३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मेसीलाई फकाउने कसरतमा बार्सिलोना

बीबीसी

बार्सिलोना — बार्सिलोना अझै कप्तान लियोनल मेसीकै वरिपरि रही टिम बनाउने योजना सुनाउँदै उसलाई मनाउने प्रयास गरिरहेको छ । बार्सिलोनाका स्पोर्टिङ निर्देशक रमोन प्लानेजले यही भनेका छन् ।

मेसीलाई फकाउने कसरतमा बार्सिलोना

अर्जेन्टिनी फरवार्डले आफू बार्सिलोना छाड्न चाहेको र खुला ट्रान्सफरबाट सरुवा गरिदिन भनेपछि पछिल्लो केही दिनयता विश्व फुटबल तातेको छ ।

६ पटकका बालोन डी‘अर विजेता मेसीले बार्सिलोनाबाट सर्वाधिक ६ सय ३४ गोल गरेका छन् । ‘जे भयो भइसक्यो र हाम्रो योजना विश्वका सबैभन्दा महत्त्वपूर्ण खेलाडीवरिपरि रहेर टिम बनाउनु नै हो,’ प्लानेजले भने, ‘हामी विश्वका उत्कृष्ट खेलाडीको नेतृत्वमा एक अर्को विजयी सर्कल बनाउन चाहन्छौं, त्यो इतिहासकै उत्कृष्ट पनि हुनसक्छ ।’

मेसीले अहिलेसम्म बार्सिलोनाबाट मात्र खेल्दै आएका छन् । तर क्याटलन टोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिकबाट ८–२ को लज्जास्पद हार भोगेपछि बार्सिलोनाले भर्खर सकिएको सिजनमा कुनै उपाधि जित्न सकेन । त्यसयता मेसीले बार्सिलोना छाड्न चाहेको जनाइरहेका छन् । ‘बार्सिलोना र लियो विवाहजस्तै हो, दुवैले एकअर्काले धेरैथोक दिएर प्रशंसकमाझ ठूलो खुसी ल्याएका छन् । मलाई लाग्छ भविष्य सकारात्मक छ र म त्यसमा आशावादी छु ।’

बार्सिलोनाको मेसीसँग २०२१ सम्म सम्झौता छ र यस अवधिमा उनलाई कसैले लिन चाहेमा ७० करोड युरो तिर्नुपर्ने हुनछ । तर मेसी सम्झौताको कुनै तुक नरहेकाले आफू खुला सरुवामार्फत जान पाउनुपर्ने तर्क गरिरहेका छन् । यसले बार्सिलोना र मेसीलाई ठूलो कानुनी झमेलामा ल्याउन सक्ने अनुमान गरिँदै आएको छ ।

बार्सिलोनाका स्पोर्टिङ निर्देशक रमोन प्लानेज ।

‘हामीलाई मेसीजस्ता अनुभवी खेलाडीका साथै भविष्यका लागि खेलाडी चाहिएको छ । बार्सिलोना र मेसीको जुन सम्बन्ध छ त्यसलाई निरन्तरता दिन हामी हरसम्भव प्रयास गरिरहेका छौं । आन्तरिक रूपमा हामी लियोलाई चित्त बुझाउन लागिरहेका छौं,’ फ्रान्सिस्को ट्रिन्काओलाई सञ्चारमाध्यमसामु प्रस्तुत गर्दै प्लानेज भन्दै थिए ।

बार्सिलोनाले फ्रान्सिस्कोलाई पोर्चुगिज क्लब ब्रागाबाट ३ करोड १० लाखमा जनवरीमै लिएको थियो । २० वर्षे पोर्चुगिज यी खेलाडी जुलाईमा बार्सिलोनामा समावेश कार्यक्रम थियो, तर कोभिड–१९ महामारी बढेपछि लम्बिएको सिजन सकेर उनी अहिले नोउ क्याम्प आइपुगेका हुन् । यस सिजनको पोर्चुगिज लिगमा उनले ११ गोल गरेका थिए ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउको राजीनामा र चाँडो गरी क्लबको चुनाव भएमा मेसीले आफ्नो विचार परिवर्तन गर्न सक्छन् । तर बार्सिलोनालाई स्पेनिस लिगको उपाधि १० र च्याम्पियन्स लिगको उपाधि ४ पटक दिलाउन मुख्य भूमिका खेलेका मेसीलाई त्यो पनि पर्याप्त नहुन सक्छ ।

‘हामी निकै सम्मानजनक हुनुपर्छ । बार्सिलोना र मेसीबीच भएका छलफल हामी सार्वजनिक गर्न सक्दैनौं, किनभने दुवै यसका हकदार छैनन्,’ प्लानेजले भने, ‘त्यसका लागि न लियो न त बार्सिलोना नै हकदार छ । च्याम्पियन बार्सिलोना टोली बनाउन हामीले धेरै गृहकार्य गर्नुपर्छ ।’

प्रकाशित : भाद्र १२, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?