कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेलाडीको बिमा अपरिहार्य, गृहकार्यमा राखेप

‘खेलाडी बिमा कार्यक्रममा राष्ट्रिय टोलीबाट केही समय योगदान दिएका र लामो समयसम्म रहने क्षमताका खेलाडी पहिचान गरी समेट्न सकिन्छ । केही पुराना खेलाडी पनि समावेश गर्नुपर्छ । लामो समयदेखि खेलेका पुराना खेलाडीको हकमा बिमाले सामाजिक सुरक्षाको काम गर्छ ।’
कुशल तिमल्सिना

काठमाडौँ — गत माघ १० गते आरबीबी–एनभीए राष्ट्रिय क्लब च्याम्पियनसिप महिला भलिबलको फाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लबकी मुख्य स्पाइकर प्रतिभा मालीको घुँडामा चोट लाग्यो । राजधानीकै ब्लुक्रस अस्पतालमा दुईपल्ट शल्यक्रिया गराएपछि उनी आराम गरिरहेकी छन् । चिकित्सकले उनलाई ९ महिनादेखि १ वर्षसम्म कोर्टबाहिर रहनुपर्ने भनेका छन् ।

खेलाडीको बिमा अपरिहार्य, गृहकार्यमा राखेप

नेपाल भलिबल संघको आधिकारिक प्रतियोगितामा खेलाडीको बिमा गरिएको थिएन । प्रतिभाको उपचारमा लागेको लाखौं रकम भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भनेका छन् ।

०००

महोत्तरीका कुन्दन सिंह राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेश २ का ओपनिङ ब्याट्सम्यान थिए । अघिल्लो वर्ष काठमाडौंमा आयोजित प्रधानमन्त्री कप खेलेयता बिरामी परेका कुन्दनको उपचारका क्रममा दुवै मिर्गौलामा समस्या देखियो । उमेर समूहदेखि नै राष्ट्रिय प्रतियोगिता खेलिरहेका कुन्दन अहिले नियमित डायलसिस गरिरहेका छन् । उनको मिर्गौला फेर्नुपर्ने छ तर आर्थिक कारणले सकिरहेका छैनन् । उनको पनि बिमा थिएन । उनी पनि ठूलो आर्थिक भार बेहोर्न नसकेर जीवनमरणको स्थितिमा छन् ।

०००

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल खलेका तीव्र गतिका बलर ललितसिंह भण्डारी यसै साता घरेलु सहर कञ्चनपुरको महेन्द्रनगरमा सडक दुर्घटनामा परे । धनगढी र नेपालगन्जमा उपचार सम्भव नभएपछि गम्भीर अवस्थामा उनको उपचार राजधानीको ग्रान्डी अस्पतालमा भइरहेको छ । एउटा हात र एउटा खुट्टाको एकभन्दा बढी स्थानमा भाँचिएको, कलेजो र फोक्सोमा समेत चोट लागेकाले उनको उपचारमा १५–२० लाख खर्च हुने अनुमान गरिएको छ । बिमा भएको भए उपचारमा लाग्ने ठूलो आर्थिकभारबाट जोखिममुक्त हुन सक्थे । उनको उपचारमा सहयोगका लागि राष्ट्रिय क्रिकेट खेलाडी संघ र नेपाली क्रिकेट समर्थकले आर्थिक सहयोग संकलनको अभियान नै चलाइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) र राखेपले पनि सहयोगको आश्वासन दिएका छन् ।

०००

उल्लिखित तीन खेलाडी फरक अवस्थामा उपचररत छन् । प्रतियोगिताका क्रममा इन्ज्युरी, गम्भीर रोग र दुर्घटना । यी तीनैको साझा समस्या भनेको उनीहरू बिमाको दायराभित्र थिएनन् । ठूलो आर्थिक व्ययभार बेहोर्न बाध्य छन् । राष्ट्रको गहना भनिने खेलाडीले आफ्नै उपचारका लागि हात फैलाउनुपर्ने अवस्थामा छन् । विकसित देशमा आमनागरिकको स्वास्थ्य बिमा अनिवार्य हुन्छ । खेलाडीको हकमा त विशेष बिमा कार्यक्रम लागू गरिएको हुन्छ । बिमाबारे पर्याप्त जानकारी नेपाली समाजमा पुगेको छैन । बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप सरकारलाई पनि लाग्ने गरेको छ ।

केही वर्षयता लागू गरिएको स्वास्थ्य बिमा र कोरोना महामारीपछि सुरु भएको कोरोना बिमामा आम सर्वसाधारणको रुचिका कारण यसको प्रभावकारिता बिस्तारै बढ्न थालेको छ । अर्धव्यावसायिक खेलकुद गतिविधि हुने नेपालमा खेलाडीको बिमा कार्यक्रमलाई निकै गौण रूपमा राखिएको छ । केही खेल संघ र खेलकुद संस्थाले खेलाडीका लागि कोरोना बिमा गरिरहेका छन् । ब्याडमिन्टन, फेन्सिङ, टेबलटेनिस, बक्सिङ, फुटबल, क्रिकेटलगायतका केही खेल संघले आफ्ना खेलाडीको कोरोना बिमा गरिदिएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएले १३ औं दक्षिण एसियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई कोरोना बिमा गरिदिने भनेको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले भने खेलाडीको कोरोना बिमा नगरिएको प्रस्ट पारे । ‘केही खेल संस्थाले गरिरहेका छन् । राखेपले अहिलेसम्म गर्ने निर्णय गरेको छैन । बिमाका केही संशयहरू पनि देखिए र कोही खेलाडी संक्रमित भएको अवस्थामा राखेपले सहयोग गर्नेछ,’ कान्तिपुरसँगको कुराकानीमा सदस्य–सचिव सिलवालले भने ।

क्रिकेट संघले कोरोना बिमामा पनि पुरुष राष्ट्रिय टोलीको मात्र गरेर लैंगिक भेदभाव गर्‍यो । स्वयं महिला क्रिकेटरले नै विरोध गरेपछि क्यानले महिला खेलाडीको पनि बिमा गरेको छ । अन्य थुप्रै अन्तर्राष्ट्रिय खेलाडी छन् जो यस महामारीलक्षित कोरोना बिमाको दायरामा पनि आउन सकेका छैनन् । यो कोरोना महामारीलक्षित बिमा कार्यक्रम हो । यो एक वर्ष अवधिका लागि निश्चित शुल्कको मात्र हुन्छ । तर खेलाडीका लागि बिरामी पर्दा, दुर्घटना तथा प्रतियोगिता दौरान लाग्ने चोटपटकलक्षित बिमा आवश्यक भइरहेको छ ।

राखेप सदस्य–सचिव सिलवालले मंगलबार ग्रान्डी अस्पताल पुगेर क्रिकेट खेलाडी ललितसिंह, उनको परिवार र उपचारमा संलग्न चिकित्सकसँग छलफल गरे । उनले ललितको उपचारमा कुनै कन्जुस्याइँ नगर्ने र आवश्यक सहयोग राखेपले उपलब्ध गराउने आश्वासन दिए । खेलाडी बिमा कार्यक्रम हुन सकेको भए राखेपको कोषबाट खेलाडी उपचारलाई रकम छुट्याउनुपर्ने थिएन कि ?

‘हामीले हरेक प्रतियोगिताअगाडि सम्बन्धित संघ र प्रतियोगिता आयोजकलाई बिमा गराउन अनिवार्य गरिसकेका छौं । बिमाबिना प्रतियोगिताको स्वीकृति नदिने प्रावधान बनाउन लागेका छौं । त्यसमा पनि केही छुटपुट भएको हुनसक्छ,’ सदस्य–सचिव सिलवालले थपे, ‘खेलाडी बिमारी हुँदा, दुर्घटनामा पर्दा र प्रतियोगिताका क्रममा हुने इन्ज्युरीमा अवस्था हेरेर राखेप र खेलाडी कल्याणकारी कोषबाट पनि सहयोग भइरहेको छ । ललितको हकमा हामीले त्यस्तै गर्ने सोचेका छौं ।’

राष्ट्रिय खेलाडीका लागि कार्यविधि बनाएर बिमा कार्यक्रम लागू गर्नेबारे गृहकार्य भइरहेको सदस्य–सचिवले जानकारी गराए । कार्यविधिमा कस्तो विकल्प प्रस्तुत गर्ने भन्ने उनले खुलाएनन् । ‘केही राष्ट्रिय टिमका खेलाडीको सम्बन्धित संघले नै बिमा गरेको छ । यसको अर्थ सबै खेलाडी त्यसमा समेटिएका छन् भन्ने होइन । विभागीय खेलाडीको बिमा सम्बन्धित विभागले नै गरेको छ । बाँकी खेलाडीका लागि उपयुक्त कार्यविधि बनाएर बिमा अनिवार्य गर्नुपर्नेछ,’ उनले थपे, ‘मैले यसै वर्ष खेलाडीको बिमाका लागि प्रयास गरेको थिएँ । यस वर्ष हाम्रो बजेट पनि उल्लेख्य कटौती भएको हुनाले बिमा कार्यक्रममा सबै खेलाडी समेट्ने सम्भावना नहुन सक्छ । छिट्टै बिमालाई प्राथमिकता दिनेछौं ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा करातेका साग स्वर्णधारी दीपक श्रेष्ठ लामो समयदेखि बिमाको आवाज उठाइरहे पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गर्छन् । उनका अनुसार सरोकारवाला निकाय र स्वयं खेलाडीमा पनि बिमाप्रतिको सचेतना नहुनुले यो समस्या निम्तिएको हो । ‘हामीले लामो समयदेखि खेलाडीको बिमाका लागि आवाज उठाउँदै आएका छौं तर कार्यान्वयन भएको छैन । बल्ल प्रतियोगिताअनुसार बिमा हुन थालेको छ । खेलकुद मन्त्रालयमा कुरा गर्दा हरेक वर्ष खेलाडीको बिमाका लागि बजेट आएको भनिन्छ तर अहिलेसम्म बिमा कार्यक्रम सञ्चालन भएको छैन । राष्ट्रिय खेलाडीको नै बिमा छैन,’ उनले भने ।

श्रेष्ठले खेलाडीको बिमा कार्यक्रममा तत्काल सबैलाई समेट्न सम्भव नभए कम्तीमा राष्ट्रिय टोलीका खेलाडी र पुराना अन्तर्राष्ट्रिय खेलाडीलाई समेट्नुपर्ने बताए । ‘बिमा कार्यक्रम लामो अवधिका लागि हुन्छ । राष्ट्रिय टिममा रहेर खेलिरहेका र केही पुराना खेलाडीलाई समेत बिमा कार्यक्रममा समावेश गर्दा प्रभावकारी हुनसक्छ,’ बिमा कार्यक्रमका लागि वैकल्पिक सुझावका रूपमा उनले थपे, ‘हाम्रो देशमा अधिकांश खेलाडी खेललाई नै करिअर बनाउँछु भनेर आएका हुँदैनन् । करिअरकै बीचमा पलायन हुने खेलाडीलाई बिमा कार्यक्रमको अर्थ रहँदैन । राष्ट्रिय टोलीबाट केही समय योगदान दिएका र लामो समयसम्म रहने क्षमताका खेलाडी पहिचान गरी समेट्न सकिन्छ । केही पुराना खेलाडीलाई पनि समावेश गर्नुपर्छ । लामो समयदेखि खेलेका पुराना खेलाडीको हकमा बिमाले सामाजिक सुरक्षाको काम गर्छ । नयाँ प्रतिभाका लागि प्रतियोगितापिच्छे बिमा हुन्छ ।’

प्रकाशित : आश्विन १, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?