ग्रान्ड स्लाम अनि थिएमको सपना

अबको फाइनलमा भने उनी नै बलिया प्रत्याशी हुन्, कम्तीमा कागजमा उनी बलिया छन् । हुन् पनि अहिलेसम्म फाइनलका दुई प्रतिद्वन्द्वीबीच जति खेल भएका छन्, त्यसमा थिएम नै जेभरेभभन्दा अगाडि छन्, ७–२ ले ।
द गार्डियन

न्युयोर्क — पछिल्ला तीन सिजनमा डोमिनिक थिएम ग्रान्ड स्लाम उपाधि जित्ने आफ्नो सपना पूरा गर्ने स्थितिमा नपुगेका होइनन्, खाली अन्तिम खुडकिलोमा मात्र पछारिन्थे । सन् २०१८ को फ्रेन्च ओपन फाइनलमा उनी स्पेनिस राफेल नडालसँग नराम्रोसँग पराजित भए । उनको हार सिधा सेटमै भएको थियो । त्यसको एक वर्षपछि उनी फेरि रोलान्ड ग्यारोसमै फाइनलमा पराजित भए ।

ग्रान्ड स्लाम अनि थिएमको सपना

प्रतिद्वन्द्वी पनि उनै नडाल थिए । त्यतिबेला भने उनले पेरिसमा कम्तीमा एक सेट जिते । गत वर्ष त उनी अस्ट्रेलियन ओपन उपाधिको निकै नजिक पुगेका थिए, तर पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा पराजित भए । विपक्षी खेलाडी थिए, नोभाक जोकोभिच । त्यो हार थिएमका लागि हृदयविदारक थियो ।

अस्ट्रियाका यी खेलाडीका लागि त्यो वास्तवमै असह्य पीडा थियो ।

उनी फेरि एकपल्ट ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेका छन्, यसपालिको यूएस ओपनमा । उनले सेमिफाइनलमा रुसका ड्यानिल मेडभेडेभलाई हराएका थिए । अब फाइनलमा उनले सामना गर्नेछन्् जर्मन खेलाडी एलेक्जेन्डर जेभरेभ । उनी फेरि एकपल्ट सपनाको ग्रान्ड स्लाम उपाधिबाट एकै जितमात्र टाढा छन् । प्रश्न हो, के थिएम चौथोपल्ट भाग्यमानी हुनेछन् त ? ‘पछिल्ला केही वर्ष म मेरो सपनाको उपाधि नजिक त पुगेको छु, तर प्रत्येकपल्ट असफल रहेको छु । मैले पहिलोपल्ट रोलान्ड ग्यारोसमा फाइनल खेलेको थिएँ, गत वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा त उपाधिबाट केही अंकमात्र टाढा थिएँ । अहिले फेरि एकपल्ट मेरो सपनाले मलाई ढक्ढकाउन आएको छ । म फेरि एकपल्ट आइतबार फाइनल खेल्दैछु,’ थिएम भन्छन् । उनी थप्छन्, ‘मलाई थाहा छ, भएभरको दबाब मलाई नै छ । त्यसैले मैले फाइनलमा के हुन्छ भनेर सोच्न छाडेको छु । अब पनि पराजित रहें भने मैले गर्नसक्ने नै के हो र ? खाली फेरि अर्कोपल्टका लागि कडा मिहिनेत । जेहोस्, अबको फाइनलमा जित्नका लागि मैले सक्दो मिहिनेत गर्नेछु ।’ हुन पनि यी भनाइले उनी अहिले कस्तो स्थितिबाट गुज्रिरहेका छन्, प्रस्ट पार्छ ।

यसपल्टको यूएस ओपन फाइनल खेल्नेछन् भन्नेमा थिएम आफूलाई मात्र होइन, धेरैलाई शंका थियो । उनी यूएस ओपनको तयारीका रूपमा भएको वेस्टर्न एन्ड साउथर्न ओपनको पहिलो चरणमै पराजित भएका थिए । उनको खराब लय न्युयोर्कमा अघिल्लो साता पनि चलिरह्यो, उनले सुरुआती चरणमा राम्रो खेल्नै सकेनन्, जेनतेन जितेर अगाडि बढेका थिए ।

तर मेडभेडेभविरुद्ध सेमिफाइनलमा प्राप्त उनको जित भने गज्जबको थियो । भन्न त भन्नैपर्छ, यो सिधा सेटमा प्राप्त जित थियो, तर दोस्रो र तेस्रो सेट सजिलो रहेन । मेडभेडेभ यी दुवै सेटमा जितको संघारमा थिए तर, उनी त्यसलाई छुन भने असफल रहे । थिएम दुवै अवसरमा आत्तिएनन् । त्यसैले रुसी खेलाडी खेलपछि भन्न बाध्य रहे, ‘थिएमले च्याम्पियनले जसरी खेले ।’

थिएम आफैं भने यो खेल निकै प्रतिस्पर्धात्मक भएको मान्छन् । भन्छन्, ‘सेमिफाइनलमा खेलिएको टेनिस अब्बल दर्जाको थियो । आजको खेलमा म मज्जाले दुई सेटले पछाडि रहन पनि सक्थें । तर भाग्य मेरो साथमा थियो, मैले राम्रो टेनिस खेलें । विशेषतः अन्तिम दुवै सेटको अन्त्यमा मैले उत्कृष्ट खेल खेलें ।’ उनी फाइनलअगाडि लय समात्न सफल रहेकोमा खुसी पनि छन् ।

यसअघिको तीन ग्रान्ड स्लाम फाइनलमा उनी उपाधिका खास प्रत्याशी थिएनन् । नडाल र जोकोभिचसामु उनलाई सबैले कमै आँकेका थिए । अबको फाइनलमा भने उनी नै बलियो प्रत्याशी हुन्, कम्तीमा कागजमा उनी बलिया छन् । हुन् पनि अहिलेसम्म फाइनलका दुई प्रतिद्वन्द्वीबीच जति खेल भएका छन्, त्यसमा थिएम नै जेभरेभभन्दा अगाडि छन्, ७–२ ले ।

त्यसपछि यी खेलका पछिल्ला तीन नतिजा उनकै पक्षमा छ । यसै वर्षको अस्ट्रेलियन ओपनको सेमिफाइनलमा थिएमले नै हो, जेभरेजलाई चार सेटमा हराएको । उनी आइतबारको फाइनलको त्यसरी नै तयारी गर्नेछन्, जसरी उनले पहिलो चरणका लागि गरेका थिए । त्यसो भनेको पहिलो चरण होस् अथवा फाइनल, खेलमा सानो भूल पनि ठीक हुन्न ।

अन्त्यमा थिएमले भनेका छन्, ‘जतिबेला जोकोभिच प्रतियोगिताबाट बाहिरिए, त्यही बेला निश्चित भइसकेको थियो, यसपल्ट प्रतियोगिताले नयाँ च्याम्पियन पाउँदै छ । त्यस मोडदेखि मैले उपाधिबारे धेरै सोच्न छाडेको थिएँ । मेरो ध्यान खाली प्रतिद्वन्द्वी खेलाडीमै सीमित थियो । जेभरेभविरुद्ध पनि म यही रणनीतिले खेल्नेछु । मेरो मनमा यो फाइनल हुने छैन, खाली उनीविरुद्धको खेलमा हुनेछ ।’

प्रकाशित : भाद्र २८, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?