सुपर ओभरमा दिल्ली विजयी

एजेन्सी

दुबई — दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबारको रोमाञ्चक खेलमा किंग्स इलेभन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । १ सय ५८ रनको विजय लक्ष्य लिएर आएको पन्जाबले ८ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सकेपछि निर्णय सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा दिल्ली विजयी

अन्तिम ओभरमा पन्जाबलाई विजयका लागि १३ रन चाहिने अवस्थामा मायंक अग्रवाल एक्लैले पहिलो ३ बलमा १२ रन बनाएका थिए । चौथो बलमा उनले कुनै रन बनाउन सकेनन् । अन्तिम दुई बलमा मार्कुस स्टोइनिसले अग्रवाल र क्रिस जोर्डनलाई आउट गरेपछि स्कोर बराबर (१५७) भएर सुपर ओभरमा पुगेको थियो ।

इलिमिनेटरमा दिल्लीका कागिसो राबाडाले पन्जाबका कप्तान केएल राहुललाई २ रनमा आउट गरे भने अर्को बलमा निकोलस पूरनलाई बोल्ड गरे । दिल्लीले ३ रनको लक्ष्य तेस्रो बलमै पूरा गरेको थियो ।

अग्रवालले ६० बल खेली ७ चौका र ४ छक्का प्रहार गर्दै ८९ रन बनाएर खेललाई अन्तिम ओभरको रोमाञ्चक अवस्थामा

पुर्याएका थिए । राहुलले २१ र कृष्णप्पा गोवथमले २० रन बनाए । करुण नैर १, पूरन शून्य, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । छैटौं ओभर बलिङमा आएका रविचन्द्रन अश्विनले एकै ओभरमा नैर र पूरनलाई आउट गरेका थिए । तर काँधको चोटपछि उनले मैदान छाडेका थिए । उनीसँगै राबाडा र स्टाइनिसले पनि २–२ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको दिल्लीले दुबई अन्तर्राष्ट्रिय रंगशालामा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन ब्याट्सम्यान स्टाइनिसले अन्तिम समयमा आक्रामक खेलेपछि दिल्लीको हेर्नलायक स्कोर बनेको थियो । उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । उनी १५ औं ओभरमा ब्याटिङमा आएका थिए र दिल्लीले इंग्लिस बलर जोर्डनको इनिङसको अन्तिम ओभरमा ३० रन जोड्दा स्टाइनिस एक्लैले दुई छक्का र लगातार तीन चौकासहित २५ रन जोडेका थिए । इनिङ्सको पाँचौं बलमा उनी आउट भएका थिए ।

दिल्लीको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमा शिखर धवन शून्यमा आउट भए । अर्का ओपनर पृथ्वी शले पनि ९ बल खेली ५ रनमात्र बनाउन सके । माथिल्लोक्रममा पठाइएका सिमरन हेटमायरले पनि १३ बलमा ७ रनमात्र बनाउन सके । कप्तान श्रेयस ऐर र ऋषभ पन्तले मात्र पन्जाबको बलिङमा आत्मविश्वास देखाउन सकेका थिए । पन्तले २९ बलमा ४ चौकासहित ३१ र आयरले ३२ बलमा ३ छक्कासहित ३९ रन बनाए ।

नेपालका स्पिन स्टार सन्दीप लामिछानेलाई दिल्लीले प्लेइङ ११ मा राखेको थिएन । दिल्लीले अश्विन र अक्षर पटेल गरी दुई स्पिनरमात्र खेलाएको थियो । प्रमुख तीब्र बलर इशान्त शर्मा घाइते रहेकाले राबाडासँगै अर्का दक्षिण अफ्रिकी बलर एनरिच नोर्टजेलाई खेलाएको थियो ।

प्रकाशित : आश्विन ५, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?