१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलिदानी ‘ओर्जिनल नाइन’ को

व्यावसायिक महिला टेनिसमा अचेल के छैन ? सबथोक छ, स्टारडमदेखि लिएर पुरस्कारमा लाखौंलाख डलर अनि त्यत्तिकै बराबरी प्रायोजकको अनुबन्ध । तर आजभन्दा ५० वर्ष अगाडि त्यस्तो केही थिएन । बरु उल्टै महिला टेनिस खेलाडीलाई हेप्ने गरिन्थ्यो । त्यसकै विरोधमा सुरू भएको आन्दोलन खालि टेनिसको मात्र रहेन, समग्र महिलाकै आन्दोलन बनेको थियो । अहिले महिला टेनिस जे जस्तो स्थितिमा छ, त्यो त्यही आन्दोलनकै कारणले हो ।
मेलिसा मर्फी

न्युयोर्क — ठ्याक्कै ५० वर्षअगाडि बिली जिन किङ र उनका आठ साथी खेलाडीले महिलाको नयाँ व्यावसायिक टेनिस सुरु गर्न एक डलरको अनुबन्ध गरेका थिए । त्यही ऐतिहासिक अवसरका लागि सेरेना विलियम्सले सबै ९ खेलाडीलाई धन्यवादको सन्देश पठाएकी छन् । किङ र उनका साथीहरूलाई ‘ओर्जिनल नाइन’ पनि भनिन्छ ।

बलिदानी ‘ओर्जिनल नाइन’ को

अहिले महिला टेनिस खेलाडीले पुरस्कार र अनुबन्धमा जुन लाखौं डलर पाइरहेका छन्, त्यसको आधार त्यही बेला तयार भएको थियो । महिला खेलाडीहरू आजित भइसकेका थिए, आफूहरू दोस्रो दर्जाको व्यवहारका लागि । महिला खेलाडीले प्रायोजन त पाउँदैन थिए नै, तिनलाई पुरुष खेलाडीको तुलनामा धेरै कम पुरस्कार राशि दिइन्थ्यो । ‘ओर्जिनल नाइन’ ले निर्णय गर्‍यो । होइन, अब यसरी चल्दैन अनि भत्काउने प्रयास गरे परम्परागत सोच र स्थापित मान्यता । त्यसैले उनीहरूले प्रमोटर तथा पूर्वटेनिस महिला खेलाडी ग्लाडिस हेल्डम्यानसँग अनुबन्ध गरे । सन् १९७० सेप्टेम्बर २३ मा उनीहरूले हेल्डम्यानसँग गरेको अनुबन्धको रकम थियो, एक डलर ।

सन् १९७७ को सेप्टेम्बर ३ मा रोजीमेरी कासल्स ।

अनुबन्ध के भएको थियो, तिनीहरूको विरोधमा उत्रिहाल्यो, यूएस लनटेनिस संघ । चेतावनी दिइएको थियो, यो अनुबन्ध भंग गरिएन भने ती खेलाडीलाई ग्रान्ड स्लाम टेनिसमा भाग लिन दिइने छैन अनि देशको प्रतिनिधित्व गरेर पनि खेल्न दिइने छैन । किङ अहिले सम्झिन्छिन्, ‘हामीले त्यो बेला पक्कै पनि ठूलै जोखिम मोलेका थियौं ।’

ती महिला खेलाडी कति धेरै दृढ रहे भने त्यसयता टेनिस नै खेल्न नपाए पनि उनीहरू त्यसका लागि त्याग गर्न तयार भए । हेल्डम्यानले आफ्नो पुरानो मित्र तथा टोबाको कम्पनी फिलिप मोरिसका सीईओ जो कुलम्यानलाई तयार पारिन्, महिला टेनिसको नयाँ सर्किटको प्रायोजन गर्न । त्यसमा सहभागी हुन किङ र उनका साथीहरू तयार भइहाले । प्रतियोगिताको नाम थियो, भर्जिनिया स्लम आमन्त्रण । अनि प्रतियोगिता भएको थियो, हस्टनमा । ‘ओर्जिनल नाइन’ मा सात अमेरिकी खेलाडी थिए, किङसँगै हेल्डम्यानकी छोरी जुली, रोजी कासल्स, पिच बार्टकोविज, क्रिस्टी पिगन, नान्सी रिची र भलेरी जिगेनफुस । बाँकी दुई अस्ट्रेलियाली थिए, जुडी टेगार्ट डाल्टन र केरी मेलभली रिड ।

सन् १९७९ को डिसेम्बर ३ मा ग्लाडिस हेल्डम्यान । जसले महिला टेनिसलाई व्यावसायिक बनाउन सहयोग गरिन् ।

यही प्रतियोगितापछि सन् १९७३ मा अस्तित्वमा आएको थियो, वुमेन्स टेनिस एसोसिएसन अर्थात डब्लूटीए । त्यसयता यसैले महिला व्यावसायिक टेनिसका प्रतियोगिता आयोजना गर्न सुरु गरियो । आजभोलि डब्लूटीएले २९ देशमा ५५ प्रतियोगिताको आयोजना गर्छ । यसमा कुल पुरस्कार राशि छ, १९ करोड ९० लाख डलर । अहिले चलिरहेको यूएस ओपनका क्रममा डब्लूटीए र यूएस टेनिस एसोसिएसनले ५० वर्षको अवसरलाई मनाउने पनि छ ।

अब त कस्तो पनि भइसक्यो भने चारै ग्रान्ड स्लामले पुरुष र महिला खेलाडीलाई पुरस्कार राशि समान नै प्रदान गर्छ । यसका लागि किङले लामो समयदेखि प्रयास गरिरहेकी थिइन् । यूएस ओपनको यसपालिको विजेताले समान ३० लाख डलर पुरस्कार राशि पाउने छन् । ‘केही ठूला काम सुरु गर्न केही बलिया व्यक्तित्व आवश्यक पर्छ, ५० वर्षअगाडि उनीहरूले यही काम गरे अनि अहिलेको पुस्ताले जे जति पाएको छ, त्यसको श्रेय उनीहरूलाई जान्छ ।’

आधुनिक टेनिस सुरुआत

आधुनिक युगको टेनिस सन् १९६८ बाट सुरु भएको मानिन्छ । जतिबेलादेखि टेनिस खेलाडीले खेलेवापत पैसा पाउने भए । किङले सुरुमा आफ्ना पुरुष खेलाडीहरूसँग सल्लाह गरिन्, अलग्गै टेनिस संघ बनाउने । त्यतिबेला ग्रान्ड स्लामसँगै केही ठूला प्रतियोगितामा पुरुष र महिलाले सँगै खेल्थे । किङका तत्कालीन पति ल्यारी भन्थे, ‘महिलाले अलग्गै संघ खोल्नुपर्छ ।’ तर सुरुमा किङले मानिनन् । भन्थिन्, ‘पुरुष खेलाडी पनि त हाम्रै साथी हुन् ।’

सन् १९७५ मा विम्बल्डन खेल्दा बिली जिन किङ

सन् १९७० मा आएपछि २६ वर्षीया किङले पनि मानिन् । संघ फुटाउनु आवश्यक नै छ, जतिबेला लस एन्जलसमा हुने प्यासिफिक साउथवेस्ट ओपनमा पुरस्कार राशिको घोषणा गरियो । त्यसका प्रमोटर थिए पूर्व खेलाडी ज्याक क्रामर । त्यो घोषणाअनुसार, विजेता पुरुष खेलाडीले १२ हजार ५ सय डलर पाउँथे भने महिला च्याम्पियनले १ हजार ५ सय डलरमात्रै । अनि त ती ९ खेलाडीले विद्रोही अनुबन्ध गरिहाले । अन्ततः यसले पूरा विश्व टेनिसलाई नै फाइदा गर्‍यो ।

जुली हेल्डम्यान पनि मान्छिन्, किङ र आफ्नी आमा ग्लाडिसले यो कामको आधार तयार पारेका थिए । त्यसलाई आर्थिक रूपमा सहयोग गर्न तयार भए फिलिप मोरिस । उनकी आमा महिला टेनिसको चर्चित पत्रिकाको प्रकाशक पनि थिइन् । उनी भन्छिन्, ‘मेरी आमामा कामप्रति खुबै आस्था थियो र उनी महिला टेनिसलाई सुधार्न चाहन्थिन् । त्यसलाई किङले सहयोग गरिन्, जो त्यतिबेलाकी सबैभन्दा ठूलो स्टार थिइन् ।’ हस्टनको प्रतियोगिताको महिलाले चर्को विरोध गरिहाले ।

सन् १९७१ को सेप्टेम्बर १० मा बिली जिन किङका साथ १६ वर्षे क्रिस इभर्ट ।

अनि त्यसको भोलिपल्ट नै भएको थियो, एक डलरको अनुबन्ध । किङ आफैं भन्छिन्, ‘आखिरमा त्यो एक डलरको अनुबन्धले कति धेरै परिवर्तन ल्यायो । हामी त्यतिबेला अबको नयाँ पुस्ताका लागि केही गर्नुपर्छ भन्थ्यौं ।’ भर्जिनिया स्लमको उपाधि २१ वर्षीया कासल्सले जितेकी थिइन्, डाल्टनलाई तीन सेटमा हराएर ।

किङले सिंगल, डबल्स र मिक्स डबल्समा गरेर ३९ ग्रान्ड स्लाम उपाधि जितिन् । ‘ओर्जिनल नाइन’ चाहन्थे, महिला खेलाडीले पनि सम्मानले खेलुन् अनि सम्मान कमाऊन् । मार्टिना नभ्रातिलोभा र क्रिस इभर्टले ‘ओर्जिनल नाइन’ थालेको अभियानलाई पछि साथ थिए, राम्रो र अब्बल दर्जाको टेनिस खेलेर । दुवैले समान १८–१८ पल्ट ग्रान्ड स्लाम जिते । दुवै खेलाडीले पुरस्कार राशिबाट मात्र होइन, प्रायोजनबाट पनि लाखौं डलर कमाए । नभ्रातिलोभा भन्छिन्, ‘ती ९ महिला टेनिस खेलाडी आफ्नो समयभन्दा पनि अगाडिका थिए । तिनले निकै ठूलो जोखिम उठाएका थिए र अहिले हामी सबै त्यसको प्रतिफल खाइरहेका छौं ।’

सन् १९६९ अप्रिल २५ मा जुली हेल्डम्यान ।

हुन पनि विश्व महिला टेनिसले धेरै लामो बाटो तय गरिसकेको छ । किङ अहिले ७६ वर्षकी भइन् । उनी चाहन्छिन्, महिला खेलाडीले अब फुटबल, हक्की र सफ्टबल खेलेर पनि त्यत्तिकै कमाउन्, जति पुरुष खेलाडीले कमाइरहेका छन् । उनी भन्छिन्, ‘हामीले ५० वर्षअगाडि टेनिसमा जुन समस्या भोगेका छौं, अहिले पनि केही खेलका महिला खेलाडीले त्यस्तै समस्या सामना गरिरहेका छन् । मुख्य तथ्य के हो भने महिला खेलाडी पनि राम्रो लगानी गर्नुपर्छ, प्रतिफल आउने नै छ ।’ –एपी

प्रकाशित : भाद्र २४, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?