२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आईपीएलको निर्णायक सिजनमा सन्दीप

दिल्लीमा स्तरीय स्पिनरको कुनै कमी छैन । रविचन्द्रन अश्विन, अक्षर पटेल र अमित मिश्रासँग सन्दीपले पहिलो रोजाइमा स्थान पाउन कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । 
विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोली दुबईको आईसीसी एकेडेमी मैदानभित्र प्रशिक्षण गरिरहेको थियो । मैदानबाहिर नेपाली टोलीका टेक्निकल एनालिस्ट एवं तत्कालीन व्यवस्थापक रमन सिवाकोटीको छट्पटी उधुम थियो । यो सन् २०१८ जनवरी २९ को प्रसंग हो । जतिखेर भारतको बेंग्लोरमा इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन दोस्रो दिन चलिरहेको थियो ।

आईपीएलको निर्णायक सिजनमा सन्दीप

मैदानभित्र नेपाली टोलीको आक्रोश मत्थर भइसकेको थिएन । नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई सहभागी ६ मध्ये आधा टोली दक्षिण अफ्रिकामा अभ्यास खेल खेलिरहेका थिए । नेपाल क्रिकेट संघ (क्यान) तत्कालीन अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा निलम्बनमा थियो र आईसीसीले नै नेपाललाई दुबईमा यूएईको दोस्रो रोजाइको टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका मिलाइदिएको थियो ।

जबकि त्यहीं यूएईको मुख्य टोली नेपालसहितका टोलीसँग डिभिजन २ मा प्रतिस्पर्धा गर्न दक्षिण अफ्रिकामा अभ्यास खेल खेलिरहेको थियो । यही आक्रोश मैदानमा प्रशिक्षण गर्दै गर्दा नेपाली टोलीका खेलाडीमा थियो ।

मैदानबाहिर मोबाइल चलाउँदै छट्पटिएका सिवाकोटीले त्यही एउटा खबर खुशीमा गद्गद् हुँदै मैदानभित्र नेपाली टोलीलाई सुनाउन दौडिएका थिए । जुन समाचार नेपाली क्रिकेटको कल्पनाबाहिरको थियो ।

त्यो समाचारका मुख्य पात्र थिए, सन्दीप लामिछाने । नेपाली क्रिकेटका यी सनसनी स्पिनरलाई बेंग्लोरमा चलिरहेको आईपीएल अक्सनबाट तत्कालीन दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा लिएको थियो । सन्दीप आईपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका थिए । कहिल्यै ट्वान्टी–२० नखेलेका, एकदिवसीयमा पनि पावर–प्लेमा कहिल्यै बलिङ नगरेका सन्दीपलाई दिल्लीले अक्सनमा न्यूनतम भाउ लगाएको थियो ।

सन् २०१८ को त्यो सिजनको अन्तिम तीन खेलमा उनै सन्दीप पहिलो ओभरबाटै दिल्लीलाई जितको आधार बनाइदिने खेलाडी बनेका थिए । उनले ३ खेलमा ५ विकेट लिएर विश्व क्रिकेटमा आफ्नो आगमनको संकेत गरे । राम्रो आम्दानी, ग्ल्यामर्सपूर्ण र फ्रेन्चाइज लिगमा सबैभन्दा शक्तिशाली आईपीएलमा खेल्नु विश्वको हरेक क्रिकेट खेलाडीको सपना हो । सन्दीपले नेपाली खेलाडीको रूपमा त्यो सपना पूरा गरेका थिए ।

सन् २०१७ मै सन्दीपलाई बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलेर फ्रेन्चाइज लिगमा अनुभव बटुल्ने पहिलो अवसर थियो । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यूएईसँग अबुधाबीमा अन्तिम म्याच खेल्नुपर्दा सन्दीपले त्यो मौका गुमाउन पुगे । आईपीएलले सन्दीपलाई स्थापित गराइदियो । उनी अहिले बीपीएल, सीपीएललगायत बिग–बास, पाकिस्तान सुपर लिग (पीसीएल), अफगान प्रिमियर लिग, टी–१०, ग्लोबल क्यानडा टी–२० लिगमा लगातार खेलिरहेका छन् । सन्दीपले पीसीएल, टी–१०, अफगान प्रिमियर लिग यूएईमै खेलेका थिए ।

यसपालि मौका पाउलान् त?

भारतमा कोभिड–१९ महामारीले उग्र रूप लिइरहेकाले आईपीएल यूएईमा सार्ने निर्णय गरिएको छ । गत वर्ष फाइनल खेलेका विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सको खेलबाट शनिबार आईपीएल नयाँ सिजन सुरु हुँदै छ । दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबसँग आइतबार दुबईमा पहिलो खेल खेल्दै छ । त्यसका लागि सन्दीप सेप्टेम्बर १४ (सोमबार) मा दुबई पुगिसकेका छन् ।

दुबईमा सन्दीप

सन्दीपले सुरुका ६ दिन दुबईमा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कोभिड–१९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य छ । यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आइसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परीक्षण गर्नुपर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न र खेल्न पाउने प्रावधान छ । सन्दीपको यी सबै परिक्षण शनिबारमात्र सकिने छ । उनमा कोभिड–१९ को कुनै संक्रमण नरहेमा आइतबारलाई उपलब्ध हुने छन् । तर अन्तिम समयमा भएका कारण उनले पन्जाबसँगको पहिलो खेल खेल्ने सम्भावना कम देखिन्छ ।

यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ : सन्दीप लामिछाने

आईपीएलअगाडि सन्दीपको सबैभन्दा ठूलो पक्ष भनेको उत्कृष्ट फर्म हो । सीपीएलका ११ खेलमा जमैका तलाबाजका लागि सन्दीपले कुल १२ विकेट लिए । तेस्रो सिजन खेल्दै उनले सीपीएलमा एकै सिजनमा सबैभन्दा बढी विकेट लिएका हुन् । सन्दीपले २०१८ मा सेन्ट किट्स एन्ड प्याट्रियट्सबाट खेल्दा ७ र त्यसको अर्को वर्ष बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दा ९ विकेट लिएका थिए ।

ट्वान्टी–२० ब्याट्सम्यानको खेल मानिन्छ, तर सन्दीपले यस संस्करणको सीपीएलमा प्रतिओभरमा ५.२७ रनमात्र खर्चेका थिए । उपाधि जितेको ट्रिनबागो नाइट राइडर्ससँगको प्लेअफबाहेक सन्दीपले प्रत्येक खेलमा विकेट लिएका थिए । सीपीएलमा देखाएको उत्कृष्ट फर्म उनलाई आईपीएलमा यसपालि प्लेइङमै खेलाउन सक्ने बलियो आधार हो । गत वर्ष सबैजसो संरचनामा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि सन्दीपको दिल्लीमा पहिलो रोजाइ पक्का छैन । २०१८ मा आईपीएलमा आफ्नो पहिलो सिजन खेल्दा सन्दीपले तीन खेलमा मात्र खेल्न पाए भने गत सिजन दोस्रो वर्षमा उनले ६ खेल खेले । दुवैमा गरी १३ विकेट लिएका छन् ।

दिल्लीमा स्तरीय स्पिनरको कुनै कमी छैन । रविचन्द्रन अश्विन, अक्षर पटेल र अमित मिश्रासँग सन्दीपले पहिलो रोजाइमा स्थान पाउन प्रतिस्पर्धा गर्नुपर्नेछ । दुवै लेग स्पिनर रहेका कारण दिल्लीले युवा सन्दीप र भेट्रान मिश्रामध्ये एकलाई बाहिर राख्ने सम्भावना पनि प्रवल रहन्छ । ३८ वर्षे मिश्राले २००८ को पहिलो संस्करणदेखि नै आईपीएलमा खेल्दै आएका छन् र १ सय ४७ खेलमा १ सय ५७ विकेट लिइसकेका छन् । गत सिजन सन्दीपले ६ खेलमा ८ र मिश्राले ११ खेलमा ११ विकेट लिएका थिए ।

अफ स्पिनर अश्विनलाई दिल्लीले यसै सिजन देखि पन्जाबबाट लिएको हो । उनले गत सिजनमा पन्जाबका लागि १४ खेलमा १५ विकेट लिएका थिए । अश्विनले आईपीएलका १ सय ३९ खेलमा १ सय २५ विकेट लिइसकेका छन् । देब्रेहाते बलिङ अलराउन्डर पटेलले गत वर्ष १४ खेलमा १० विकेट लिएका थिए । भारतका पूर्व टेस्ट ओपनर आकाश चोप्राले दिल्लीको स्पिन आक्रामणलाई चेन्नईको रवीन्द्र जडेजा, पीयूष चावला, मोइन अली र इमरान ताहिरको स्पिन आक्रामणसँग तुलना गरेका छन् । चोप्राले सन्दीपलाई सुरुआती टोलीमा राख्दै चार स्पिनरमध्ये कुनै पनि तीन स्पिनर दिल्लीको प्लेइङ ११ बाट खेल्न सक्षम रहेको जनाएका छन् ।

सन्दीपसँगै दिल्लीको टोलीमा दक्षिण अफ्रिका तीब्र बलर कागिसो राबाडा, वेस्ट इन्डिजका अलराउन्डरद्वय सिमरोन हेटमायर र किमो पाउल, अस्ट्रेलियाका ब्याट्सम्यान एलेक्स क्यारी र अलराउन्डर माकर्स स्टोइनिस, बलर डानियल साम तथा दक्षिण अफ्रिकाका बलर एनरिच नोर्टजे विदेशी खेलाडीका रूपमा रहेका छन् । यीमध्ये चारले मात्र बढीमा एकैपल्ट पहिलो रोजाइमा खेल्न पाउनेछन् । इंग्ल्यान्डसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिरहेका कारण अस्ट्रेलियन जोडीद्वय क्यारी र स्टोइनिसले दिल्लीको पहिलो खेलमा नखेल्ने निश्चित छ ।

दिल्लीको विदेशी खेलाडीको कोटामा रहेकामध्येबाट स्पिनरमा एक्लो भएका कारण सन्दीपले यसपालि यसअघिभन्दा धेरै खेल खेल्न पाउने सम्भावना प्रशस्त देखिन्छ । दिल्लीको टोलीमा को कस्ता खेलाडी छन् भन्नेले आफूलाई केही फरक नपर्ने जनाउँदै सन्दीप यसपालि बढी आत्मविश्वासी देखिन्छन् । सक्षम भएका कारण उनी आफूलाई दिल्लीको प्रमुख बलरका रूपमा उभ्याउँछन् ।

यसको एउटा अर्को कारण पनि छ । यूएईको विकेटबारे अन्य खेलाडी अनभिज्ञ जस्तै छन्, सन्दीपका लागि भने यो गल्फ राष्ट्रका मैदानहरू पानी पँधेरोजस्तै छ । उनले पीएसएल, अफगान प्रिमियर लिग, टी–१० बाहेक नेपालबाट विश्व क्रिकेट लिग च्याम्पियनसिप, एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय यूएईमै खेलेका छन् । सन्दीपले २०१८ मा दुबईमा यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ४ सहित ३ खेलको शृंखलामा ७ विकेट लिएका थिए । त्यही भ्रमणमा उनले यूएईविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ विकेट लिएका थिए । सन्दीप अहिले त्यही फर्किएका छन्, जहाँ उनले पनि सम्भवतः जीवनकै सबैभन्दा ठूलो समाचार सुनेका थिए ।

उपाधिको भोक

सन्दीप सबैभन्दा बढी फ्रेन्चाइज लिग खेल्नेमा शीर्ष खेलाडीमा पर्छन् । यसमा उनले एउटा गुमाइरहेको चाहिँ उपाधि हो । पछिल्लो तीन वर्षमा भारत, यूएई, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, वेस्ट इन्डिजमा गएर खेले पनि सन्दीपले अझै प्रत्यक्ष उपाधि उचाल्न पाएका छैनन् । गत वर्ष उनले सीपीएलमा बार्बाडोसबाट खेलेका थिए । उनको टोली पनि च्याम्पियन भयो । उनी नेपालबाट खेल्नुपर्ने भएकाले बीचमै फर्किइसकेका थिए । बार्बाडोसले सीपीएलको उपाधि उचालि रहँदा सन्दीप राष्ट्रिय टोलीको जर्सीमा सजिइसकेका थिए ।

पछिल्लो दुई वर्ष उनले बिग–बासमा मेलबर्न स्टार्सका लागि खेले । दुवै पटक मेलबर्न फाइनलमा पराजित भयो । गत सिजन मेलबर्नलाई लिगको शीर्षस्थानमा पुर्‍याएपछि सन्दीप नेपालबाट खेल्न फर्किनुपरेको थियो । सीपीएल उनले यस संस्करणमा मात्र पूरा खेलेका हुन्, जहाँ उनको टोली जमैका तलाबाज प्लेअफको पहिलो खेलमै पराजित भयो ।

दिल्लीलाई यसपालि उपाधिको एक दाबेदार मानिएको छ । आईपीएलको इतिहासमा फाइनल पुग्न नसकेको एकमात्र टोली दिल्ली हो । गत सिजन टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरी प्लेअफसम्म यात्रा तय गरेको थियो । स्पिनरका कारण मात्र नभई दिल्ली निकै बलियो टोली देखिएको छ ।

ब्याटिङमा शिखर धवन, पृथ्वी श, रिसब पन्त, कप्तान श्रेयस अय्यर, क्यारी, हेटमायर, स्टोइनिस जस्ता खेलाडी छन् । तीव्र बलिङमा इशान्त शर्मा, राबाडा, मोहित शर्मा, साम्स, नोर्टजेले दिल्लीलाई निकै बलियो टोलीमा उभ्याएको छ । दिल्लीले पनि उपाधि लक्ष्य बनाएको छ । दिल्लीले सन्दीपको उपाधिको भोक मेटाउला वा सन्दीपले दिल्लीको लक्ष्य पूरा गर्लान् ? धेरै यही अपेक्षामा छन् । अर्को वर्षको आईपीएल अक्सनअघि सन्दीप आफैंमा यादगार प्रदर्शन देखाउन व्यग्र छन् ।

ग्लोबल स्टार

कोरोनाको महामारीका बेला सन्दीप पीपीई र मास्क लगाउँदै जुलाई ३० मा क्यारेबियन लागेका थिए । ग्लोबल स्टार यिनी कहिल्यै नेपाल फर्कन्छन् केही टुंगो छैन । एक त कारोनाका कारण, अर्को सन्दीप आफैं विभिन्न फ्रेन्चाइज लिगमा खेलिरहनुपर्ने भएकाले उनी नेपाल फर्किने टुंगो नभएको हो । आईपीएलको यस १३ औं संस्करण नोभेम्बर १० सम्म चल्नेछ । त्यतिखेरसम्म उनी दिल्लीकै टोलीमा हुनेछन् ।

त्यसको साता–दस दिनपछि अबुधाबी टी–१० लिग हुनेछ । आईपीएल सकिएपछि उनी यूएईमै बस्ने छन् र टी–१० लिग खेल्ने सम्भावना छ । यसबीचमा उनले झन्डै ४ महिना विदेशमा बिताइसकेका हुनेछन् । यस क्रममा उनले १ लाख ४० हजार डलर पारिश्रमिकबापत कमाइसकेका हुन्छन् । खेलाडीलाई पारिश्रमिक नदिएका कारण टी–१० को अझै टुंगो लागेको छैन । यसो भएमा उनी दुबईबाट सोझै श्रीलंका प्रिमियर लिग खेल्न जान सक्नेछन् । श्रीलंका र नेपाल दुवै देश प्रवेश गर्दा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उनको त्यो समयमा काठमाडौं फर्किने सम्भावना निकै कम देखिन्छ ।

कोरोनाकै कारण नेपालको २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल नहुने टुंगो भइसकेको छैन । वर्तमान अवस्थामा २०२१ को सुरुआती खेल पनि अझै निश्चित छैन । नेपालले २०२१ को जनवरीमा ओमानमा गएर ओमान र अमेरिकासँग विश्वकप लिग २ का खेल खेल्ने तालिका छ । नेपालको खेल नहुने भएमा सन्दीपको खेल रोकिने छैन । उनी दुबई वा कोलम्बोबाटै बिग–बासका लागि अस्ट्रेलिया उड्न सक्छन् । सन्दीपलाई मेलबर्नले रिटेन गरेको छैन, बाहिर पनि राखेको छैन । खाली सन्दीपको खेलतालिकाको प्रतीक्षा गरिरहेको छ ।

नेपालको सिजन भयो भने सन्दीपले बिग–बास खेल्न पाउने छैनन् । नेपालको सिजन भएन भने उनी बिग–बासमा पूरै खेल खेल्न सक्छन् । उनका व्यवस्थापक सिवाकोटीको ध्यान अहिले यही तालिकाले तानेको छ । अबको ३–४ महिना सन्दीपको समय व्यवस्थापन गर्दै उनलाई भ्याईनभ्याई हुनेछ ।

प्रकाशित : भाद्र ३१, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?