२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आर्टेटाले आर्सनललाई बनाए धारिलो

द डेलिमेल

लन्डन — वेम्बलीमा जित्नुको मज्जा के छ मिखेल आर्टेटाले बुझिसकेका छन् । आर्टेटाले आर्सनल आएयता यो इंग्लिस प्रिमियर लिग क्लबलाई अझ धारिलो बनाएका छन् । यसको पछिल्लो सिकार बनेको छ लिभरपुल । यसैक्रममा आर्सनल गए राति कम्युनिटी सिल्ड जित्न सफल रह्यो ।

आर्टेटाले आर्सनललाई बनाए धारिलो

इमिरेट्सको जिम्मेवारी सम्हालेको एक वर्ष भएको छैन, आर्सनलकै पूर्वखेलाडी रहेका आर्टेटाले स्पष्ट नतिजा दिन लागेका छन् । उनले सुरुमा एफए कप, अहिले त्यही कम्युनिटी सिल्ड जिताए ।

प्रशिक्षकका रूपमा आर्टेटाले जे जस्तो सफलता यति छिटो समयमा हात पारेका छन्, त्यसमा उनका मेन्टर पेप ग्वार्डिओला पनि खुसी नै होलान् । ग्वार्डिओलाको सिटीलाई पन्छाएर नै त हो, आर्सनलले एफए कपको फाइनल यात्रा तय गरेको । यस्तोमा धेरैले भन्न थालेका छन्, यो पक्कै सुरुआत नै हो तर आर्टेटाको नेतृत्वमा आर्सनलमा पुनर्जागरण सुरु भएको छ । आर्सनलले त्यस्तो खेल जित्न थालेको छ, जसमा टिमलाई वास्तवमै जित आवश्यक थियो ।

त्यसो त कम्युनिटी सिल्ड जितको खासै धेरै अर्थ हुन्न । त्यसमाथि लिभरपुलमाथि प्राप्त जित टाइब्रेकरमा थियो । तर प्रत्येक उपाधिको केही न केही अर्थ हुन्छ । सबैभन्दा ठूलो तथ्य त के भने यस्ता सफलताले टिममा हौसला बढाउने गर्छ । अझ प्रतिद्वन्द्वी ठूला टिम हुनुपर्छ, त्यस्ता टिमविरुद्ध प्राप्त जित अझ स्वादिलो हुन्छ । आर्सनलका लागि अहिले सबैभन्दा ठूलो चुनौती भनेकै यो उत्तरी लन्डन क्लबलाई प्रिमियर लिग उपाधिको फेरि दाबेदार बनाउनु हो ।

आर्सनल समर्थक चाहन्छन्, ग्वार्डिओलाले जसरी सिटीको टिम बनाएका छन्, आर्टेटाले आर्सनलको त्यत्तिकै टिम बनाओस् । सिटीमा ग्वार्डिओलाकै सहयोगीका रूपमा आर्टेटाले साढे तीन वर्ष बिताए । फेरि उनी आर्सनलका पक्का पक्की खेलाडी पनि रहिसकेका छन् । आर्सन वेंगर प्रशिक्षक छँदा उनले पाँच वर्ष खेलाडीका रूपमा आर्सनलमा बिताएका थिए । सन् २०१६ मा उनले खेल्न छाडे र सिधै इतिहाद लागे । प्रशिक्षणको आनीबानी सिक्न ।

वेंगर र ग्वार्डिओला जत्तिका प्रशिक्षकमुनि रहेर फरक भूमिका निभाए पनि आर्टेटाको तरिका भने फरक देखिएको छ । सायद उनी कसैको छायामा बस्न चाहँदैनन् । एक प्रकारले उनले अहिलेसम्म तय गरेको यात्रा अर्को पुराना अनुभवी प्रशिक्षक डेविड मोयेससँग मिल्दोजुल्दो छ, आक्रमण डिफेन्सबाटै सुरु गर्ने । यो रणनीतिमा आर्सनल धेरै हदसम्म सफल पनि साबित भएको छ । आर्टेटाले छनक दिएका छन्, जतिबेला टिम वास्तवमै मजबुत हुन्छ, त्यतिबेला अलग शैली विकास गरौंला ।

आर्टेटाको आर्सनल टिमको प्रमुख अस्त्र पिएरे एमरिक अबामेयाङ नै रहेका छन् । फेरि यी गाबोनका खेलाडी प्राकृतिक रूपमै गोल गर्न सिपालु खेलाडी हुन् । उनी कत्तिको खेलाडी हुन्, लिभरपुलविरुद्ध गरेको गोलले प्रस्ट देखाउँछ । अबामेयाङ आर्सनल टिमको आक्रमणका प्रमुख सिपाही हुन् र उनको उपस्थितिले आर्सनल बलियो देखिएको छ । चेल्सीविरुद्ध एफए कपमा उनी नै निर्णायक खेलाडी साबित भएका थिए । तर आर्टेटाले एउटा तथ्यमा भने नजर फेर्न मिल्ने छैन ।

सुरुमा वेंगर, पछि उनाइ एम्रीले आर्सनलको कजमोर डिफेन्समा ध्यानै दिन सकेनन्, जसको नतिजा टिम अझ कमजोर हुन थाल्यो । आर्सनलले आफ्नो डिफेन्स मबजुत बनाउनु नै पर्छ । यसका लागि उनले ग्वार्डिओलाको नीति पछ्याउन सक्छन्, डिफेन्समै ध्यान दिन चाहने प्राकृतिक खेलाडी चयन गर्ने । यत्ति एउटा काम गर्न सक्यो भने आर्सनल फेरि एकपल्ट लिगमा उपाधिको बलियो दाबेदार हुनेछ । अहिले तत्काल भन्न सक्छौं आर्टेटाले आर्सनललाई धारिलो बनाएको पक्कै हो ।

प्रकाशित : भाद्र १५, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?