२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आइसोलेसनमा पनि ट्रेनिङ छाडिनन् रग्बी कप्तान एलिसाले

कोरोना संक्रमणपछि तीन साता आइसोलेसनमा बिताएकी एलिसाको तेस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
राजु घिसिङ

काठमाडौँ — राष्ट्रिय रग्बी टिम (महिला) की कप्तान एलिसा थापालाई भदौ दोस्रो साता कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो । कोरोनाको लक्षण देखिएकाले पीसीआर रिपोर्ट आउनुअघि नै उनी अलग्गै (आइसोलेसन) बस्न थालिसकेकी थिइन् । तर, उनी संक्रमणको अवस्थामा पनि चुप बसिनन् । एक्लै भए पनि रग्बीको ट्रेनिङलाई निरन्तरता दिइरहिन् । खेल र व्यायाम जारी राख्दै उनी तीन सातापछि कोरोनामुक्त भएकी छन् ।

आइसोलेसनमा पनि ट्रेनिङ छाडिनन् रग्बी कप्तान एलिसाले

‘मलाई त्यस्तो गाह्रो भएन,’ २९ वर्षीया एलिसाले भनिन्, ‘साधारण रुघाखोकी वर्षमा एक–दुईपल्ट आउँथ्यो । मलाई त्यस्तै लाग्यो ।’ उनी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङकी स्वकीय सचिव पनि हुन् । तामाङ र उनका छोरा कोरोनामुक्त भएकै दिन एलिसाको नतिजा पोजिटिभ आएको थियो । हेटौंडामा उनीहरूसँगै बसिरहेकी एलिसाले भनिन्, ‘कोरोनाको लक्षण देखिन थालेपछि आइसोलेसनमा बसें, अरू कसैसँग नजिक भइनँ । घरमै अरूलाई संक्रमण भएकाले आफूलाई पनि हुन सक्छ भनेर मानसिक रूपमा तयार थिएँ ।’

शारीरिक रूपमा निकै बल लगाउनुपर्ने खेल हो रग्बी । ट्रेनिङमा पनि उत्तिकै मेहनत गर्नुपर्छ । रग्बी खेल्न गाह्रो कि कोरोना भाइरसलाई पन्छाउन ? ‘कोरोना र रग्बी दुवै चुनौतीपूर्ण लाग्यो,’ एलिसा भन्छिन्, ‘मलाई शरीरमा अरू त्यस्तो केही समस्या नभएको र नियमित व्यायाम गरिहेकाले होला, गाह्रोचाहिँ भएन । साधारण रुघाखोकीलाई जस्तै कोरोनालाई सजिलै जित्न सफल भएँ ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ की एलिसा उपसभामुखको स्वकीय सचिव भएसँगै हेटौंडास्थित उपसभामुख निवासमै बसिरहेकी छन् । कोरोना पोजिटिभ देखिएपछि पनि बिहान–बेलुकी निवासपरिसरमै एक–एक घण्टा हिँड्ने र थप आधा–आधा घण्टा रग्बी बलसहित एक्लै अभ्यास गरेको उनले बताइन् । ‘एक्लै अभ्यास गर्दा टिमको अभाव महसुस त हुन्छ नै, तर मलाई जस्तोसुकै अवस्थामा आफूलाई खेलका लागि शारीरिक रूपमा फिट हुनु थियो र त्यसैका लागि एक्लै अभ्यास गरें,’ एलिसाले भनिन् ।

कोरोना संक्रमितहरू कोभिड–१९ ले भन्दा सामाजिक दुर्व्यवहारबाट बढी पीडित भइरहेका छन् । यस्तो अवस्थामा तीन साता आइसोलेसन बसेकी उनले भनिन्, ‘म व्यायाम गर्न निस्केपछि सबै छिमेकी भाग्थे । म हिँड्ने बाटोमा ‘नआऊ’ भनेको सुनें । अरूले डर मान्थे । मैले एक्सरसाइज गरेको देखेर डराउँथे । तर, त्यस्तो आत्तिनुपर्ने होइन ।’ यो महामारीकै बेला भएको रग्बीका अनलाइन कोर्सहरूमा पनि उनी आइसोलेसनमै छँदा सहभागी भएकी थिइन् ।

नेपाली महिला रग्बी टिमले प्रतिस्पर्धा गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, एसिया रग्बी वुमेन्स सेभेन्स ट्रफी । सन् २०१६ मा चेन्नईमा भएको प्रतियोगितामा रस्ना गुरुङले कप्तानी गरेको नेपाली टिमकी उपकप्तान थिइन् एलिसा । त्यसपछि त्यही प्रतियोगिता नेपालले लाओस (२०१७) र ब्रुनाई (२०१८) मा खेल्यो । उनी पछिल्ला यी दुवै संस्करणमा नेपाली टिमकी कप्तान भएकी थिइन् । तीनै संस्करणमा नेपालले एक–एक खेल जित्नुका साथै ‘टाई’ पनि गरेको थियो ।


उनी उपसभामुखको स्वकीय सचिव भएदेखि प्राय हेटौंडामै बस्दै आएकी छन् । ‘काममै व्यस्त भएकाले टिमसँग निरन्तर ट्रेनिङ गर्न पाएको छैन तर व्यक्तिगत रूपमा भए पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘यहीँ (हेटौंडा) रग्बीको अभ्यास गर्न तीनवटा स्कुल र एउटा कलेजसँग लकडाउनअघि नै कुरा गरेकी थिएँ । उनीहरू रग्बी खेल्न तयार छन् । अब महामारीपछि सुरु गर्नेछौं ।’ पाँच वर्षअघि रग्बीमा प्रवेश गरेकी उनी सन् २०१७ मा गठित नेपाल महिला रग्बी क्लबकी अध्यक्ष पनि हुन् ।

कोरोना फैलिएकै बेला एलिसा कामकै सिलसिलामा उपसभामुख तामाङसँग नुवाकोटको निर्वाचन क्षेत्र १ (क) पुगेकी थिइन् । त्यहाँका स्वास्थ्य संस्था र प्रहरीलाई आवश्यक सामग्री पुर्‍याउन चारपल्टसम्म पुगेकी उनको त्यही क्रममा पार्टी कार्यकर्ता, नेतासँग भेटघाट भइरहेको थियो । काठमाडौं जाँदा पनि भेटघाट जारी थियो । दुप्चेश्वर–६ का वडाध्यक्ष किशोर आचार्यलाई कोरोनाको लक्षण देखिएपछि जाँच्दा पोजिटिभ भेटिए । त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा उपसभामुखको परिवारसहित टिम (६ जना) को परीक्षण गरिएको थियो । त्यस बेला उपसभामुख तामाङ र उनका छोरालाई पोजिटिभ देखिए पनि अरूको नतिजा नेगेटिभ आएको थियो ।

‘उहाँ (उपसभामुख) को कोरोना रिपोर्ट आउन तीन दिन लाग्यो, परीक्षण नै दुईपल्ट गरे,’ कोरोना संक्रमणबारे एलिसाले भनिन्, ‘त्यस बेलासम्म धारा, बाथरुम, किचेन एउटै प्रयोग गरेका थियौं । उहाँको रिपोर्ट पोजिटिभ आएपछिमात्रै बेग्लै बस्यौं । उहाँ आइसोलेसनमा बस्नुभयो । खाना दिँदा पनि २ मिटरको दूरी कायम राख्यौं ।’ उनले थपिन्, ‘मलाई भदौ ९ गतेदेखि दुई दिन १ सय डिग्री (सेल्सियस) माथि ज्वरो आयो । अनि बेग्लै बस्न थालें । भदौ १२ गते हामी ६ जनाको टेस्ट गर्दा उपसभामुखसहित अरूको रिपोर्ट नेगेटिभ आयो, मेरो मात्रै पोजिटिभ ।’

उपसभामुख तामाङ संक्रमणमुक्त भएको दुई दिनपछि नै बाढीपीडितलाई राहत वितरण गर्न नुवाकोट पुगिन् भने एलिसाले भदौ २२ मा फेरि परीक्षण गराइन् । रिपोर्ट पोजिटिभ नै आयो । तर, उनी आत्तिइनन् । गत शनिबारको रिपोर्ट भने नेगेटिभ आएको छ । ‘दुईपल्ट पोजिटिभ देखिएपछि आइसोलेसनमा धेरै बस्नुपर्‍यो तर मलाई कुनै समस्या भएन,’ उनले भनिन्, ‘नयाँ जीवन पाएकी छु । जोस–जाँगर बढेको छ ।’

प्रकाशित : आश्विन ५, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?