कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बार्सिलोनामाथि मेसीको ‘बमसेल’ अब कानुनी युद्धमा

फुटबलमा भाग्यले कति बेला कस्तो कोल्टे फेर्छ, थाहा नै हुन्न । बार्सिलोनामा अहिले एकपछि अर्को उथलपुथल भइरहेको छ । लियोनल मेसीले बार्सिलोना छोड्न चाहेका छन् ।
गार्जियन

बार्सिलोना — जतिबेला ६ पटकका बालोन डे’अर विजेता लियोनल मेसीले बार्सिलोनालाई मंगलबार राति फ्याक्समार्फत भने, ‘अब म क्लब छोड्न चाहन्छु ।’ यो क्याटलन क्लबमाथि ‘बमसेल’ नै रह्यो । मेसीको इच्छा छोड्ने मात्र थिएन, उनी बिनामूल्य जानेक्रममा थिए ।

बार्सिलोनामाथि मेसीको ‘बमसेल’ अब कानुनी युद्धमा

यस्तोमा अब मेसी र बार्सिलोनाको भिडन्त कानुनी युद्धमा परिवर्तन हुने भएको छ । अब कानुनी लडाइँ हुनेछ, दुई पक्षबीच रहेको अनुबन्धमा किनबेचको चर्को मूल्य अझै कायम छ कि समाप्त भइसक्यो ?

मेसीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जिते । उनी क्लब इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । यी अर्जेन्टिनी खेलाडी चाहन्छन्, अनुबन्ध तत्काल खारेज होस् । अनुबन्धको एक बुँदामा भनिएको छ, खेलाडीले चाहेमा क्लब छोड्न सक्छन् । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएपछि खेलाडी र क्लबबीचको सम्बन्ध अझ कमजोर हुन थालेको थियो । त्यसयता प्रशिक्षक क्विक सेटिन बर्खास्तगीमा परे । रोनाल्ड कोम्यान उनको स्थानमा आइसके ।

कोम्यानले नै अबदेखि बार्सिलोनामा मेसीको स्थान विशेष नहुने बताएपछि स्थिति प्रतिकूल हुन सुरु भएको हो । बार्सिलोनाले सन् २००७ यता कुनै पनि उपाधि जित्न नसकेको सिजन यसपालि हो । यी ३३ वर्षीय खेलाडीले बार्सिलोना छाड्ने के निर्णय गरे, क्लबका वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउको विरोधमा क्याम्प नोउ बाहिर समर्थकले प्रदर्शन पनि गरिसकेका छन् । बार्सिलोनाका लागि पछिल्लो दशक सबैभन्दा सफल समय रहेको छ । यो समयका सबैभन्दा प्रमुख र निर्णायक खेलाडी मेसी नै रहेका छन् ।

क्याम्प नोउको बाहिर मेस्सीको समर्थनमा भएको प्रदर्शन तस्बिर : रोयटर्स

ती समर्थकले भनिरहेका छन्, ‘मेसी कुनै पनि हालतमा बार्सिलोनामै रहनुपर्छ ।’ बार्सिलोनाले अहिलेसम्म औपचारिक रूपमा मेसीको नयाँ चाललाई लिएर प्रतिक्रिया दिएको छैन । तर क्लबले के बुझेको छ भने मेसीले आफू खुसी क्लब छाड्ने सक्ने बुँदाको औचित्य जुनमा नै सकिसकेको छ । त्यसैले सन् २०२१ सम्म कायम रहेको अनुबन्ध नसकिएसम्म मेसी बार्सिलोनामै रहनुपर्छ । स्पेनी खेल दैनिक मार्काले लेखेको छ, ‘सैद्धान्तिक रूपमा यो बुँदा जुन १० मै खारेज भइसकेको छ ।’

तर कोरोना भाइरस संक्रमणको महामारीका बेला फुटबल अवरुद्ध भएको स्थितिमा खेलाडीले यसलाई अलग्गै किसिमले व्याख्या गर्न सक्छन् । यसबाहेक मेसी र बार्सिलोनाबीचको अनुबन्धमा उनलाई कुनै क्लबले किन्न चाहेमा कम्तीमा ७० करोड युरो तिर्नुपर्ने उल्लेख छ । क्लब मान्छ भने अब लागू हुने भनेको यही हो । मार्काले अगाडि लेखेको छ, ‘अब बार्सिलोनामा मेसीको भविष्य के हुनेछ भन्ने सबै सम्भावना यही कानुनी अप्ठ्यारोमा अडिएको छ ।’

क्याम्प नोउको बाहिर मेस्सीको समर्थनमा भएको प्रदर्शन तस्बिर : रोयटर्स

सन् २००४ मा मेसीले १७ वर्षको उमेरमा बार्सिलोनाका लागि डेब्यु गरेका थिए । त्यसयता उनले कीर्तिमानी ६ सय ३४ गोल गरिसकेका छन् । मेसीले बार्सिलोना छोड्न चाहेपछि उनको नयाँ गन्तव्य कहाँ हुनेछ, त्यसबारे चर्चा सुरु भइसकेको छ । सबैको पहिलो अनुमान हो, मेसी जान सक्ने भनेको इंग्लिस प्रिमियर लिगमा हो । त्यसमा पनि म्यानचेस्टर सिटीमा । पहिलो कारण त पेप ग्वार्डिओला नै भए किनभने उनी बार्सिलोनाको प्रशिक्षक छँदाको समय मेसीका लागि स्वर्णिम मानिन्छ ।

फेरि सिटी नै यस्तो क्लब हो, जसले मेसीको मोटो न मोटो तलब बेहोर्न सक्छ । अर्को इंग्लिस क्लबले पनि मेसीलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ । इंग्ल्यान्डबाहिर केही क्लब यस्ता पनि छन्, जसले मेसीलाई अनुबन्ध गर्न सक्छन् र यसमा सबैभन्दा अगाडि रहेको छ, पेरिस सेन्ट जर्मेन (पीएसजी) । इटालीको इन्टर मिलान पनि मेसीलाई अनुबन्ध गर्न सक्ने क्लब मानिएको छ । यसबीच समाचार के पनि आइरहेको छ भने बार्सिलोना कुनै प्रकारको कानुनी झमेलामा फस्न चाहँदैन ।

किनभने यस्तो भएमा यसले नयाँ सिजन क्लबको प्रदर्शनमा फरक पार्ने अनुमान छ । बरु उसले नयाँ प्रस्ताव के ल्याउन लागेको छ भने जुन क्लबले मेसीका लागि २० करोड पाउन्ड तिर्नेछ, क्लब आफ्ना स्टार खेलाडीलाई छाड्न तयार हुनेछ । स्पेनी मिडियाका अनुसार कानुनी लडाइँ सुरु भयो भने त्यसको निर्णय जता पनि जान सक्नेछ । त्यसअनुसार बार्सिलोनाले चर्को मूल्य पाउन पनि सक्छ या मूल्य शून्य पनि हुन सक्नेछ । बार्सिलोना जोखिम नउठाउने मनसायमा पनि पुगेको छ ।

प्रकाशित : भाद्र ११, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?