रोयल च्यालेन्जर्स बेंग्लोर विजयी- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

एजेन्सी

दुबई — रोयल च्यालेन्जर्स बेंग्लोरले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ६ विकेट गुमाउन पुगेपछि हैदराबाद पराजय भोग्न बाध्य भयो ।

१ सय ६४ रनको लक्ष्य लिएर आएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अलआउट भयो । युजभेन्द्र चाहलले ४ ओभरमा १८ रनमात्र खर्चेर ३ विकेट लिए । नवदीप सैनी र शिवम दुवेले २–२ तथा डेल स्टेयनले १ विकेट लिए । दुबई अन्तर्राष्ट्रिय रंगशालामा जोनी बेरस्टोको शटमा नन स्ट्राइकमा अर्का ओपनर एवं डेविड वार्नर रनआउट भएपछि नै हैदराबादको दुर्भाग्य सुरु भएको थियो । बलर उमेश यादवले फलो थ्रुमा बल रोक्न खोज्दा स्टम्पमा लागेपछि वार्नर ६ रनमा पेभेलियन फर्किए । मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउँदै बेरिस्टोसँग दोस्रो विकेटमा ७१ रन जोडे । चौथो नम्बरमा आएका प्रियम गर्गले १२ रन बनाएपछि अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि ट्वान्टी–२० मा डेब्यु गरिरहेका देवदत्त पाडिक्कल तथा भेट्रान दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बेंग्लोरले ५ विकेट गुमाई १ सय ६३ रन बनाएको थियो । ओपनर पाडिक्कलले ४२ बलमा ८ चौकासहित ५६ र डी भिलियर्सले ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पाडिक्कलले ओपनर आरोन फिन्चसँग पहिलो विकेटमा ११ ओभरमा ९० रन जोडे । फिन्चले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । कप्तान विराट कोहली १४ र शिवम दुबे ७ रनमा आउट भए । हैदराबादका विजय शंकर, अभिषेक शर्मा र टी. नटराजनले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

फेरि कोरोनाको ‘हटस्पट’ बन्दै बेलायत

सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले तत्काल भाइरसको संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्ममा दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् ।
नवीन पोखरेल

लन्डन — बेलायत फेरि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्ने देखिएको छ । भाइरसको संक्रमणबाट युरोपकै सबैभन्दा बढी प्रभावित बेलायतले पहिलो संकट सामना गर्न नभ्याउँदै दोस्रो लहरको अनुभवसमेत गरेको छ । सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटबाट टेलिभिजन सम्बोधन गर्दै भ्यालेन्सले यही अवस्था रहे नोभेम्बर मध्यसम्म दैनिक दुई सय जनाका दरले मृत्यु हुन सक्ने पनि बताए । संक्रमण बढेसँगै अस्पताल भर्ना हुने क्रम र मृत्युदर बढ्दै गएको उनले बताएका थिए ।

भ्यालेन्ससँगै रहेका सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्विटीले बेलायत अहिले कोरोना संक्रमणको अवस्था जटिल बिन्दुमा रहेको र गलत दिशातर्फ बढिरहेको चेतावनी दिए । अहिले प्रत्येक साता संक्रमित दोब्बर बढेका जनाउँदै बेलायतले जाडोयाममा धेरै चुनौती सामना गर्नुपर्ने उनले उल्लेख गरे । दुवै सल्लाहकारहरूले सरकारलाई बेलैमा कदम चाल्न सुझाव दिएका छन् ।

बेलायतमा आइतबार २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिएका थिए भने १८ जनाको मृत्यु भएको थियो । अहिले १ हजार ८१ जना अस्पतालमा छन् । बेलायतमा कुल मृतक संख्या ४१ हजार ७ सय ७७ पुगेको छ भने संक्रमित संख्या ३ लाख ९५ हजार बढी छ ।

बीबीसीका अनुसार, अहिले बेलायतमा ७० हजार जना संक्रमित छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सरदर दैनिक ६ हजार संक्रमित भइरहेको जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार बिहान कोभिड–१९ संक्रमण रोकथामका लागि कस्तो रणनीति लिने भन्नेबारे छलफल गर्न आपत्कालीन कोब्रा बैठक डाकेका छन् । उक्त बैठकपछि उनले हाउस अफ कमन्समा सम्बोधन गर्ने कार्यक्रम छ । उनले बेलायतमा थप प्रतिबन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ तर उनले दोस्रोपटक राष्ट्रिय लकडाउन गर्नुपरे त्यो अर्थतन्त्रका लागि ज्यादै अभिशाप हुने बताएका छन् । इंग्ल्यान्डमा सम्भवतः दुई साता ‘मिनी लकडाउन’ हुने चर्चा पनि छ ।

अहिले शैक्षिक संस्थान, पब, बार, रेस्टुरेन्ट खुलेकाले वयस्कहरू बढी संक्रमित भएका बताइएको छ । पब, बार बन्द गरे पनि धेरै हदसम्म कोरोना भाइरस संक्रमण रोकिने विश्वास कतिपय स्वास्थ्यविज्ञहरूको छ ।

इंग्ल्यान्डमा कस्तो प्रतिबन्ध लगाउने भन्नेबारे बेलायती मन्त्रीहरू छलफल गरिरहेका बताइएको छ । प्रधानमन्त्री जोन्सनले स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका नेताहरूसँग पनि बैठक गर्ने भएका छन् ।

नर्थ इस्ट इंग्ल्यान्ड अहिले बढी प्रभावित देखिएकाले सरकारले त्यस क्षेत्रमा एक अर्को परिवार भेट्न नमिल्ने गरी प्रतिबन्ध लगाएको छ । ग्रेटर म्यानचेस्टर, बर्मिङहम, ब्राडफोर्ड, ब्ल्याकबर्न, प्रेस्टन आदिमा अहिले एक परिवारले अर्को परिवारलाई भेट्न रोक लगाइएको हो । त्यहाँ पब, बार, रेस्टुरेन्ट राति १० बजेपछि निषेध गरिएको छ ।

उता, इंग्ल्यान्डमा ६ जनाभन्दा बढी जमघट गर्न नपाइने नियम अघिल्लो सातादेखि नै लागू भएको छ । सरकारले आउँदो २८ सेप्टेम्बरदेखि कोरोना भाइरस पोजिटिभ भएका व्यक्ति सेल्फ आइसोलेसनमा नबसे १ देखि १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने घोषणा गरिसकेको छ ।

नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजू बेलायत सरकारले बेलैमा कडाइ गर्नुपर्ने सुझाउँछन् । ‘योपटक पहिलेको अनुभवले गर्दा धेरै क्षति नहुन पनि सक्छ,’ उनको भनाइ छ, ‘दोस्रो लहर आउँछ भन्ने थाहा भएकाले पनि मानिस अलिक बढी सचेत देखिएका छन् । तर यसलाई नजरअन्दाज भने गर्न सकिन्न । हामी आफैंले सतर्कता अपनाउन जरुरी छ ।’

दोस्रो लहरले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई फेरि भार थेग्न गाह्रो हुन सक्ने उनको चिन्ता छ । बेलायतले कोभिड– १९ संक्रमण फैलिएपछि पीपीई र भेन्टिलेटर अभाव खेपेको थियो । सरकारले ८ हजार भेन्टिलेटर मगाए पनि जुन १० सम्म जम्मा ५ हजार जति मात्र आएपछि पर्याप्त नभएको भन्दै आलोचना भएको थियो । कोभिड–१९ का कारण कैयौं चिकित्सक, नर्सहरूले पनि ज्यान गुमाएका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×