नेपाली क्रिकेटको २५ वर्ष  : त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

विनोद पाण्डे

काठमाडौँ — ‘त्यति ठूलो प्लेन र भव्य होटल हामीले कहिल्यै देखेका थिएनौं,’ सन् १९९६ मा मलेसिया एसीसी ट्रफी क्रिकेट खेल्न गएको स्मरण गर्दा खेलाडीहरू यसै भन्छन् । त्यति ठूलो नलागोस् पनि कसरी ? त्यो नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो । त्यसमा अधिकांश नेपाली खेलाडीको पहिलो विदेश यात्रा थियो ।

नेपाली क्रिकेटको २५ वर्ष  : त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

सेप्टेम्बर ६ अर्थात आइतबार नेपाली क्रिकेटको यो यात्राले २५ वर्षमा टेक्दैछ । यो यात्राका क्रममा नेपाल प्रथम श्रेणी हुँदै ट्वान्टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यताप्राप्त राष्ट्र बनिसकेको छ । त्यसमा सन् १९९६ को नेपालको मलेसिया यात्रा सधैं विशेष रूपमा सम्झने गरिन्छ । नेपाली क्रिकेटले इतिहास रचेको दिन थियो यो । त्यसैले यसको चर्चा जति गरे पनि कम हुन्छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आफ्नो क्षेत्रमा एसोसिएट राष्ट्रका लागि यस्तो प्रतियोगिता गरेको थियो । त्यसैमा नेपाल सहभागी भएको हो । यसअघि नेपालले आमन्त्रण प्रतियोगिता नखेलेको होइन, तर यो आधिकारिक रूपमै पहिलो थियो । नेपाल समूह ‘ए’ मा बंगलादेश, फिजी, हङकङ, ब्रुनाई र जापानसँगै थिए । समूह ‘बी’ मा यूएई, पपुवा न्युगिनी, मलेसिया, सिंगापुर, माल्दिभ्स र थाइल्यान्ड थिए ।

नेपाल आफ्नो समूहमा चौथो भयो । पहिलो तीन स्थानमा रहेको बंगलादेश, फिजी र हङकङसँग पराजित नेपालले आफूभन्दा अंक तालिकामा तल रहेका ब्रुनाई र जापानमाथि विजय हात पार्न सकेको थियो । सेमिफाइनल पुग्न नसकेको नेपाल समूह चरणबाटै बाहिरियो । तर, नेपालका लागि सहभागिता नै विजय जस्तै थियो । किनभने यस प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा नेपाली क्रिकेटको ढोका खोलेको थियो । जसले नेपाली क्रिकेटलाई उजागर पारेको थियो ।

एसीसी ट्रफी खेल्न जाने भनेर २०५३ सालमा दुई पटक जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो । वीरगन्जमा सम्पन्न वर्षको दोस्रो जय ट्रफी मलेसिया यात्राका लागि छनोटको आधार थियो । त्यही प्रदर्शनका आधारमा वीरगन्जमा २५ जनाको बन्द प्रशिक्षण राखियो । बन्द प्रशिक्षणबाट उत्तम कर्माचार्य कप्तान र एलबी क्षेत्री उपकप्तान चुनिए । पाकिस्तानबाट फारूख जमान, भारतबाट वीरेन्द्र भटनागर ल्याएर नेपाललाई टोलीको प्रशिक्षण गराइएको थियो । नेपालबाट सुनोज भट्टराई, अरूण अर्याल र उमेश उपाध्यायले प्रशिक्षण दिएका थिए । मलेसियामा भट्टराईकै प्रशिक्षणमा नेपाली टोली उत्रियो ।

‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानु अत्यन्त महत्त्वपूर्ण थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाँदा जुन हुनुपर्ने हो, हाम्रो तयारी त्यसअनुरूप थिएन । प्रयास पक्कै भएको हो । त्यसबेला पर्याप्त सुविधा नै हुन्थेन । त्यसमाथि हाम्रो तयारीलाई वर्षाले धेरै प्रभावित पार्‍यो,’ तत्कालीन टोलीका अलराउन्डर मनीषराज पाण्डेले त्यो तयारीबारे सुनाए, ‘त्यस हिसाबमा भारत र पाकिस्तानका प्रशिक्षकबाट हामीले केही अवश्य सिकेका थियौं । वर्षाले हाम्रो अभ्यास धेरै बिथोलेको थियो । बिहान र बेलुका प्रशिक्षण हुन्थ्यो । पानी र हिलोले वार्मअपमै सीमित हुनुपर्थ्यो । गर्मीले दिउँसो प्रशिक्षण सम्भव थिएन ।’

सेप्टेम्बर ६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो । त्यो बंगलादेशसँग रोयल मिलिटरी कलेज मैदानमा थियो । टस जितेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय १३ रन बनायो । हारुनुर रसिदले रनआउट हुनुपूर्व सर्वाधिक ५२ रन बनाए । यसअघि नै अर्का ओपनर शाहरियर हुसैनलाई २५ रनमा एलबीको हातबाट क्याच गराएर वसन्त शाहीले विकेट लिए । वसन्त नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिने पहिलो खेलाडी बने ।

‘स्ट्राइक बलरहरू राजु खड्का र किरण राणाको बलमा धेरै क्याच मिस भइरहेको थियो । पहिलो विकेट लिनुको अर्कै उत्साह हुन्थ्यो, यो सबैले बुझेका थिए, त्यो मैले आत्मसाथ गर्न पाएँ,’ वसन्त ऐतिहासिक क्षण सम्झन्छन् ।

अमिनुल इस्लामले ४० रन बनाए । उनी एलबी क्षेत्रीबाट एलबीडब्लू आउट भए । ५१ रन बनाएका कप्तान अक्रम खानलाई पवन अग्रवालको हातमा राजुले क्याचआउट गराए । खालेद मसुद २, मोहम्मद रफीको खातामा कुनै रन रहेन । नेपालबाट राजुले ८ ओभरमा १ मेडन राख्दै ४१, एलबीले ९ ओभरमा ५६ र मुसरफ इजहारले १० ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर २–२ विकेट लिएका थिए । मनीष र वसन्तले १–१ विकेट लिनेक्रममा क्रमशः ८ ओभरमा ३१ र ३६ रन खर्चिए ।

मनीष र ओपनर पवन ओपनिङ ब्याटिङमा थिए । ‘हामीले वीरगन्जमा बन्द प्रशिक्षणमा अभ्यास गर्दा मैले फ्लिकमा केही शटको राम्रो अभ्यास गरेको थिएँ, बंगलादेशसँग मेरो पहिलो बाउन्ड्री शट फ्लिकमा डिप स्क्वायर लेगमा छक्का प्रहार गर्दै भयो,’ मनीषराजले स्मरण गरे । ४२ बल खेलेका उनी १३ रन बनाई सैफुल इस्लामको बलमा कट एन्ड बोल्ड भए । अर्का ओपनर पवनले ७ रन बनाए । २४ रन बनाएका कप्तान उत्तम रनआउट भए । सञ्जय गुरुङले खाता खोल्न सकेनन् । मुसरफ १३ रनले बनाए । गणेश शाही १२ र जगत टमाटा २ रनमा अविजित रहे । नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाई ९० रन बनाएको थियो । त्यसपछि वर्षाले बिथोलेपछि थप खेल हुन सकेन । बंगलादेश नेट रनरेटमा विजयी भयो । बंगलादेशका इस्लामले २ र अनिसुर रहमानले १ विकेट लिएका थिए ।

***

घरेलु क्रिकेटमा बंगलादेश निकै राम्रो थियो । त्यही भएर बंगलादेशलाई दाबेदारमा हेरिएको थियो । नेपालसँग भने बंगलादेशको ब्याटिङ खुल्न सकेन । बंगलादेशले फाइनलमा पपुवा न्युगिनीलाई पराजित गर्दै उपाधि जित्यो । टोली एसिया कपलाई छनोट भयो, जहाँ भारत, पाकिस्तान र श्रीलंकासँग खेल्ने अवसर हुन्थ्यो । ‘त्यतिखेर क्रिकेटको हिसाबमा हामीले चिनेको भनेको बंगलादेशमात्र थियो, अरू राष्ट्रबारे खासै केही थाहा थिएन, पहिलो भेटमै हामीले राम्रै प्रदर्शन दिन सकेका थियौं,’ पवनले सुनाए ।

सबै खेलाडीमा पहिलो खेल खेल्दा जोस थियो । मनीष स्मरण गर्छन्, ‘स्टाटसको हिसाबमा हेर्ने भने त्यतिखेर बंगलादेश हाम्रो स्तरमै थियो । पहिलादेखि नै एक्सपोजर पाइरहेको हुनाले उनीहरूको खेलमा डेभलप भइरहेको थियो । हाम्रो स्तरमा रहेकाले बंगलादेशलाई केही गर्न सक्छौं जस्तो लागेको थियो । हामी पनि भारतको रणजी स्तरका खेलाडीसँग खेलिरहेका थियौं ।’

बंगलादेशसँग खेल्दा आत्मबल राम्रै रहेको सुनाउँदै उनले थपे, ‘हामी जित्ने स्थितिमा त थिएनौं, तर खेल्दाखेल्दै पानी पर्‍यो । हाम्रो मुख्य विकेटहरू गइसकेको थियो । हामीले आवश्यक रनरेट कायम गर्न सकेनौं । बंगलादेशी टोलीमा जाकिर हुसैन थिए । उनी नाम चलेका खेलाडी थिए तर आफ्नो खेल जीवनको अन्त्यमा थिए । उनीसँग खेल्न पाउनु नै मेरा लागि सान थियो । म त्यतिखेर विराटनगरमा बंगलादेशको च्यानल खोलेर उनीहरूको म्याच हेर्थें । त्यसैले पहिलो खेलमा हामीले जुन प्रदर्शन दिएका थियौं, त्यसलाई नराम्रो भन्दिनँ ।’

बलर वसन्त शाही नेपालले बंगलादेशसँग जुन मौका पाएको थियो, त्यो सदुपयोग गर्न चुकेको बताउँछन् । ‘हामीले त्यही खेलबाट लामो फड्को मार्न सकिन्थ्यो जस्तो लाग्छ । तर हामीले १० वटै जति क्याच मिस गरेका थियौं । मेरै बलिङमा पनि २–३ क्याच छुटेको थियो । रनआउट गर्ने सम्भावना पनि धेरै गुमाएका थियौं, नत्र हामी राम्रो स्थितिमा थियौं । हामीले बंगलादेशलाई १ सय ५० रनको हाराहारीमा रोक्ने थियौं,’ वसन्तले भने, ‘लक्ष्य ठूलो थिएन । त्यो खेल हामी जित्न सक्थ्यौं । तर मौसम बिग्रिएको थियो, कालो बादल कालो ढाकिसकेको थियो । त्यतिखेर रनरेटको हिसाबकिताब हुन्थ्यो । लक्ष्य बनाएर खेल्नुपर्ने तर व्यवस्थापनबाट गलत सूचना आयो ।’

‘बंगलादेशजस्तो टोलीलाई यति सानो स्कोरमा रोक्दा तिमीहरूको हाइ हाइ भइसकेको छ,’ व्यवस्थापनले यस्तो भनेपछि आफूहरूले कुनै जोखिम नलिएको वसन्त सुनाउँछन् । ‘हाम्रो युवा खेलाडीको टोली थियो, सबैको सोच जित्नुपर्छ भन्ने थियो । पानी पर्ने निश्चित छ त्यही भएर जित्नतर्फ जानुपर्छ भन्ने थियो । अलि छिटो ब्याटिङ गर्नुपर्छ भन्ने थियो । राजु खड्कालाई माथि ब्याटिङमा पठाउनुपर्छ भन्नेमा हामी थियौं,’ वसन्तले सुनाए, ‘तर व्यवस्थापनबाट ५० ओभर

पूरै खेल्दै सय रनमात्र बनाए पनि केही हुन्न, अलआउट चाहिँ नहुनु भन्ने थियो । हामीलाई सकारात्मक सन्देश दिइएन । प्रयास गरेको भए इतिहास बन्न सक्थ्यो । त्यो एउटा जितले हामी अर्कै ठाउँ पुग्न सक्थ्यौं । मलाई अहिले आएर त्यो मौका गुमायौं जस्तो लाग्छ । त्यो मौका लिएको भए जे पनि हुन सक्थ्यो । पानी परेर खेल रोकिँदा हाम्रो स्कोर व्यवस्थापनकै कुरा सुनेअनुसार थियो ।’

पहिलो प्लेइङ ११

नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलेको टोलीको प्लेइङ ११ कस्तो थियो ? २५ वर्षअगाडि बंगलादेशसँग खेलेको पहिलो खेलबारे कुरा गर्दा त्यतिखेरका खेलाडीको जवाफ विशाल गुप्ताको नामबाट सुरु हुन्छ । विशालले मलेसियामा नेपालबाट एउटै खेलेनन् । त्यसैले उनको नाम टोलीका अन्य खेलाडीलाई ओठे जवाफजस्तै भएको छ ।

कप्तान उत्तम कर्माचार्य नेपालको नीलो ब्लेजर लगाएर व्यवस्थापक टीबी शाह (तारिणीविक्रम) ले हस्ताक्षर गरेको प्लेइङ लिस्टको नामावली लिएर टसका लागि गएका थिए । उनीसँग प्लेइङ ११ मा उपकप्तान एलबी क्षेत्री, मनीषराज पाण्डे, पवन अग्रवाल, सञ्जय गुरुङ, मुसरफ इजहार, गणेश शाही, जगत टमाटा, राजु खड्का, वसन्त शाही, किरण राणा थिए । विशालबाहेक पुकार पन्त र रितेश बराल प्लेइङ ११ बाहिर थिए । पुकार र रितेशले भने अन्य खेलमा खेल्न पाए पनि विशालले त्यो मौका पाएनन् ।

पहिलो म्यान अफ द म्याच

सेप्टेम्बर ७ मै नेपालले जापानसँग खेलेको थियो । पहिलो खेलमा बलियो टोली बंगलादेशसँग खेलेको नेपालले लगत्ते सबैभन्दा कमजोर टोली जापानसँग खेल्नुपरेको थियो । टस जितेको जापानलाई नेपालले ३३ ओभरमा ७२ रनमै अलआउट गर्‍यो । एच. मिनामीले १७ र एच ताकाहासीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नेपालले अतिरिक्तमा १९ रन खर्चेको हो, त्यसमा १२ वाइड थियो ।

एलबीले ६ ओभरमा ८ रनमात्र खर्चेर ३ विकेट लिँदै नेपालको पहिलो म्यान अफ द म्याचको दाबेदार भएर निस्किए । वसन्तले ५ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर २ विकेट लिए । राजुले ६ ओभरमा १ मेडन राख्दै १०, मनीषले ८ ओभरमा २ मेडन राख्दै १७ र पवनले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर समान १–१ विकेट लिए । कुनै विकेट लिन नसकेका किरणले ५ ओभरमा १ मेडन राख्दै ७ रन खर्चे ।

दोस्रो खेलमा नेपालले मौसमको स्थिति हेर्दै माथिल्लोक्रममै ब्याटिङ परिवर्तन गरेको थियो । मनीषसँगै सञ्जय गुरुङ ओपनिङ ब्याटिङमा आए । सञ्जय २० रन बनाई एस. अकागीको बलमा बोल्ड भए । मनीषले २७ रन बनाए र उनी नै म्यान अफ द म्याचमा चुनिए । राजु ८ र वसन्त ७ रनमा अविजित रहे । मनीषलाई मैदानमा म्यान अफ द म्याचको प्रमाणपत्रमात्र दिइएको थियो । सेप्टेम्बर १० मा अफिसियल डिनरमा मात्र उनलाई म्यान अफ द म्याचको ट्रफी दिइयो, जहाँ नेपाली टोलीले पानको पात र सिमसिमे पानी गीतमा आफूमात्र नाचेनन्, म्याच रेफ्री भारतका क्रिस श्रीकान्तलाई पनि स्टेजमा लगेर नचाए ।

‘जापान हाम्रो स्तरको हैन भनेर नै हामी मैदान प्रवेश गरेका थियौं । हामीभन्दा धेरै कमजोर टोली हो भन्नेमा स्पष्ट थियौं र उनीहरूले खेलेको पहिलो म्याचको नतिजाबाट त्यो थाहा पाइसकेका थियौं,’ पहिलो म्यान अफ द म्याच हुने सौभाग्य पाएका मनीषले भने, ‘पहिलो म्याच हारेकाले नेपाललाई रनरेटको दबाब थियो । मौसम फेरि बिग्रिएको थियो । बादल लागिसकेको थियो । म ब्याटिङ गरिरहँदा बाहिरबाट छिटो छिटो रन बनाउनु भनेर निर्देशन आयो । लक्ष्य थोरै थियो, जतिसक्दो चाँडो या म्याच सक्नु भन्ने थियो । मेरो विकेट पनि त्यही दबाबमा गयो । मैले खासमा त्यो खेलमा ३१ रन बनाएको थिएँ । तर स्कोररले मेरो एक चौका झुक्किएर अर्को ब्याट्सम्यानको खातामा हालिदिएका थिए ।’

पहिलो अर्धशतक

चौथो खेलमा मात्र नेपाली खेलाडीले अर्धशतक बनाउन सके । यो बहादुरी पवनले गरे । पहिलो ब्याटिङ गरेको नेपालले ४५ ओभरमा अलआउट हुनुपूर्व १ सय ७० रन बनाएको थियो । पवनले ८० रनको इनिङ्स खेलिदिए । ब्रुनाई पनि खासै ठूलो प्रतिद्वन्द्वी थिएन । नेपालले टोलीलाई ३४.४ ओभरमा १ सय ७ रनमा अलआउट गरी ६४ रनको जित पाएको थियो । मुसरफ इजहारले ८ रन र मनीषले २२ रन खर्चेर ३–३ विकेट लिए ।

‘गर्मी निकै थियो, क्रिजमा बिताउन धेरै गाह्रो भइसकेको थियो । त्यसमा एउटा इन्डबाट विकेट गइरहेकाले सम्हाल्न गाह्रो भइरहेको थियो । सञ्जय गुरुङ १२औं खेलाडी थिए, उनले नै अझै ब्याटिङ गर्न सकिन्छ भनेर हौस्याइरहेका थिए । टोलीका सदस्यले नै त्यसोभन्दा मनोबल निकै बढेको थियो,’ पवनले भने, ‘त्यहीअनुरूप पूरा ५० ओभर नै खेल्ने हो भन्नेमा थिएँ । मेरो र वसन्तको अन्तिम जोडी ४–५ ओभर टिकिसकेको थियो । ४५ औं ओभरको अन्तिम बलमा एक रन लिएर स्ट्राइक लिन खोज्दा मैले विकेटकिपरलाई क्याच दिन पुगे ।’

नेपाल तेस्रो खेलमा फिजीसँग १ सय २३ रनले र अन्तिम खेल (पाँचौं) मा हङकङसँग ५ विकेटले पराजित भयो । फिजीले नेपालसँग ७ विकेट गुमाई २ सय ५७ रन बनायो । वसन्त र मुसरफले २–२ विकेट लिए । जवाफमा नेपाल ४०.२ ओभरमा १ सय ३४ रनमा अलआउट भयो । पवनले अविजित ३३, गणेश शाहीले २४ र मनीषले १८ रन बनाए । मुसरफले ४९, किरणले २५ र गणेशले २३ रन बनाए पनि नेपालले हङकङसँग ४८.२ ओभरमा अलआउट भई १ सय ३१ रनमात्र बनायो । हङकङले ३३.३ ओभरमा ५ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो । वसन्तले २ तथा मनीष र एलबीले १–१ विकेट लिएका थिए ।

‘पूरा प्रतियोगितामा हाम्रा कुनै न कुनै खेलाडीले प्रदर्शन दिइरहेका थिए, चाहे त्यो ब्याटिङमा होस् चाहे त्यो बलिङमा । त्यतिबेलाको स्तरमा हेर्दा फिल्डिङ हाम्रो कमजोर पक्ष थियो । बंगलादेश, फिजीसँग हामीले क्याचहरू छाडेका थियौं । त्यसबाहेक हाम्रो ग्राउन्ड फिल्डिङ पनि चुस्त थिएन । मिस फिल्ड धेरै भइरहेको थियो,’ मनीषराज सम्झन्छन्, ‘हामी एउटा टिमका रूपमा डेभलप हुन सकेको थिएनौं, सायद त्यसको प्रभाव फिल्डिङमा देखिएको थियो ।’

नेपालको तर्फबाट ठूलो इनिङ्स खेलेका पवनले १ सय २५ रन बनाए । वसन्तले नेपालबाट सर्वाधिक ८ विकेट लिए । वसन्त यो सफलताको कारण यसरी दिन्छन्, ‘त्यहाँ टर्फ विकेट थिएन । सेन्थेटिक टर्फ विकेट थियो । त्यो विकेट समग्रमा ब्याट्सम्यानलाई नै राम्रो थियो । बलरले स्वीङ गराउन सक्नुपर्थ्यो । मैले ठाउँमा बल फालिरहेको थिएँ, विकेट त्यही भएर पाएँजस्तो लाग्छ । त्यहाँ नेपालबाट सबै ५ खेल खेल्ने ७–८ जनामात्र थिए, त्यसमा भाग्यमानी म थिएँ । सबै खेल खेलेकाले मेरो विकेट धेरै भएको हुनसक्छ ।’

आइकोनिक फोटो

दुई साताअघि जस्तो नगेन्द्र भट्टराईले वीरगन्जको बन्द प्रशिक्षणक्रममा रहेको एकै खाले दुई फोटो फेसबुकमा हालेका थिए । यो तस्बिर वीरगन्ज क्याम्पको आइकोनिक तस्बिर जस्तै छ । बेलाबखत क्याम्पमा रहेका खेलाडीले यो फोटो पोस्ट गरिरहन्छन् । त्यसमा मलेसिया जान चुकेका खेलाडीहरूसहित प्रशिक्षण टोली छ ।

माईस्थानको मन्दिरछेउ धर्मशालामा नेपाली टोली बसेको थियो । बेलुका ९ बजेपछि ब्ल्याक आउट हुन्थ्यो, बत्ती बल्दैनथ्यो । यही नियम बनाइएको थियो । यही नियममा सबै बाँधिएका थिए, सबैले पालना पनि गर्थे । बिहान ६ बजे मैदान जान निस्किसक्थे । जिउ तन्काउँदै, दौडिँदै १५–२० मिनेट लगाएर प्रशिक्षणका लागि नारायणी रंगशाला पुग्थे । पानी नभएको अवस्थामा ब्याटिङ र बलिङ प्रशिक्षण पनि हुन्थ्यो । हैन भने हिलोमा डाइभ हानेर क्याचको लिनुको मजा खेलाडीहरूमा अर्कै थियो ।

विदेशी प्रशिक्षकद्वय भटनागर र जमाल सम्झना होटलमा बसेका थिए । त्यही होटलमा एउटा अन्तर्राष्ट्रिय म्याच देखाएर प्राविधिक पक्षबारे जानकारी गराइएको थियो । त्यसपछि त्यो फोटो खिचिएको थियो, जुन फोटो आइकोनिकजस्तै बन्यो । त्यो फोटोमा नगेन्द्रसहित, सन्दीप श्रेष्ठ, दीपेन्द्र सिंह, शंकर राना, राजेश पन्त, सर्वजीत पाण्डे, किरण अग्रवाल, भवेश थापा, प्रशन्न पराजुली, राजु केसी पनि देखिन्छन्, जो १४ सदस्यीय अन्तिम टोलीमा परेका थिएनन् । प्रफुल्ल वैद्यलाई नेपालको कप्तानको एक दाबेदारमा हेरिएको थियो । त्यो फोटो सेसनअघि नै उनी पाइलट कोर्सका लागि बन्द प्रशिक्षण छाडेर गए । नगेन्द्र पनि वीरगन्ज क्याम्प सकिएपछि प्रफुल्लकै पथमा लागे । अहिले प्रफुल्ल श्री एयरलाइन्स र नगेन्द्र नेपाल एयरलाइन्समा पाइलट छन् ।

कप्तान उत्तमसहित पवन, किरण र एलबी क्यान कार्यसमितिमा रहे । अघिल्लो वर्षसम्म नेपालका पहिलो कप्तान उत्तम क्यानका सचिव थिए । एलबीले १९९८ को एसीसी ट्रफीमा नेपालको नेतृत्व गरे । त्यसै सेरोफेरोमा एलबीले ‘कप्तान ९८’ आत्मकथा निकालेका छन्, जसमा १९९६ को नेपालको मलेसिया भ्रमणबारे धेरै पक्ष खुलाइएको छ । यस पुस्तकमा वीरगन्ज क्याम्पका अनेक किस्साहरू समेटिएका छन् । मलेसिया गएको टोलीका चार खेलाडी पछि नेपालका कप्तान भए । उत्तम, एलबी हुँदै हाल बैंकर रहेका पवन अग्रवालले २००० को एसीसी ट्रफी, गणेश शाहीले २००१ मा क्यानडामा आईसीसी ट्रफी र मलेसियामा नेपाली टोलीका सबैभन्दा कान्छा सदस्य राजु खड्काले २००२ देखि २००४ सम्म नेपाली टोलीको कप्तानी गरे ।

पहिलो एसीसी ट्रफी खेलेको नेपाली टोलीबाट सञ्जय गुरुङ अन्तर्राष्ट्रिय अम्पायर बने । उनी अहिलेसम्म पनि पूर्व राष्ट्रिय खेलाडीको पृष्ठभूमिमा अम्पायर हुने एक्लो हुन् । टमाटा २०१६ देखि २०१९ सम्म नेपालको मुख्य प्रशिक्षक रहे । उनी अहिले राष्ट्रिय खेलकुद परिषद्मा मुख्य प्रशिक्षकका रूपमा रहेका छन् । राजु र वसन्त प्रशिक्षणमै छन् । राजु र मुसरफ खेलाडी छनोट समितिमा रहे । पीएचडी गरेका मनीषराज हाल क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष हुन् ।

नेपालको खेल हेर्न क्यानका तत्कालीन अध्यक्ष जयकुमार नाथ शाह र विनयराज पाण्डे मलेसिया पुगेका थिए । एउटा संयोग के छ भने नेपालसँग खेलेका बंगलादेशका ब्याट्सम्यान अमिनुल इस्लाम अहिले आईसीसीको एसिया इस्टर्न रिजनको डेभलपमेन्ट अफिसर हुन् । उनले नै नेपाल क्षेत्रको रिपोर्ट आईसीसीमा दिन्छन् ।

सन् १९९६ मलेसिया गएको नेपाली टोलीका तीन सदस्य अहिले छैनन् । गणेश शाहीको ८ वर्षअघि नै निधन भइसकेको थियो । नेपालका यी विकेटकिपरको मलेसियामा म्याच रेफ्री रहेको भारतका पूर्व खेलाडी क्रिस श्रीकान्तले निकै तारिफ गरेका थिए । त्यसअघि नेपाली टोलीका सहायक व्यवस्थापक शशिदत्त पाण्डेको पनि निधन भइसकेको थियो । उनी लामो समय क्यानमा कोषाध्यक्ष थिए र अन्तिम समयमा सचिव रहे । नेपाली टोलीको व्यवस्थापक थिए टीबी शाह । उनी लामो समय क्यानमा उपाध्यक्ष र अन्तिम समयमा कार्यबाहक अध्यक्ष थिए । उनले पनि यो संसार छाडेको ५ वर्ष भइसक्यो । शाही, पाण्डे र शाहले सायद माथिबाटै नेपालको यो २५ वर्षे यात्रा स्मरण गर्नेछन् ।

प्रकाशित : भाद्र २०, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?