सेरेनाले जितिन् सलोनीसँगको डर

पहिलो सेटको हारपछि सेरेना विलियम्समा अर्को एक स्तब्धपूर्ण हारको डर देखिएको थियो । दोस्रो सेट जितेपछि मात्र सेरेना ढुक्क देखिएकी थिइन् । ३८ वर्षीया सेरेना कीर्तिमान बराबरी हुने २४ औं ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् ।
एएफपी

न्युयोर्क — सुरुआती झट्का निस्तेज पार्दै अमेरिकी सेरेना विलियम्सले आइतबार यूएस ओपनको अन्तिम १६ को यात्रा तय गरेकी छन्  । यसका लागि उनले आफ्नै देशकी सलोनी स्टेफन्सलाई २–६, ६–२, ६–२ ले हराइन्  ।

सेरेनाले जितिन् सलोनीसँगको डर

न्युयोर्कमा तेस्रो वरीयताप्राप्त सेरेनाले पहिलो सेट गुमाएपछि खेलमा उत्कृष्ट पुनरागमन गरिन् । सन् २०१३ को अस्ट्रेलियन ओपनमा सलोनीले सेरेनालाई हराउँदै सनसीपूर्ण रूपमा सेमिफाइनल यात्रा तय गरेकी थिइन् । त्यतिबेला सलोनी १९ वर्षकी किशोरी थिइन् । सन् २०१७ मा भने उनी यूएस ओपनकी विजेता पनि रहिन् । न्युयोर्कमा उनलाई २६ औं वरीयताप्राप्त थियो ।

खेलपछि सेरेनाले भनिन्, ‘आजको खेलमा गाह्रो भयो, सलोनीविरुद्ध खेल्दा मैले अधिकांश समय बढी मिहिनेत गर्नुपरेको छ ।’ पहिलो सेटको हारपछि सेरेनामा अर्को एक स्तब्धपूर्ण हारको डर देखिएको थियो । यस्तोमा सेरेनाले पनि मानिन्, ‘मैले पहिलो सेटमा खासै धेरै भूल गरिनँ, तर सलोनीको खेल निकै उत्कृष्ट थियो ।’

दोस्रो सेट जितेपछि मात्र सेरेना ढुक्क देखिएकी थिइन् । ३८ वर्षीया सेरेना कीर्तिमान बराबरी हुने २४ औं ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । अब उनले क्वाटरफाइनल प्रवेशका लागि १५ औं वरीयताकी मारिया साकारीको समाना गर्नेछिन् ।

साकारी तिनै खेलाडी हुन्, जसले यूएस ओपनको तयारीका रूपमा भएको वेस्टर्न एन्ड साउथर्न ओपनमा सेरेनालाई हराएकी थिइन् । सेरेनाले अन्तिम पटक सन् २०१७ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् ।


बुल्गेरियाकी स्भेटाना पिरोन्कोभाको प्रतियोगितामा अपूर्व यात्रा कायम रह्यो । उनले १८ औं वरीयता प्राप्त डोना भेकिचलाई ६–४, ६–१ ले हराइन् । अहिलेसम्म कुनै सेट नगुमाएकी पिरोन्कोभाले अर्को चरणमा फ्रान्सकी एलिज कोर्नेटको सामना गर्नेछिन् ।

कोर्नेटले भने मेडिसन केयसविरुद्धको खेलमा विजयी रहिन् । खेल ७–६, ३–२ ले कोर्नेटको पक्षमा रहेको बेला घाँटीको चोटका कारण केयसले खेल छाडेकी थिइन् । बेलारुसकी भिक्टोरिया अजारेन्काले इगा स्वाटेकलाई ६–४, ६–२ ले हराइन् ।

पुरुषतर्फ गत वर्षका उपविजेता रुसी खेलाडी डानिल मेडभेडेभ भने प्रतियोगिताको तेस्रो चरण पुगेका छन् । उनले अमेरिकी खेलाडी जेजे उल्भसलाई ६–३, ६–३, ६–२ ले हराए । उनले अब अमेरिकाका फ्रान्सेस टिफोएविरुद्ध खेल्नेछन् । टिफोएले भने हंगेरीका मार्टन कसोभिचलाई ६–२, ६–३, ६–२ ले हराए ।

दोस्रो वरीयताप्राप्त डोमिनिच थिएमले भने मारिन सिलिचलाई ६–२, ६–२, ३–६, ६–३ को सेटमा पन्छाए । जितपछि थिएमले भने, ‘खेल पाँच सेट जान सक्ने स्थिति थियो, मेलै ठीक स्थितिमा खेल आफ्नो नियन्त्रणमा लिन सकें ।’


थिएम तीनपल्ट ग्रान्ड स्लाम फाइनल पुगे पनि तीनै अवसरमा पराजित भएका छन् । थिएमले अब क्यानडेली खेलाडी फेलिक्स एगुरको सामना गर्नेछिन् । यो साता कुनै पनि खेल नगुमाएका एगुरले कोरेन्टिन माटेटमाथि अहिलेसम्मकै सबैभन्दा सजिलो जित निकाले ।

उक्त खेलमा उनी ६–१, ६–०, ६–४ ले वियजी रहे । उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम १६ मा पुगेका यो पहिलोपल्ट हो । उनले अब थिएमलाई बलियो चुनौती पेस गर्न सक्नेछन् ।

प्रकाशित : भाद्र २२, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?