१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अबको बहस, खेलकुद कसरी अगाडि बढाउने ?

'नेपाली खेलकुदले ठोस पुनरागमन गर्न सक्छ, तर अहिलेको स्थितिमा चुप लागेर भने हुन्न । कम्तीमा सम्बन्धित खेलाडी, संघ, मन्त्रालय, परिषद् र ओलम्पिक कमिटी बसेर बहस त सुरु गरौं, अब नेपाली खेलकुद कसरी अगाडि बढाउने भनेर । यो संवाद ‘भर्चुअल’ पनि हुन सक्छ, कसैले त पहल गरौं ।'
हिमेश

काठमाडौँ — खेलकुदको एउटा सामान्य नियम नै हो । लगातार प्रशिक्षण गर्दा स्तर उकास्न हम्मेहम्मे पर्छ । लामो समयको मिहिनेतपछि पनि प्रदर्शनमा सामान्य सुधार हुन्छ । यो त सबैलाई थाहा नै छ । सबैलाई के राम्रोसँग थाहा छ भने अभ्यास गर्न साता दिनमात्र छोड्नुपर्छ, स्तर सिधारेखा जस्तै तलतिर झर्छ । माथि जान कति गाह्रो तर तल झर्न केही नगरे पुग्ने ।

अबको बहस, खेलकुद कसरी अगाडि बढाउने ?

कोरोना भाइरस संक्रमणको महामारीले नेपाली खेलकुद पनि नराम्रोसँग थलिएको छ । उत्तिकै नराम्रोसँग गलेको छ । यतिखेर नेपाली खेलकुदको स्तर कस्तो छ त ? यसको उत्तर आउँछ, शून्य । सुन्दा नमीठो लाग्नेछ तर लगातार अभ्यासबाट टाढा रहेपछि नेपाली खेलाडीको प्रदर्शन स्तर गर्ल्यामगुर्लुम नै ढलेको छ । भर्खर–भर्खर लकडाउन सुरु हुँदा नेपाली खेलकुदलाई केही प्रतियोगिता रोकिएकोमा चिन्ता थियो ।

सहिद स्मारक लिग ‘बी’ डिभिजन सातदोबाटोको मैदानमा चलिरहेको थियो । ठ्याक्कै रोकियो । धेरै भन्थे, यो एउटा प्रतियोगिता सिध्याउन पाएको भए, कति राम्रो हुन्थ्यो ।

अनि केही खेलाडी टोकियो ओलम्पिकको छनोट तयारीमा थिए । पछि त टोकियो ओलम्पिक नै एक वर्षले पछाडि सर्‍यो । त्यससँग सम्बद्ध खेलाडीलाई चित्त दुखेको थियो, यसरी आफ्नो खेलजीवनकै सबैभन्दा ठूलो मोडबाट पछाडि हट्नुपर्दा ? केही दिनपछि खेलाडीलाई आर्थिक समस्या हुन थालेको समाचार पनि आयो । दिन अगाडि बढ्दै गए, नेपाली खेलकुदमा समस्या थपिँदै गए अनि बिस्तारै धेरैले भन्न थाले, अब त अभूतपूर्व समस्या आइपरेको छ, नेपाली खेलकुदमा ।

यो समस्या हो, नेपाली खेलकुदको स्तर लगभग शून्यको स्थितिमा झर्दा । अरू सबैलाई जस्तो आर्थिक समस्या खेलाडीलाई पनि परेको छ  तर अहिलेको समस्या त्यो भन्दा पनि भयावह हो । त्यो हो, नेपालका अन्तर्राष्ट्रियस्तरकै खेलाडी कतै खेल छाडेर अन्यत्र पलायन हुने त होइन ? पछिल्लो दक्षिण एसियाली खेलकुदमै स्वर्ण पदक जितेका खेलाडीले नै भन्न थालेका छन्, राम्रो विकल्पको अभावमा हामी अब बिस्तारै अन्यत्र लाग्दै छौं अथवा लाग्न दबाब छ ।

विश्वस्तरमै गरिएको सर्वेक्षणअनुसार अनुमान के छ भने नेपालजस्तो देशका प्रमुख भन्न मिल्ने खेलाडीमध्ये २५ प्रतिशतको हाराहारीमा अन्यत्र लाग्न सक्छन्, तिनीहरू दोहोर्‍याएर फेरि खेलकुदमा नआउन पनि सक्छन् । अथवा आए पनि तिनको प्रदर्शन पहिलाजस्तो हुने छैन, पहिलाजस्तो प्रदर्शन हात पार्न फेरि वर्षौंको मिहिनेत चाहिने हुन्छ । ‘सबैभन्दा गम्भीर विषय यही हो,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ पनि यस्तै मान्छन् ।

अभ्यास कहिले सुरु गर्ने त ?

ओलम्पिक छनोटमै सहभागी खेलाडीले लकडाउनको बीचमै वा त्यसकै छेउछाउमा केही समय अभ्यास गरे । तर यो पनि लामो समय चल्न सकेन । पछिल्लो दक्षिण एसियाली खेलकुद पदक जितेका आधारमा नेपालका लागि धेरै सफल रह्यो । सोचेभन्दा धेरैले स्वर्ण जिते । यसका लागि धेरैलाई श्रेय दिनुपर्छ । यो श्रेय एक जनालाई दिन लोभिनु हुन्न । उनी हुन्, पूर्वसदस्य–सचिव युवराज लामा । उनले आफू पदमा छँदा एउटा राम्रो कार्यक्रम ल्याएका थिए । त्यो थियो, प्रमुख–प्रमुख खेलको राष्ट्रिय टिम ।

राष्ट्रिय टिममा कुनै पनि खेलका प्रमुख र सफल खेलाडी हुन्थे, तिनले नियमित अभ्यास गर्थे । तिनलाई ‘डाइट’ का लागि भनेर केही रकम दिइएको थियो । यो कार्यक्रम उद्घाटनको अवसरमा उनी ख्यालख्यालमै भन्थे, ‘मलाई धेरै होइन, ४०–५० स्वर्ण जति भए पुग्छ ।’ नेपालले यो भन्दा बढी स्वर्ण जित्यो । यसले देखायो लगातार अभ्यास गर्नुपर्छ, प्रतिफल आउँछ । तर अहिले यही अभ्यास नराम्रोसँग छुटेको छ । त्यो पनि धेरै समयदेखि ।

‘फेरि हामीलाई पुरानै स्थितिमा फर्कने हो भने त्यसका लागि धेरै लामो समय लाग्छ । खेलाडीलाई डर लाग्न थालिसकेको छ, अब आफ्नो प्रदर्शन फेरि पुरानै स्थितिमा कहिले पनि नआउला भनेर,’ सागका पूर्वस्वर्णधारी रहेका खेलाडीका अध्यक्ष दीपक भन्छन् । सदस्य–सचिव लामा हुँदा सुरु भएको राष्ट्रिय टिमको सोच कार्यान्वयन गर्न देशको लाखौं, करोडौं खर्च भइसकेको छ । त्यसमा केही थपिए होलान्, केही छुटे होलान् । तर प्रशिक्षणको अभावमा यही टिमको प्रदर्शन खिया लाग्न थालेको छ ।

‘कम्तीमा प्रमुख–प्रमुख खेलका मुख्य–मुख्य खेलाडीको प्रदर्शन क्षमता र योग्यतालाई बचाउन केही न केही गर्न धेरै ढिला भइसक्यो,’ उनी मान्छन् । यसलाई लिएर उनीसँग केही सुझाव छन् । जस्तो, टोकियो ओलम्पिक एक वर्षपछि हुन्छ, त्यो निश्चित छ । यसको छनोटका लागि त तयारी गरौं । विदेशतिर पनि खेलाडीको अभ्यास र प्रशिक्षण सुरु भइसकेका छन् । खाली के मात्र हो भने यसमा सुरक्षाका लागि कडा नियम भने लागू हुनुपर्छ, पूरा–पूरा टिम नै क्वारेन्टाइनमै बस्न सक्छ ।

असुरक्षित भविष्य

नेपाली खेलकुदमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट जस्ता खेलाडी अहिलेसम्म सानले यो क्षेत्रमा किन छन्भन्दा एक हदसम्म तिनले आफ्नो भविष्य देखे । सन् १९९९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका अधिकांश खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा जागिर पाए । त्यसमध्ये एक त करातेका यिनै दीपक श्रेष्ठ पनि हुन् । कम्तीमा यी तीन खेलाडीमाथि भएको लगानीका कारण यिनीहरूले प्रशिक्षकका रूपमा नेपाली खेलकुदमै गतिलो योगदान दिएका छन् ।

तर पछिल्लो दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलाडीलाई लिएर खासै केही निर्णय भएको छैन । त्यसैले तिनीहरू लामो समय नेपाली खेलकुदमै टिकिरहने सम्भावना कम छ । कोरोना भाइरस संक्रमणको महामारीपछि सिर्जित नयाँ परिस्थितिले नेपाली खेलकुदबारे एउटा तथ्य भने ठ्याक्कै देखाएको छ, नेपालमा व्यावसायिक खेलाडी भन्न लायक नै कति रहेछन् र ? छैन नै भन्दा हुन्छ । भए पनि त्यसको संख्या हातमा गन्न मिल्ने खालको मात्र छ ।

‘त्यसैले नयाँ परिस्थितिले यसबारे पनि सोच्न हामी सबैलाई बाध्य पारेको छ,’ अध्यक्ष दीपक थप्छन् । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष हुन्, चतुरानन्द राजवैद्य । भर्खरै उनले नेपाल ओलम्पिक कमिटीमा प्रमुख कार्यकारीको जिम्मेवारी पाएका छन् । उनी मान्छन्, नेपाली खेलकुदमा अवस्था ठीक छैन । उनी के मान्छन् भने राम्रै संख्यामा खेलाडी र प्रशिक्षकले कहीं न कहीं जागिर पाएका छन्, परिषद्देखि पुलिस, आर्मी र एपीएफमा ।

त्यसैले उनलाई चिन्ता हो, नेपाली खेलकुदको जुन स्तर छ, त्यसमै गिरावट आउला भनेर । उनले यो सबै समस्याबीच एउटा उपाय निकालेका छन् । त्यो हो, अहिले तत्काल खेलाडीको त्यस्तो सूची निकाल्ने, जसले देखाउन सक्नेछ । को अन्तर्राष्ट्रियस्तरका छन्, को राष्ट्रियस्तरका छन् र को कसमा अगाडि बढ्ने क्षमता छ । उनी पनि मान्छन्, देशको प्रतिनिधत्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती पेस गर्नसक्ने खेलाडीलाई बचाउन जरुरी छ । यो कामका लागि हतारो भइसक्यो ।

अब के त ?

व्यवस्थापनमा दखलता प्राप्त राजवैद्य भन्छन्, ‘अब कोरोना संक्रमणको महामारीका कारण विश्व त्यसरी परिवर्तत हुनेछ, जसलाई लिएर हामी कसैले सोचेका पनि थिएनौं । त्यसैले अब नेपाली खेलकुद परिवर्तन हुनेछ, त्यसलाई सुहाउँदो नीति कार्यक्रम कस्तो हुनुपर्ने हो, अब त्यसबारे बहस आवश्यक छ ।’

उनलाई के विश्वास छ भने नेपाली खेलकुदले ठोस पुनरागमन गर्न सक्छ, तर अहिलेको स्थितिमा चुप लागेर भने हुन्न । त्यसैले उनको सुझाव हो, ‘नेपाली खेलकुदसँग सम्बन्धित निकाय जति छन्, उनीहरू एकजुट हुनु पर्‍यो र बहस गर्नुपर्‍यो । अबको दिनमा नेपाली खेलकुदलाई कसरी अगाडि बढाउने त ?’

यसमै दीपक थप्न चाहन्छन्, ‘हामीसँग जे जति खेल जनशक्ति छ, त्यसलाई जोगाउनुपर्‍यो ।’ कम्तीमा सम्बन्धित खेलाडी, संघ, मन्त्रालय, परिषद् र ओलम्पिक कमिटी बसेर बहस त सुरु गरौं, अब नेपाली खेलकुद कसरी अगाडि बढाउने भनेर । यो संवाद ‘भर्चुअल’ पनि हुन सक्छ, कसैले त पहल गरौं ।

प्रकाशित : भाद्र २१, २०७७ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?