थिएमसँगै टेनिसमा नयाँ पुस्ताको उदय

डोमिनिक थिएम ग्रान्ड स्लाम टेनिस इतिहासमै दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर उपाधि जित्ने पहिलो खेलाडी भएका छन् । यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका थिएम यसपल्ट पनि पराजित हुने स्थितिमा पुगेका थिए ।
केभिन मिचेल

न्युयोर्क — सर्बियाली नोभाक जोकोभिच अझै पनि विश्वका सबैभन्दा उत्कृष्ट टेनिस खेलाडी हुन् । आफ्नै कारणले यी विश्व नम्बर एक खेलाडीको अनुपस्थितिमा डोमिनिक थिएमले आइतबार यूएस ओपन जिते । उनले फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेभलाई पराजित गरे ।

थिएमसँगै टेनिसमा नयाँ पुस्ताको उदय

अब भन्न सकिन्छ, पुरुष विश्व टेनिसमा नयाँ पुस्ताको उदय भएको छ । जोकोभिच ३३ वर्षका भए, उनका खास प्रतिद्वन्द्वी राफेल नडाल ३४ वर्षका भए । उनीहरू अर्को साता रोममा खेल्दैछन् ।

यसबीच ३९ वर्षीय रोजर फेडेरर घुँडाको शल्यक्रियापछि आराम गरिरहेका छन् । यी तीन खेलाडी पुरुष टेनिसका ठूला नाम भए । अब त केही दिनमा रोलान्ड ग्यारोसमा पछाडि सारिएको फ्रेन्च ओपन पनि सुरु हुनेछ । फेडेरर वा सेरेना विलियम्सले जे जस्तै भनुन्, उमेरले उनीहरूलाई धोका दिन थालेको छ । यी पुराना खेलाडीले यूएस ओपनको फाइनल कहींकतै होटलमा बसेर हेरे होलान् या आफ्नो भव्य घरमा । तिनीहरूले थिएमको उदय देखे र उनले जिते आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम ।

डोमिनिकले उत्कृष्ट पुनरागमन रच्दै आइतबार यूएस ओपन जितेका हुन् । यस क्रममा थिएमले दुई सेटले पछाडि परेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३, ७–६ ले हराए । दोस्रो वरीयताका २७ वर्षीय थिएम यूएस ओपन जित्ने पहिलो अस्ट्रियाका खेलाडी भएका छन् । आर्थर एस स्टेडियममा भएको खेल ४ घण्टा २ मिनेट चलेको थियो । यूएस ओपन इतिहासमै दुई सेटले पछाडि रहेर पनि उपाधि जितेको यो पहिलोपल्ट हो ।

त्यतिमात्र होइन, उनी टेनिस इतिहासमै दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर उपाधि जित्ने पहिलो खेलाडी भएका छन् । यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका थिएम यसपल्ट पराजित हुने स्थितिमा पुगेका थिए, तर त्यसयता उनले अविश्वसनीय उत्कृष्ट खेल प्रदर्शन गरे । जेभरेभ भने पहिलोपल्ट ग्रान्ड स्लाम फाइनल खेलिरहेका हुन् । खासमा थिएम र जेभरेभ दुवै सानै उमेरदेखि साथी खेलाडी हुन् । तर, फाइनलमा दुवैले एकअर्कालाई साथी मानेनन् ।

यूएस ओपनको फाइनलपछि थिएम र अलेक्जेन्डर जेभरेभ । तस्बिर : एपी

थिएमले पछि भने, ‘सन् २०१४ देखि हामीले एकअर्कालाई चिन्छौं । त्यतिबेला हामी साथी थियौं, सन् २०१६ देखि भने हामीबीच प्रतिद्वन्द्विता चुलिएको थियो । कोर्टभित्र हामी एकअर्काका विपक्षी खेलाडी रहे पनि कोर्टबाहिर मिल्ने साथी हौं । सायद आजको फाइनलमा दुईजना विजेता रहेको भए, कति राम्रो हुने थियो । आज हामीमध्ये दुवै खेलाडी उपाधिका लागि हकदार थियौं । मलाई लाग्छ, जसरी हामीले खेल्यौं, यसमा हाम्रो परिवारलाई गर्व रहनेछ ।’

जेभरेभले अझ खेलपछि बोल्दा आँसु नै रोक्न सकेनन् । निकै गाह्रो मान्दै उनले भने, ‘आजको फाइनलमा निकै प्रतिस्पर्धात्मक भयो, तर उपविजेताका रूपमा बोल्दा कसलाई पो मज्जा आउँछ र ? मलाई विश्वास छ, कुनै दिन मैले ग्रान्ड स्लाम जितेर त्यो उपाधि घर लैजाने छु ।’ आधुनिक टेनिसमा ग्रान्ड स्लामका ५५ औं विजेता रहेका थिएम ठूला तीन खेलाडीबीच यस्तो सफलता हात पार्ने सन् २०१४ पहिलो खेलाडी हुन् । त्यो वर्ष मार्टिन सिलिचले यूएस ओपन नै जितेका थिए ।

विश्व टेनिसका लागि अमेरिका नै सबैभन्दा उर्वरभूमि रहेको छ र यहाँ नै टेनिसका ठुल्ठूला परिवर्तन भएका छन् । तर ठूला प्रतियोगितामा भने युरोपकै खेलाडीको वर्चस्व रहने गरेको छ । पछिल्लो एक शताब्दीमा अहिलेसम्मका ग्रान्ड स्लाम विजेतामध्ये ४३ विजेता युरोपबाट नै आएका छन् । संयोगले सन् २०२० को बाँकी सिजनका खेल युरोपमै हुनेछ । ठीक यही बेला भन्न सकिन्छ, पुरुष टेनिसमा ढिलो चाँडो पुस्ता परिवर्तन हुँदै छ । –द गार्डियन

प्रकाशित : भाद्र ३०, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?