दिल्लीमा स्थान पाउन चर्को प्रतिस्पर्धा

एजेन्सी

दुबई — दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आफ्नो टिममा खेलाडीबीच सुरुआती ११ स्थानका लागि चर्को प्रतिस्पर्धा रहेको बुधबार बताएका छन् । इन्डियन प्रिमियर लिग २०२० को आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबको सामना गर्नेछ । यो खेल आइतबार दुबईमा हुनेछ र दिल्लीले यसको तयारी गरिरहेको छ ।

दिल्लीमा स्थान पाउन चर्को प्रतिस्पर्धा

कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहिर हुन लागेको यसपल्टको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म दुबई, अबुधाबी र शारजहाँका रंगशालामा हुनेछन् । सन् २००८ देखि अहिलेसम्म आईपीएलको उपाधि चुम्न असफल रहँदै आएको दिल्ली यसपालि शीर्ष चारका लागि बलियो प्रत्याशी रहेको छ ।

पोन्टिङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्वीट गरेका छन्, ‘सबै प्रतियोगिताको व्यग्र प्रतीक्षामा छन् । हाम्रो पहिलो खेल आइतबार छ । अभ्यासमा सबै खेलाडी उत्कृष्ट देखिएका छन् र सुरुआती ११ खेलाडीमा पर्न यी खेलाडीबीच चर्को प्रतिस्पर्धा हुने निश्चित छ । यो यस्तो गाह्रो स्थिति हो, जसको अपेक्षा भने प्रशिक्षकले गरेको हुन्छ, प्रशिक्षकले चाहने यस्तै हो ।’

अस्ट्रेलियाली लिजेन्डको नेतृत्वमा दिल्लीले गत सिजन प्लेअफ खेलेको थियो । यसपल्ट त्योभन्दा राम्रो प्रदर्शनका आस उनले गरेका छन् । शनिबार हुने प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले गत वर्षको उपविजेता चेन्नई सुपर किंग्सको सामना गर्नेछ । त्यसलगत्तै आइतबार दिल्लीले आफ्नो चुनौती पेस गर्नेछ ।

प्रकाशित : आश्विन २, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?