‘मेसी मिस्टर बार्सिलोना’

बीबीसी

लिस्बन — पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टचेलले बार्सिलोनाका लियोनल मेसी आएमा स्वागत गरिने बताएका छन् । तर उनले अर्जेन्टिनी फरवार्ड बार्सिलोनामै रहने आशा गरेका छन् । टचेलको टोली आइतबार राति च्याम्पिन्यस लिगको फाइनलमा बायर्न म्युनिकको हातबाट १–० ले पराजित भएको थियो ।

‘मेसी मिस्टर बार्सिलोना’

‘कुन चाहिँ प्रशिक्षकले मेसी आउन खोजेमा हुँदैन भन्छन् र,’ टचेलले भने, ‘मलाई लाग्छ मेसीले आफ्नो खेलजीवन बार्सिलोनामै टुंग्याउनेछन् । उनी मिस्टर बार्सिलोना हुन् ।’ बार्यनको हातबाट अघिल्लो साता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना ८–२ ले पराजित भएपछि मेसीले क्याटलन क्लब छाड्न चाहेको सञ्चारमाध्यमले जनाएका थिए ।

तर ३३ वर्षे मेसीले नोउ क्याम्प कहिल्लै छाड्न नखोजेको बताइएको छ । मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले ७ सय ३१ खेलमा ६ सय ३४ गोल गर्दै बार्सिलोनालाई ४ च्याम्पियन्स लिग, १० ला लिगा उपाधि दिलाउन ठूलो योगदान गरेका छन् । यसबाहेक उनले ६ पटक बालोन डी‘ओर अवार्ड पनि जितेका छन् ।

विश्व फुटबलमा कतारी लगानीको पीएसजी पनि एक क्लब हो । मेसीको बार्सिलोनासँग ७० करोड युरोको ‘बाइआउट क्लज’ रहेको छ, जुन पीएसजी जस्ता आर्थिक हैसियत भएका क्लबले मात्र बेहोर्न सक्छन् । ‘यस्तो समयमा ट्रान्सफरको कुरा नगर्ने हामीले निर्णय गरेका छौं,’ टचेलले भने, ‘अरू कुनै दिन बसेर यस बारेमा छलफल गरौंला । यो टोलीको हैसियतलाई कायम राख्न हामीले धेरै गर्नु छ ।’

पीएसजीले पछिल्लो ८ वर्षमा ७ पटक फ्रेन्च लिग जितेको थियो । तर युरोपका प्रतियोगितामा कतार स्पोर्ट्सको लगानीले सफलता दिलाइरहेको छैन । सन् २०११ मा कतारीले पीएसजीको स्वामित्व लिएको थियो । नेयमर र केलियन एमबाप्पेका लागि ४० करोड युरोभन्दा बढी खर्च गरे पनि टोली यसअघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलभन्दा माथि उठ्न सकेको थिएन ।

एमबाप्पे र नेयमर दुवै बायर्नमाथि दबाब बनाउन असफल रहेका थिए । तर नेयमरले जसरी खेले त्यसमा टचेल गर्व गर्छन् । नेयमरले अनौठो शक्ति लगाएर खेलेको र एङ्कलको चोटबाट आए पनि एमबाप्पे जादुगर भएको उनी जनाउँछन् ।

आउँदो सत्रमा पीएसजीको ट्रान्सफरबारे उनले भने, ‘हामीले यो यात्रामा धेरै खेलाडी गुमाउँदै छौं । थिएगो सिल्भा र इरिक म्याक्सिम चोउपो मोटिङलाई अब हामी गुमाउँदै छौं ।’ दुवैका पीएसजीसँगको सम्बन्ध सकिएको छ । सिल्भा फ्री ट्रान्सफरमा चेल्सी जाँदैछन् । टचेलले अगाडि भने, ‘हामीले अब ट्रान्सफर विन्डोको सदुपयोग गर्दै टोलीलाई अझ फराकिलो बनाउनुपर्छ । त्यसै पनि कुनै ब्रेक नभएकाले यो यात्रा निकै चुनौतीपूर्ण छ । हामीले बलिया टोलीको निर्माण गर्नुपर्ने हुन्छ ।’

पीएसजी शनिबार फ्रेन्च लिगको आफ्नो पहिलो खेलमा लेन्सको सामना गर्दैछ । कोभिड–१९ महामारीका कारण २०१९–२० को सिजन १ सय ६७ दिन रोकिएर शुक्रबारबाट नयाँ सिजन सुरु भइसकेको छ ।

प्रकाशित : भाद्र ९, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?