सन्दीपको प्रशंसा गर्दै पूर्वभारतीय क्रिकेटर

एजेन्सी

नयाँदिल्ली — आखिरमा धेरै उतारचढावपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरुमा कुनै शंका रहेन । शनिबारदेखि प्रतियोगिता यूएईमा सुरु हुँदै छ ।

सन्दीपको प्रशंसा गर्दै पूर्वभारतीय क्रिकेटर

अहिलेसम्म जति पनि सम्भावना भएको टिम मानिए पनि दिल्ली क्यापिटल्सले प्रतियोगिता जित्न सकेको छैन । यस्तोमा यो तथ्य दिल्लीको समर्थकका लागि निराशाजनक छ । प्रत्येक नयाँ सिजन सुरु हुनुअगाडि चर्चा हुने गर्छ, यसपल्ट दिल्लीले केही गर्ने सम्भावना हुन्छ । तर सिजनको अन्त्यमा खाली निराशा मात्र हात लाग्ने गर्छ ।

सन् २०१८ को सिजन त दिल्लीका लागि निकै खराब रह्यो, लिग चरण समाप्तिमा यो टिम सबैभन्दा पुछारमा थियो । यो टिमसँग सम्बन्धित सबैले एक आपसमा यही प्रश्न गरेका थिए, ‘हामी कहाँनिर नराम्रोसँग चुक्यौं त ?’ जति मुख उति कारण भने जस्तै, दिल्लीको खराब प्रदर्शन पछाडि हजार कारण थिए, तर टिमको प्रदर्शन सुधारका लागि पनि हजार उपाय प्रस्तुत भए । कम्तीमा गत सिजन दिल्लीका लागि त्यति खराब रहेन । कम्तीमा टिमले फाइनल प्रवेशको सम्भावना त कायम राख्यो । अब यसपल्ट दिल्लीको क्रिकेट घेरामा चर्चा हुन सुरु भइसकेको छ, सन् २०२० को सिजन दिल्लीका लागि हुन सक्छ र यो दाबी पछाडि बलियो कारण उत्तिकै छन् । सबैको नजर सन्दीप लामिछानेमा पनि छ । केही भन्छन्, नेपालका यी लेग स्पिनरले टिममा मौका नै पाउने छैनन् । फेरि अर्काथरी के पनि भन्छन् भने दिल्लीलाई अहिलेसम्म हात नपरेको सफलता दिलाउने खेलाडी भनेकै यी त हुन्, सन्दीप ।

यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ  : सन्दीप लामिछाने

केही भारतीय मिडियाले दिल्लीको सम्भावनालाई लिएर क्रिकेट पण्डितहरूसँग कुरा गरेका छन् । त्यसमध्ये केही अविश्वसनीय रूपमा सन्दीपको पक्षमा छन् र तिनले खुलेर उनको समर्थनमात्र गरिहेका छैनन्, भनिरहेका छन्, ‘यी खेलाडी गज्जबका छन् ।’ सन्दीपले यति धेरै प्रशंसा बटुल्नु पछाडिको एउटा प्रमुख कारण हो, भर्खर सकिएको क्यारेबियन प्रिमियर लिग (सीपीए) मा राम्रो गर्नु । जमैका तलाबाजका लागि उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।

भारतका पूर्व अलराउन्डर अजित अगारकर मान्छन्, सन्दीप दिल्लीले खेलाउनुपर्ने चार प्रमुख विदेशी खेलाडीमध्ये एक हुन् । यस्तै राय छ, अर्का पूर्व खेलाडी आकाश चोपडाको । तय छ, सन्दीपले सुरुआती ११ मा पर्नका लागि दक्षिण अफ्रिकाका कागिसो रबाडा, वेस्ट इन्डिजका सिमरन हेटमायर र अस्ट्रेलियाका डानियल स्याम्सबाट चर्को प्रतिस्पर्धा सामना गर्नुपर्नेछ । सन्दीपसँग प्रतिस्पर्धा गर्नेमा एनरिक नोर्ट्जे, मार्कस स्टोइनिस र किमो पाउल पनि हुनेछन् ।

यस्तै अर्का पूर्व भारतीय खेलाडी दीपदास गुप्ता पनि सन्दीपको पक्षमा छन् । अझ अगारकरले त सन्दीपलाई प्रतियोगितामा दिल्लीकै लागि सबैभन्दा बढी ‘ब्रेक थु’ स्टार हुनसक्ने खेलाडी मान्छन् । उनी भन्छन्, ‘सन्दीप निकै अब्बल दर्जाका खेलाडी हुन् र उनको उपस्थितिले टिमको प्रदर्शनमा धेरै फरक पर्न सक्छ ।’ केही भारतीय पत्रकार पनि सन्दीपलाई के मान्छन् भने उनले दिल्लीका लागि पर्याप्त खेल्न पायो भने त्यो टिमकै फाइदामा हुनेछ ।

आईपीएलको निर्णायक सिजनमा सन्दीप

यिनै पूर्व खेलाडी र पत्रकार के पनि मान्छन् भने दिल्लीको टिमको ‘डेथ बलिङ’ भने कमजोर छ अर्थात इनिङ्सको अन्त्यतिर कसिकसाउ बलिङ गर्नसक्ने बलरको कमी छ, दिल्ली टिममा । पूरा टिमकै कुरा गर्ने हो टिमको सबैभन्दा बलियो पक्ष बलिङमै छ र त्यो हो, टिममा रहेका चार स्पिनर । क्रिकेट विश्लेषकहरू के मान्छन् भने यसपल्टको प्रतियोगितामा दिल्लीमा जत्तिको गतिला स्पिनर अन्यत्र छैनभन्दा पनि हुन्छ । यूएईको पिचमा धेरै ‘टर्न’ हुन्छ भने त्यसमा दिल्लीले खेलाउन हुने सबैभन्दा राम्रो विकल्प भनेकै सन्दीप हुन सक्ने छन् ।

फेरि यूएईको पिचको स्वभाव भारतीय पिचको तुलनामा धेरै फरक मानिन्छ । त्यहाँको पिचले स्पिनरलाई नै बढी सहयोग गर्ने मानिन्छ । धेरैभन्दा धेरै सम्भावना छ, दिल्लीले सकेसम्म बढी स्पिनरलाई खेलाउने । यस्तोमा सन्दीपले भारतीय टिमबाट खेलिरहेका अक्षर पटेलसँग कडा प्रतिस्पर्धा गर्न सक्नुपर्नेछ । अनि टिमले उपाधि जित्ने सम्भावना ? चोपडा दिल्लीकै खेलाडी हुन् । उनी मान्छन्, दिल्ली शीर्ष चारमा पर्ने मात्र छैन, यसले उपाधि जित्ने सम्भावना प्रचुर छ । उनी एक प्रकारले यसमा आत्मविश्वासी देखिन्छन् ।

प्रकाशित : आश्विन १, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?