल्ट कोरोना परीक्षणको नतिजा लिएर रोहित मंगलबार जकार्ता फर्किंदै छन् । मोटा स्पेनमा रोकिएका छन् । क्रोएसियन फरवार्ड मार्को सिमिक र डच मिडफिल्डर मार्क क्लोकले भने जकार्ता फर्केर टिमसँगै अभ्यास गर्न थालिसकेका छन् । रोहितका अनुसार क्लबको ट्रेनिङ सुरु भएको एक महिना भइसक्यो । इन्डोनेसियाले नेपाललाई ‘रेड जोन’ मा राखे पनि पीसीआर रिपोर्ट लिएर गएपछि अरुले जस्तै एक–दुई दिनमै टिमसँगै ट्रेनिङ गर्न पाउने रोहितले आस गरेका छन् ।

यसपालिको क्लबको योजनाबारे उनले भने, ‘पर्सिजाले सबै विदेशी खेलाडीलाई निरन्तरता दिएको छ । त्यसैले हाम्रो क्लबको लक्ष्य च्याम्पियन हुने नै हो जस्तो लाग्छ ।’ कोरियन क्लब पोहाङ स्टिलर्सलाई एएफसी च्याम्पियन्स लिग २००९ को विजेता बनाएका ब्राजिली प्रशिक्षक सर्जियो फारियस यो सिजन पर्सिजा सम्हाल्न जकार्ता पुगेका थिए । तर, उनी कोभिड–१९ कै कारण परिवारमा समस्या भएपछि गत साता ब्राजिल फर्किए । त्यसैले उनका सहायक सुधिरमानको नेतृत्वमा फेब्रुअरीसम्म चल्ने लिगमा पर्सिजा मैदानमा उत्रिनेछ ।

प्रकाशित : आश्विन ६, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारी जोगाउन वडाध्यक्षकै पञ्‍चायती

लक्ष्मी साह, अवधेशकुमार झा

बारा, सप्तरी — बारामा जनप्रतिनिधिले नै पञ्चायती गरेर बलात्कारको घटनालाई लुकाउने प्रयास गरेको खुलेको छ । सुवर्ण गाउँपालिका–५ औरैया गाउँमा गत बिहीबार १२ वर्षीया बालिकामाथि बलात्कारको घटना भयो । एक युवकमाथि आरोपित थिए । घटना लुकाउन त्यहाँका वडाध्यक्ष रामएकवाल साह कलवारसहितको टिम लागिपरे ।

बस्तीभन्दा पर रहेको गोठमा बसेका परिवारका सदस्यलाई बेलुकीको खाना खुवाएर फर्किंदै गर्दा ती बालिकालाई युवकले बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष बयान नै दिएकी छन् । घटनाको तेस्रो दिन गत शनिबार वडाध्यक्ष कलवारले पञ्चायती गरेर ढाकछोप गर्न खोज्दा विवाद चुलियो । युवाको समूहले ५० वर्षीय वडाध्यक्ष कलवारमाथि पञ्चायतीमै हातपात गरे । वडाध्यक्ष कलवार त्यहाँबाट भाग्नु पर्‍यो । बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

वडाध्यक्ष कलवारले पनि आफूलाई दुर्व्यवहार गरेको भन्दै गाउँका केही युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएका छन् । ‘वडाध्यक्षबाट आएको जाहेरी दर्ता गर्ने/नगर्ने विषयमा छलफलसँगै घटनाको तथ्य केलाउँदै छौं,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले भने ।

गाउँमा यतिबेलाको विवाद पीडित बालिकालाई न्याय दिलाउनुको साटो पञ्चायती बिथोलेको भन्नेमा छ । पीडित बालिकाका अभिभावकले वडाध्यक्षसँग पीडितविरुद्ध प्रहरीमा उजुरी गरेर कानुनी प्रक्रिया अघि बढाइदिन मद्दत माग्न गएका थिए । उनीहरूले गम्भीर घटनाका लागि पञ्चायती गर्नु अनुचित भएको बताएका थिए । वडाध्यक्षले पीडिकलाई जोगाउन घटना दबाउने प्रयास गरेपछि पञ्चायतीमै दुई पक्षबीच विवादसँगै झडप भएको गाउँले बताउँछन् ।

स्थानीय विनोदप्रसाद यादवका अनुसार वडाध्यक्ष कलवारले शुक्रबार रातिसम्म बलात्कार पीडितलाई १ लाख ५० हजार पीडकबाट दिलाएर घटना मिलाउने प्रयास गरेको आरोप लगाए । ‘छोरी बलात्कृत भइन् तर वडाध्यक्षले चार दिनसम्म हामीलाई अल्मल्याए,’ बालिकाका बाबुले भने, ‘वडाध्यक्षले नै न्याय देला भनेर आशा गरेका थियौं ।’ वडाध्यक्ष कलवारले भने आफूसित कारबाही गर्न सिफारिस माग्दा नदिएपछि गाउँका युवकहरूले कुटपिट गरेको दाबी गरे । ‘उनीहरूले यो दिनुस, त्यो दिनुस् भन्छन्, नदिएपछि बलात्कारको घटनाको निहुँ बनाएर कुटपिट गरे,’ उनले भने, ‘मैले मिलाउन खोजेकै होइन ।’ पीडितकै न्यायका लागि छलफल गर्न समय मागेको र उनीहरूले समय नदिएर कुटपिट गरेको उनको भनाइ छ । बलात्कारको घटना भएको खबर आएपछि आफूले नै प्रहरीमा खबर गर्न भनेको दाबी उनको छ । ‘पीडितले प्रहरीलाई खबर गर्न मानेका थिएनन्,’ उनले भने, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ भनेर पञ्चायती गरिदिनुस् भनेर मकहाँ आएका थिए ।’

वृद्धा कुटिँदा पनि मिल्न दबाब

सप्तरीको तिरहुत गाउँपालिका–५ बुधेवाकी ७० वर्षीया शान्तिदेवी सेठलाई साउनको अन्तिम साता छिमेकमा बस्ने बाबुछोरा मिलेर कुटपिट गरे । छोराबुहारी राजविराज बसिरहेकाले गाउँको घरमा एक्लै बस्दै आएकी सेठले छिमेकीबाटै कुटिएपछि प्रहरी कार्यालयमा उजुरी दिइन् । आरोपितलाई प्रहरीले पक्राउ गरेको छैन । सेठलाई गाउँकै लोहजरास्थित प्रहरी चौकीमा गएर पञ्चायती गर्न प्रहरीले नै दबाब दिइरहेको छ । ‘कुटपिट गर्नेहरू गाउँका शक्तिशाली छन् । पञ्चायतीबाट न्याय पाउन सक्दिनँ भनेर नै प्रहरीमा उजुरी दिएँ । तर, पञ्चायती गर्न गाउँ जाऊ भनेर प्रहरीले नै दबाब दिइरहेका छन्,’ पीडित सेठले भनिन् ।

हुलाकी राजमार्गअन्तर्गत नक्साविपरीत काम भएर आफ्नो जग्गा मिचिएको भन्दै बोदेबरसाइन नगरपालिका–९ का नरेन्द्रनारायण साहुले उच्च अदालत राजविराजमा परमादेश माग्दै निवेदन दिए । अदालतले उनको पक्षमा परमादेश निषेधाज्ञा जारी गर्‍यो । उच्चको आदेश लिएर उनी निर्माणस्थलमा जाँदा कुटिए । घटनाको तीन महिनायता उनी प्रहरी कार्यालयमा कुटपिट गर्नेमाथि कारबाही गरियोस् भन्दै धाइरहेका छन् । ‘प्रहरीले पञ्चायतीमाथि पञ्चायती गरिरहेको छ,’ उनले भने, ‘म कानुनी कारबाही माग्छु प्रहरीले पञ्चायती गर भन्छ ।’ यही मामिलामा मंगलबार फेरि पञ्चायती बोलाइएको छ ।

पीडितलाई पञ्चायतीका नाममा गलाउने दुष्प्रयास गर्न नहुने अधिकारकर्मी अनिता देवकोटाले बताइन् । उनले भनिन्, ‘पञ्चायती समाजले सामान्य विाद मिलाउन र गाउँले जुटेर काम गर्ने प्रयोजनका लागि हुनुपर्छ । तर गम्भीर प्रकृतिका मुद्दामा पनि पञ्चायती गर्न चर्को दबाब दिइएका उदाहरण छन् ।’

प्रकाशित : आश्विन ६, २०७७ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×