कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिकेटमा भविष्य खोज्दै नेपाली बालबालिका

नारायण खड्का

सिड्नी — दिव्यांसा पाण्डे अभिभावकसँग शनिबार बिहानै खेलमैदानमा पुग्छिन् । तीन सातादेखि ७ वर्षीया उनको दिनचर्या करिब डेढ घण्टा अभ्यास गर्नमै बित्छ । ९ वर्षे प्रेरित जोशीको समेत दिनचर्या उस्तै छ । एकाबिहानै आधा घण्टा दूरीमा रहेको खेलमैदान पुग्ने र आफूले सकेजति अभ्यास गर्ने र खेलकौशल देखाउने उनीहरूको दैनिकी हो ।

क्रिकेटमा भविष्य खोज्दै नेपाली बालबालिका

दक्षिण अस्ट्रेलियाका करिब १ सय नेपाली बालबालिकाको दिनचर्या अहिले हरेक साता क्रिकेट अभ्यास गर्न र आफूले जानेको खेलकौशल देखाउनमा बित्ने गरेको छ । यहाँको क्रिकेट एसोसिएसनले जुटाइदिएको बहुसांस्कृतिक विश्वकपको तयारीलाई लागिपरेका उनीहरूमध्ये जम्मा २० जनाले छनोट हुन पाउनेछन् । जसका कारण उनीहरू आवश्यकभन्दा बढी नै ध्यानपूर्वक खेलिरहेका देखिन्छन् ।

यहाँस्थित साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसन (साका) ले हरेक वर्ष नेपाल, भारत, पाकिस्तान, मलेसिया, बंगलादेशलगायतका आधा दर्जन देशका बालबालिकालाई राज्यस्तरीय टिममा ल्याउने योजनासहित तीन वर्षदेखि यो कार्यक्रम आयोजना गर्दै आएको छ । यही अक्टोबरमा आयोजना हुन गइरहेको उक्त विश्वकपमा नेपालीले दुइटा टिम निर्माण गर्दैछ । यू–१० र यू–१२ । त्यसका लागि तीन सातादेखि निरन्तर अभ्यास चलिरहेको छ ।

नेपाली बालबालिकालाई यो अवसर दिलाउन यहाँस्थित नेपालीको क्रिकेट संघले ठूलै कसरत गरेको छ । अस्ट्रेलियन–नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) का अध्यक्ष विजय जोशी यो प्रतियोगिता कला र जोस भएका बालबालिकाका लागि क्रिकेटमै भविष्य बनाउने पहिलो खुड्किलो भएको दाबी गर्छन् । ‘अस्ट्रेलियामा क्रिकेट खेललाई अत्यन्तै महत्त्व दिइन्छ र यो खेलमा उत्कृष्ट हुनसके भविष्यमा अन्य प्रतियोगितामा छनोट हुने अवसर प्राप्त हुन्छ ।’ जोशी आफैं सहभागी भएर विगत केही वर्षदेखि नेपाली क्रिकेटलाई अघि बढाउन लागिपरेको दाबी गर्छन् । लामो समयको मिहिनेतपछि पछिल्लो समयमा नेपाली क्रिकेटले समेत अस्ट्रेलियामा आफ्नो छाप दह्रो बनाउँदै लगेको उनको ठम्याइ छ ।

बालबालिकाको यो खेल प्रतियोगितालाई स्थानीयस्तरमा समेत ठूलो सहयोग प्राप्त छ । अस्ट्रेलियाको ठूलोमध्येको व्यापारिक संस्था ‘वुलवर्थ’ ले सहभागी सबै नेपाली बालबालिकालाई निःशुल्क टिसर्ट, टोपी, ब्याट र बल उपलब्ध गराइदिएको छ । ‘वुलवर्थ क्रिकेट ब्लास्ट’ नाम दिएर सुरु गरिएको यो कार्यक्रमअन्तर्गत बालबालिकालाई निःशुल्क तालिम, खेलपछि खाजा र साकाका अधिकारीले अनुगमन र निरीक्षण गर्ने गरेका छन् ।

हरेक शनिबार हुने यो अभ्यासबाट चार सातापछि टिम छनोट गरिने र छनोट भएकालाई तालिम दिएर प्रतियोगितामा सहभागी गराइने छ । साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसनकी अधिकारी जेसिका ब्राइसले बहुसांस्कृतिक देश भएकाले अन्य देशका प्रतिभालाई समेत अवसर दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन् । ‘अभिभावक जुन देशबाट आएका भए पनि प्रतिभा भएका बालबालिकालाई समान अवसर प्रदान गर्ने र सफल क्रिकेटरको खोजी गर्नु नै यो प्रतियोगिताको लक्ष्य हो,’ ब्राइसले कान्तिपुरसँग भनिन् ।

नेपाली बालबालिकाको हौसला बढाउनका लागि अस्ट्रेलियाली महिला टिमकी अलराउन्डर ताहिला म्याकग्रा र एडिलेड स्ट्राइकरका ओपनिङ ब्याट्सम्यान जेक वेदराल्ड शनिबार बिहानै अभ्यासस्थल पुगेका थिए । मैदानमा बालबालिकालाई क्रिकेट सिकाउँदै समय बिताएका उनीहरूले मिहिनेत र लगनशीलतासाथ खेल्न सुझाए । क्रिकेटर वेदराल्डले नेपाली समुदायबाट दुई जनासम्म बालबालिकालाई राज्यस्तरीय टिममा ल्याउन सके त्यो नै ठूलो हुने बताए । उनी यस किसिमका कार्यक्रमले बालबालिकालाई खेलमा अघि बढ्न प्रोत्साहन गर्ने बताउँछन् ।

प्रकाशित : भाद्र २९, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?