२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एसियाली खेलकुदलाई तयारी तीव्र

लक्ष्मी लम्साल

बेइजिङ — चीनले कोभिड १९ महामारीबीच झेजियाङको प्रान्तको ह्याङझोमा हुने १९ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताको तयारी जारी रहेको जनाएको छ ।

एसियाली खेलकुदलाई तयारी तीव्र

एसियाली खेलकुद हुने ठ्याक्कै दुई वर्ष बाँकी छ । सन् २०२२ मा हुने प्रतियोगिताको दुईवर्षे काउन्टडाउन सुरु भएको छ। ह्याङझोले सन् २०१५ को सेप्टेम्बरमा ओसिएबाट आयोजना अधिकार पाएको थियो ।

खेलकुद तयारीबारे अघिल्लो साता आयोजित समन्वय समितिको तेस्रो भर्चुअल कन्फ्रेन्समार्फत जानकारी दिइएको हो । एसियाली ओलम्पिक कमिटी (ओसिए) का आजीवन मानार्थ उपाध्यक्ष एवं एसियाली ओलम्पिक काउन्सिल समन्वय समितिका अध्यक्ष राजा रणधिर सिंहले बैठकमा ह्याङझो खेलकुदको तयारीमा प्राप्त चरणबद्ध उपलब्धिबारे जानकारी गराएका थिए। उनले तयारीप्रति प्रशंसा गर्दै उत्कृष्ट एसियाली खेलकुद आयोजना हुने विश्वास दिलाएका थिए ।

ह्याङझो एसियाली खेलकुद आयोजक समितिका उपमहासचिव, ह्याङझो सहरका उपमेयर छन वेइ चियाङलगायतले कोरोना भाइरसका बाबजुद प्रतियोगिता आयोजनाका लागि तयारीहरू यथावत राखिएको बताए । उपमेयर वेइ चियाङले भने, ‘यस वर्षको सुरुदेखि नै कोभिड महामारी देखा परे तापनि लक्षित तयारीमा कुनै तलमाथि भएको छैन र समयमै संरचना निर्माणको काम पूरा हुनेछ ।’

चिनियाँ खेल अधिकारीहरूले एसियाली खेलकुदलाई नयाँ उचाइमा लैजान प्रयास गरिने प्रतिबद्धता जनाए । मुख्य रंगशालाको रूपमा ‘बिग लोटस’ को नाम दिइएको रंशगाला निर्माण भएको छ । १२ वटा नयाँ खेलस्थल निर्माण गरिएकोमा यो एक हो । ५३ खेल प्रतियोगिताका लागि सन् २०२० को अन्त्यसम्म ४२ वटा निर्माण सम्पन्न गर्ने लक्ष्य छ भने बाँकी २०२१ मार्चसम्म सक्ने आयोजकको लक्ष्य छ । एसियन खेलाडी भिलेजको निर्माण कार्य पनि चलिरहेको जनाइएको छ ।

अधिकांश रंगशाला संरचन २०२१ मा बनिसक्ने चिनियाँ अधिकारीहरूले जानकारी गराएका छन् ।

सन् २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म चीनले तेस्रो पटक एसियाली खेलकुदको आयोजना गर्दै छ । यसअघि १९९० मा ११औं एसियाली खेलकुद बेइजिङ र १६ औं एसियाली खेलकुद सन् २०१० मा ग्वाङझोमा भएका थिए ।

एसियाली खेलकुदमा ४० खेलमा १० हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : भाद्र २८, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?